डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि जनस्तरबाट रकम उठ्दै, विभिन्न देशहरुमा अभियान सञ्चालन
2020/06/12, 2:17
 
korona

डडेल्धुरामा कोरोना परीक्षणका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाद्धारा सञ्चालित सहयोग संकलन अभियानमा आधा करोड वढी रकम उठेको छ । डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि जनस्तरबाट रकम उठिरहेको छ । हालसम्म जनस्तरबाट झण्डै ४८ लाख रकम उठेको छ । अभियानको सुरुवात श्याम तायल र मानसिंह सावद लगायत ह्युमानिटी फाउण्डेसनको तर्फबाट १८ लाख रकम उठेको छ । त्यसैगरी पछिल्लो दुई दिनमा धनगढीबाट झण्डै १८ लाख रकम उठेको छ । त्यसैगरी अमेकिामा १० हजार तीन सय डलर उठेको छ । विभिन्न देशकहरुमा रकम संकलन हुने अभियान जारी रहेको ह्युमानिटी फाउण्डृेसनले जनाएको छ । 

विहीवार मात्रै १५ लाख ७५ हजार रुपैया संकलन भएको छ । डडेल्धुरामा कोरोना परीक्षणका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाद्धारा सञ्चालित सहयोग संकलन अभियानमा बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले १० लाख रुपैया सहयोग गरेका छन् । सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दाको कोरोना परीक्षणका लागि डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर मेसिनको खरीदका लागि बरिष्ठ उद्योगपति अग्रवालले १० लाख रुपैया प्रदान गरेका हुन् । ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायल सहितको टीमलाई बरिष्ठ उद्योगपति अग्रवालले पीसीआर मेसिनको खरीदका लागि सहयोग गरेका हुन् । ‘मैले पहाडमा अहिलेसम्म खुट्टा टेकेको छ्रैन,यद्दपि यो मन त पहाडमै छ, डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि ह्युमानिटी फाउण्डेसनलाई सहयोग प्रदान गर्ने क्रममा भने, यो पटक डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका क्रममा पाईला टेक्नेछु ।’

त्यस्तै आरपी ग्रुपका सञ्चालक राजकुमार अग्रवालले ३ लाख ५१ हजार रुपैया प्रदान गरे । ‘मैले जे जति कमाए । यही समाजबाट कमाए ।’ अग्रवालले भने, ‘समाज संकटमा परेका बेला मैले कमाएको सम्पत्ती यो समाजको काम नआए त्यसको के अर्थ । यही सोचले सहयोग गरेको हुँ ।’ त्यसैगरी बरिष्ठ आँखा चिकित्सक डाक्टर विद्याप्रसाद पन्तले च्यारिटी हेल्थ फाउण्डेसन र व्यक्तीगत तर्फबाट दुई लाख प्रदान गरे । सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्स भवगती बडालले १० हजार रुपैया सहयोग गरिन् । नेपाल टेलिकम  वकर्स युनियन क्षेत्रीय समितिका अध्यक्ष दिपेन्द्र कठायतले युनियनका तर्फबाट १५ हजार रुपैयाको चेक ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायललाई हस्तान्तरण गरे ।

यो अभियानमा मिश्र जनरल स्टोर, धनगढीले एक लाख रकम सहयोग गरेको छ । खेमराज मिश्र र उनीहरुका छोराहरु गणेश मिश्र र प्रशान्त मिश्रले फाउण्डेसनलाई सहयोग गरेका हुन् । उनीहरुले आफै वोलाएर सहयोग गरेको ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए । धनगढी आसपासका क्षेत्रका वासिन्दाहरुले सक्दो सहयोग गर्दै पिसिआर मेसिन स्थापनाका लागि सहयोग गरिरहेका वेला विदेशमा पनि यो अभियान थालिएको छ । संसारका विभिन्न देशमा छरिएर रहेका नेपालीहरु र त्यसमा पनि सुदुरपश्चिमेलीहरु पिसिआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् ।

