यज्ञराज उपाध्याय- गौराका रमाइला गीत गाउँदै टाउकोमा गौराको प्रतिमूर्ति राखेर दिदीबहिनीहरूसँग कम्मर मर्काइमर्काइ नाच्ने शारदा जोशीलाई यो वर्षको गौराले त्यो अनुभूति दिन सकेको छैन । कोरोनाको कहरले घरभित्रै पूजा अनुष्ठान गरेर बस्नु पर्दा नरमाइलो भएको जोशीले बताइन् । कोरोनाकै कारणले यसै वर्ष पति गुमाएकी बैतडीकी रूमा भट्टका आँखाका आँसु अझै रोकिएका छैनन् । गौरा पर्व आएर क्या गर्नु ?
आजको दिन इजू रनझनियाँ
यति क्या रमाइलो रे रनझनियाँ
लोली माइत आइन रनझनियाँ
रैजा बाबु लोलीगौरा रनझनियाँ
छ मैना बरिखा रे रनझनियाँ
अठ्ठाइस वर्षको लक्का जवान भएको छोरा केही महिना पहिले गुमाएकी कैलालीकी तिलु पनेरूको पीडा त्यत्तिकै दर्दनाक छ । जतिबेला पनि छोराकै अनुहार आँखामै आइरहन्छ । गौरा आयाले क्या गरूँ ? यस्तै–यस्तै दर्दनाक अवस्था काली–कर्णाली क्षेत्रका गाउँबस्तीहरूमा छाएको छ । कोरोनाकै कारणले धुमधामसँग गौरापर्व मनाउने अवस्था छैन अहिले ।
सिउतीसेरो रोपि ल्यायो सुर्बुर्या बियाँले
दिदीबैनी डेउडा खेलौ गौराका नियाँले
यस्तै गीतहरू गाएर गौरापर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा हातेमालो गर्दै देउडा खेलेको झलझली सम्झिन्छिन् ज्वाला विष्ट । अब ती दिनहरू कहिले देख्न पाइने होला ? ज्वाला विष्टलाई यस्तै पीडाले सताइरहेको छ । उनको कामना छ गौरामाताले कोरोनालाई समाप्त पारिदिऊन् । सरकारले अरू कुरामा नअल्झेर सबै नेपालीलाई छिटो खोप लगाइदिएको भए कोरोना निस्तेज भएर आउँदो वर्ष रमाइलोसँग गौरा मनाउन पाइन्थ्यो कि भन्ने झिनो आशाको झिल्को टिमटिमाइरहेको छ, दुर्गा ओझाको मनमा । उनको त्यो आशाको झिल्को झलमल्ल भएर मनोकामना पूरा गर्छ कि निभेर निरासाको खडेरी चुलिन्छ त्यो भोलिको दिनले बताउने छ । यो वर्ष भने गौराको रमाइलो कोरोनाले लुटिसकेको छ ।
कालीको लड्कन्या माछो कर्णालीका भेल ।
हृदय जल्याको जल्यै कैल होला सेल ।।
माथि उल्लेखित गीत काली-कर्णालीको सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्ध नङ र मासुझैं अन्योत्यास्रित छ भन्ने कुराका दृष्टान्त हुन् । सुन्दर प्रकृतिले सजिएको काली–कर्णाली क्षेत्रका विविध चाडपर्वहरूमध्ये प्रचलित र महत्त्वपूर्ण पर्व हो गौरा । महिलाहरूले व्रत बसी गौरीदेवीको पूजाअर्चना गरी अगाध आस्थाकारूपमा धुमधामसँग यो पर्व मनाउने गरिन्छ । ‘गौरा’ र पर्व ‘एक’ यौगिक शब्दका रूपमा रहेको पाइन्छ । ‘गौरा’ शब्दले जगतजननी शक्तिस्वरूपा गौरी देवीलाई र अनेकार्थक ‘पर्व’ शब्दले धार्मिक सांस्कृतिक र सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिने समय वा उत्सवलाई जनाउँछ । अतः गौरा देवीको पूजा अर्चनागरी मनाइने पर्वलाई गौरापर्व भनिन्छ ।
