गेटा मेडिकल कलेज सञ्चालनमा दबाब दिने साझा सहमति
2021/08/18, 2:55
 
aa

प्रस्तावित निर्माणधिन गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ भएको भन्दै कैलालीका सरोकारवाला, राजनीतिक दल तथा नागरिक समाजका अगुवाले कलेज सञ्चालन गर्न केन्द्र सरकार समक्ष एक जुट भएर दबाब गर्नुपर्नेमा जोड दिएका छन्।

बुधबार कैलाली उद्योग वाणिज्य संघको पहलमा आयोजित सर्वदलीय, सर्वपक्षीय छलफलमा सहभागीहरुले प्रस्तावित मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन एकजुट भएर केन्द्रलाई दबाब दिने सहमति गरेका हुन्।

प्रस्तावित मेडिकल कलेज अन्तर्गत भौतिक संरचना निर्माण कार्य सम्पन्न भएपनि कलेज सञ्चालनमा राज्यले ध्यान नदिएको भन्दै सबैले केन्द्रलाई दबाब दिनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन्।

प्रस्तावित गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले भौतिक संरचना निर्माणको काम सम्मन्न भएको बताए। उनले भवनबाट निस्कने पानीको व्यवस्थापन र बत्ती जडान कार्यमात्रै हुन बाँकी रहेको बताए।

‘भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा पुगे पनि कसरी सञ्चालन गर्ने भन्ने अन्योल कायमै रहेको छ,’ उनले भने,‘यस्तो अवस्थामा राज्यलाई दबाब दिनु आवश्यक छ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्तले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्य र प्रदेशका मन्त्रीलाई कलेजको अवधारणबारे विज्ञ टोली गठन गरी प्रष्ट पार्न आग्रह गरे।

‘सबैभन्दा पहिला यसलाई कलेज बनाउने वा प्रतिष्ठान बनाउने अथवा यूनिभर्सिटी बनाउने भन्ने प्रष्ट हुन आवश्यक छ,’ डाक्टर पन्तले भने,‘त्यसका लागि विज्ञको टोली निर्माण गरिनु आवश्यक छ, सोही सुझावका आधारमा केन्द्रलाई दवाव दिनु पर्ने देखिन्छ।’ उनले सबैको साझा प्रयास भएमा मेडिकल विश्वविद्यालय बनाउन सम्भव रहेको धारण राखे।

यस्तै सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेशबहादुर सिंहले सुदूरपश्चिम प्रदेश स्वास्थ्य क्षेत्रमा निकै पछाडि रहेको बताउँदै प्रस्तावित मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा अगाडि बढाउनु पर्ने बताए। ‘यसै प्रदेशका शेरबहादुर देउवा अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ,’ डाक्टर सिंहले भने, ‘अहिले हामी सबै एकजुट भएर दबाब दिए विश्वविद्यालय बनाउन सकिनेछ।’

नेकपा एमालेका कैलाली सचिव रणबहादुर चन्दले अनेक बहानामा नअल्झेर तत्काल जे सकिन्छ त्यसैअनुसार सेवा सञ्चालन गरिनुपर्नेमा जोड दिए। कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले सवै विद्यार्थी संगठन एकजुट भइ प्रस्तावित मेडिकल कलेजलाई सञ्चालन गराउन राज्यलाई दबाब दिनुपर्ने बताए। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।