प्रवासमा रहेकाहरुले आफु रहेको देशमा सहयोग संकलन गर्दै मेसिन खरिदका लागि रकम पठाईरहेका छन् । सहयोग संकलन अभियानमा हातेमालो गर्नेहरुमा अमेरिकाका सुदरपश्चिमेलीहरु सवैभन्दा अगाडी रहेका छन् । अमेरिकामा आनन्द बिष्ट, रामवहादुर देउवा लगायतको अगुवाईमा अभियान चलिरहेको छ । पीसीआर प्रयोगशालाको स्थापनाका लागि सुदूर पश्चिम समाज अमेरिकाले सवैभन्दा पहिले सुरु गरेको सहयोग संकलन अभियानलाई अमेरिकाका विभिन्न राज्यहरुमा सञ्चालन गरिरहेको छ ।  सुदूर पश्चिम समाज न्यूयोर्क, केन्टुकी, मेरिल्याण्ड, विस्ककिन्सन, टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, म्यासाचुट्समा अभियान सञ्चालित रहेको छ । 

हालसम्म अमेरिकाबाट १० हजार तीन सय अमेरिकी डलर अर्थात १२ लाख ५८ हजार नेपाली रुपैया आईसकेको छ । थप रकम आउने तयारीमा रहेको छ भने त्यहाँ रहेका एक नेपालीले अमेरिकाबाट उठ्ने वरावरकै रकम आफुले व्यक्तीगत रुपमा सहयोग गर्ने घोषणा पनि गरेका छन् । अमेरिका मात्रै युरोपका देशहरुमा पनि रकम संकलन अभियान थालिएका छन् । युरुपका विभिन्न देशहरुमा रहेका सुदुरपश्चिमेलीहरुले सक्दो सहयोग गरिरहेका हुन् । युरोपका वेल्जियम, नर्वे, वेलायत, डेनमार्क लगायतका देशहरुमा अभियान सञ्चालन गर्दै रकम संकलन गरिरहेका छन् । योगिता थापा (वेल्जियम), जितेन्द्र शाही (नर्वे), महेश खत्री (डेनमार्क), सुरेन्द्र ढुंगाना (बेलायत) ले अभियानको नेतृत्व गरिरहेका छन् । अष्टेलियामा पनि अभियान फैलिएको छ । स्वतन्त्र प्रताप शाहले अस्ट्रेलियामा पिसीआर मेसिन जडानका लागि अभियान संञ्चालन गरेका छन् । उनले हालसम्म ८ सय अष्टेलियन डलर संकलन भएकोमा १० हजार डलर संकलन गर्ने लक्ष्य राखेको बताए ।

एसियाको दक्षिण कोरियामा अग्नी कोईरालाले नेतृत्व गरिरहँदा दक्षिण अफ्रिकी नाईजेरियामा हिक्मत थापाको नेतृत्वमा अभियान सञ्चालन भईरहेको छ । गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाले संसारभरीका नेपालीमा सहयोगको अपिल समेत गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पुर्व केन्द्रिय कोषाध्यक्ष तथा सामाजिक अभियन्ता हिक्मत थापाले हालको अवस्थामा प्रयोगशालाले धान्नै नसकिने गरी कोरोनाको नमुना जाँचका लागि थ्रोट श्वाव संकलन भएको र एउटा मात्र पिसीआर मशिनले त्यो धान्न नसक्ने अवस्था आएको बताएका छन् ।

हाल अफ्रिकी देश नाइजेरियामा कार्यरत थापाले सुदूरपश्चिमका पहाडी सात जिल्लालाई पायक पर्ने डडेल्धुरामा पीसीआर मेसिन सहितको प्रयोगशाला स्थापना र पिसीआर किटहरु उपलब्ध गराउनका लागि ह्युमानिटी फाउण्डेसन नेपाल धनगढी र प्रवासमा रहेका सुदूरपश्चिमका गैरआवासिय नेपालीहरु जुटिरहेको बताउँदै यसमा सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् ।