हिमालय पुत्री पार्वतीको दोश्रो नाम गौरी हो । गौरीको नामबाट स्थापित भएको पर्व हुनाले यो पर्वलाई गौरापर्व भनिएको हो । स्थान अनुसार कतै गौरा, कतै गोःरा, कतै गमरा र कतै लोलीगौरा भन्ने प्रचलन रहेको छ । हिमालय पुत्री पार्वतीले शिवलाई पति पाउनका लागि ब्रत बसी शिवको आराधना गरेको र सोही ब्रतका प्रभावले शिवलाई पतिको रूपमा वरण गर्न पाएकोले सोही समयदेखि यो पर्वको आरम्भ भएको कुरा हिमवत् खण्ड र अन्य पुराणमा उल्लेख भएको पाइन्छ । हिमालय पुत्री पार्वती पछि गौरा व्रत र अनुष्ठानको थालनी भृगुवंशी ब्राहमणीहरूले गरेको कुरा कथामा उल्लेख भएको छ ।
गौरापर्व पाँच दिनसम्म विधि विधानका साथ मनाइने गरिन्छ । मूलरूपमा गौरापर्व गौरा महेश्वरको उपासना हो । गौरा पुजनमा प्रमुख नैविद्यको रूपमा विरूडाको अग्रस्थान रहेको छ । संस्कृतको विरूढ शब्दबाट विरूडा भएको हो । पाँच किसिमका अन्नको सामुहिक स्वरूपलाई विरूडा भन्ने गरिन्छ । यो पर्वको थालनि नै विरूडाको प्रारम्भिक कार्यबाट हुने गर्दछ । गौरापर्वको अनुष्ठान विधि चतुर्थीबाट सुरू भई दूर्वाअष्टमीसम्म रहन्छ । चतुर्थीको दिनमा विरुडा भिजाउने र पंचमीको दिनमा विरुडा धुने गरिनछ । विरूडा धुने दिनमा पानीको महत्त्व अमुल्य हुन्छ । धारा, कुवा, नदी र तलाउको पानी विरूडा धुनका लागि पवित्र मानिन्छ । महिलाहरू फाग गाउँदै विरूडा भिजाउँदै गर्दा माइती सम्झन्छन् ।
आउँसीका दिनदेखि निन्ना चोखा बस्या
तृतियाका दिन विरुणी खोज्न गया
चौथीका दिन विरुणी केलेया
पञ्चमीका दिन विरुणी भिजाया
षष्ठीका दिन विरुणी धोया
सप्तमीका दिन लोली माइत ल्याया
सप्तमीकाई दिन इजू म माइत बोलाया
अमुक्ताभरण सप्तमी गौरापर्वको प्रमुख दिन मानिन्छ । यस दिनमा व्रत धारण गरिसकेकी विवाहित महिलाहरू व्रत बस्छन् । व्रत बसेका महिलाहरूले धान, साउ, वलु, अपमार्ग र ऐसेलु जस्ता पञ्च वनस्पतिबाट गौरीमाताको प्रतिमूर्ति बनाई वस्त्र, अलङ्कार आदि पहिराई गौरा घरमा ल्याएर डालोमा स्थापना गर्दछन् । त्यसका साथै काठको पिरकालाई महेश्वरको प्रतिक मानी कपडा पहराई गौरी माताकै समिपमा स्थापना गरिन्छ । त्यसै ठाउँमा यज्ञ स्थापना गरी ब्राम्हणद्वारा प्राणप्रतिष्ठा गराई विधिपूर्वक देवपूजन गरी गौरीमाता र महेश्वरको पूजा आराधना गर्ने गरिन्छ ।
दूर्गा अष्टमी गौरापर्वको अत्यन्त व्यस्त दिन हो । यसै दिनमा व्रतालुहरूले दुबोको पूजा गर्दछन् । त्यहीबेला गौराको दोश्रो प्रतिमूर्ति भित्र्याइन्छ । जसलाई सञ्जा गौरा भनिन्छ । लोलीगौरालाई पार्वतीको प्रतीक र सञ्जागौरालाई सतीदेवीको प्रतीक मानी पूजा गरिन्छ । यसै दिन महिलाहरूले अघिल्लो वर्ष धारण गरेको दूवाधागो निकालिन्छ र गोश्वरद्वारा तयार पारिएको गौरीकुण्डमा विसर्जन गरिन्छ । गौरीकुण्डको पवित्र जलले अभिषेक गरेको नयाँ दुवाधागोलाई धारण गरिन्छ । गौराको अनुष्ठान पूरा भैसकेपछि आ–आफ्नो कुलाचार अनुसार बिसर्जन गर्न तिथि र मितिको तय गरिन्छ ।
चन्द्रमास र सौरमासका आधारमा मनाइने हाम्रा चाडपर्वहरू निश्चित पक्ष र तिथिमा पर्ने गर्दछन् । तर गौरापर्व यसको अपवादको रूपमा रहेको छ । अगस्तिको उदय भइसकेपछि गौरा पुजन र विसर्जन दुवै कार्य गर्दा त्यसको फल प्राप्त नहुने कुरा पुराणहरूमा उल्लेख गरिएको छ । पुराणमा स्कन्धले भनेका छन्–
अगस्ति उदिते तात पुजयत् अमृतोद् भवाम् ।
वैद्यव्यं पुत्र सोकन्ध दश वर्षाणी पञ्चच ।
अर्थात् अमृतबाट जन्मेको दूर्वाको वा दूर्वाअष्टमीको व्रत अगस्ति उदयपछि गरेमा बैद्यव्य, पुत्रशोक आइपर्दछ । त्यसैले पञ्चाङ्ग निर्माणकर्ताले अगस्ति उदयलाई हेरेर गौरापर्वको तिथि र मिति तय गर्नुपर्ने भएकोले यो पर्व कुनै वर्ष शुक्ल पक्षमा र कुनै वर्ष कृष्ण पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरापर्वलाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अँध्येरी गौरा भन्ने गरिएको छ ।
नारीको सहयोग विना पुरूष पूर्णरूपमा पुरूष हुन सक्दैन । नारी सन्ततिका लागि शिक्षा प्रदान गर्ने पहिलो पाठशाला हो । करूणाकी प्रतिमूर्ति कर्मशील नारीहरूले नै आफ्ना सन्ततिहरूलाई कर्मयोगी बनि सत्मार्ग तिर लम्किन दिशानिर्देश गर्दछिन् । यिनै नारीले गौरापर्वमा आफ्नो पति र पुत्र पुत्रीहरूको सुस्वास्थ्य, दीर्घायु, श्रीवृद्धि, सुख शान्ति र आफ्नै अटल सौभाग्यका लागि अनुष्ठान गर्ने गर्दछिन् ।
त्यसैले गौरापर्वले भावनात्मकरूपमा पति पत्नी र परिवार जनमा एकअर्का प्रतिको श्रद्धा, विश्वास र भावनालाई प्रगाढ तुल्याएको छ । गौरापर्व नारी प्रधान पर्व भएपनि पुरूषहरूको पूरा सहभागिता रहेको हुन्छ । गौरापर्वले धार्मिक संस्कार र अनुष्ठानसँग सम्बद्ध भएर समाज र परिवारमा सद्भाव, समर्पण र शिष्टता दर्साउँदै पारिवारिक सुमधुर सम्बन्ध स्थापित गर्न महत्वपूर्ण माध्यमको रूपमा कार्य गरिरहेको छ ।
गौरापर्व धार्मिक संस्कार र अनुष्ठानसँग सम्बद्ध भएपनि यस पर्वले समाज र परिवारमा शिष्टता, सभ्यता र संस्कृतिलाई दर्शाउँदै सबै जातजातीको मन आफूतिर आकर्षित गरी साझा पर्वको रूपमा देशभरी झाँगिरहेको छ । यसले देश र समाजमा समानताको सन्देश पनि दिएको छ । देशको प्रधानमन्त्रीदेखि सामान्य नागरीकहरू, समाजका ब्राम्हण परिवारका पण्डितहरूदेखि दलितहरू हातमा हात र स्वरमा स्वर मिलाउँदै एउटै चाल र समान स्वरलहरीमा लामवद्ध भएर डेउडा, धमारी जस्ता खेलहरू खेल्ने गर्दछन् । सानो ठूलो र जातजातीको कुनै भेदभाव नगरी सबै एउटै स्तरमा हातेमालो गरेर रमाउन पाउने यो पर्वले समानताको शंखघोष गरेको छ र सु–संस्कृत सम्पदाको नमुनाको रूपमा देखापरेको छ ।
यस पर्वले सबै जातजाती र समुदायका महिला पुरूषहरूलाई एउटै थलोमा उभ्याएर आपसी सद्भावको विकास, एकअर्काविच परस्पर सम्बन्ध, सम्वाद र सत्कर्मको लागि प्रेरणा प्रदान गरेर समाज र परिवारलाई गतिशील रूपमा अगाडि बढ्न प्रेरित गरिरहेको छ । वर्षा ऋतुको समाप्तिसँगै बाढि पहिरोको पीडा, खाद्यान्नको संकट र रोगब्याधिको आक्रान्त स्वरूपलाई बिर्साएर गौरापर्वले पुनः समाजमा रमाइलो वातावरणको श्रृजना गर्दछ ।