तथ्याङ्कमा सुदुरपश्चिमको कोरोना कहरः ‘देशका कर्णधार सबैभन्दा बढी कोरोनाको शिकार’
2020/06/13, 10:12
 
korona

सीताराम ओझा- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या १९१ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा भारतबाट नेपालीहरु आउने क्रम वढेसँगै कोरोनाका संक्रमितहरु पनि एक्कासी वढिरहेका छन् । यस अघि चैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए । उनीहरु सवै जना कोरोनालाई जितेर घर फर्किएपछि प्रदेश कोरोनाका विरामी मुक्त भएको भन्दै प्रचार समेत गरियो ।

बीचको ४० दिन शान्त रहेको सुदुरपश्चिममा पछिल्लो तीन सातामा मात्रै संक्रमितको संख्या ह्वात्तै वढेको छ । तीन सातामा १८६ जना संक्रमित पुष्टि भएका छन् । कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएका धेरै नमुनाहरु जाँच गर्न बाँकी रहेकोले संक्रमित थपिने सम्भावना रहेको सम्बद्धहरु बताउँछन् । परिक्षणको दायरा वढाउँदै लगिएकोले संक्रमित संख्या वढ्न सक्ने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । 

युवालाई सवैभन्दा बढी कोरोना
राष्ट्रिय युवा निति अनुसार १६ बर्षदेखि ४० बर्षसम्मको उमेर समुहलाई युवा मानिन्छ । राष्ट्रिय युवा निति २०६६ मा “युवा” भन्नाले १६—४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रो लिङ्गीहरूलाई जनाउने उल्लेख गरिएको छ । युवालाई देशको कर्णधार मानिन्छ । पछिल्लो समय देश संघीयतामा गएपछि सुदुरपश्चिम प्रदेश सरकारले युवालाई प्रदेशको खम्बा मानेछ । तर सुदुरपश्चिम प्रदेशमा युवा उमेर समुह नै सवैभन्दा वढी कोरोनाबाट संक्रमित भएको छ । 

सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदुरपश्चिम प्रदेशका संक्रमितमध्ये सवैभन्दा वढी युवा उमेर समुहका छन् । सुदुरपश्चिमका जम्मा संक्रमितमध्ये युवा उमेर समुह अर्थात १६ बर्षदेखि ४० बर्षसम्मका १४१ जना कोरोना संक्रमित भएका छन् । यो कुल संक्रमितको ७४ प्रतिशत  हो । १८ र १९ बर्षका पाँच पाँच जना युवामा कोरोना संक्रमण भएको छ । त्यसैगरी १६ र १७ बर्षका दुई दुई जनामा कोरोना पुष्टि भएको छ । यो कुल संक्रमितको ५ प्रतिशतभन्दा वढी हो । ११ बर्षदेखि २० बर्ष उमेर समुहका पनि २७ जनालाई कोरोना भएको छ ।

जानकारहरुका अनुसार सुदुरपश्चिमका युवाहरु किशोर अवस्थामै रोजगारीका लागि भारत जाने गरेका छन् । विभिन्न बाध्यता र परिस्थितिले पढाई बीचमै छोडेर भारत जाने र कमाउने उमेरसम्म भारतमै काम गर्ने गरेका कारण युवा उमेर समुह बढी संक्रमित भएको शिक्षा विद् डाक्टर हेमराज पन्तले बताए । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदुरपश्चिमका संक्रमित मध्ये १० वर्षसम्मका ७ जना, ११ देखि २० वर्ष उमेर समूहका २७ जना, २१ देखि ३० बर्ष उमेर समुहका ८६ जना, ३१ देखि ४० बर्ष उमेर समुहका ४१ जना, ४१ देखि ५० बर्ष उमेर समुहका १६ जना, ५१ देखि ६० बर्ष उमेर समुहका ६ जना र ६१ देखि ७० बर्ष उमेर समुहका ३ जना संक्रमित रहेका छन् ।

बालबालिका र वृद्धवृद्धाहरुमा प्रतिरोधक क्षमता कम भएका कारणले संक्रमित भएपनि युवाहरु भने सावधानी नअपनाउँदा वढी संक्रमित भएको सेती प्रादेशिक अस्पतालको कोरोना विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले बताए । अधिकांश संक्रमितहरु भारताटसँगै आएको, सीमामा घुलमिल भएको एउटै गाडी प्रयोग गरेको र एउटै क्वारेन्टिनमा वसेकाहरु पाईएकोले पनि वढी संक्रमण फैलिएको डाक्टर कमरको भनाई छ ,  

सुदुरपश्चिममा सवैभन्दा कम उमेर जन्मेको चार दिन भएको शिशुलाई कोरोना भएको छ भने सवैभन्दा वढी ७० बर्षको वृद्धलाई कोरोना भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । सुदुरपश्चिममा ११ महिनाका वालकदेखि दुई तीन पाँच एघार र्षका वालवालिकालाई पनि कोरोना भएको उनले बताए । जेष्ठ नागरिकहरुलाई पनि विभिन्न रोगहरुको समस्या रहने गरेका कारण उनीहरुलाई पनि संक्रमणले समात्ने गरेको श्रेष्ठको भनाई छ ।  


२१ देखि ३० बर्षको उमेर समुह सवैभन्दा वढी संक्रमित
कोरोना संक्रमित मध्ये सवैभन्दा वढी २१ देखि ३० बर्ष उमेर समुहका भएका छन् । कुल संक्रमितका झण्डै आधा भाग यो उमेर समुहकै रहेका छन् । सवैभन्दा वढी २१ देखि ३० बर्षका ८६ जना संक्रमित रहेका छन् । १९१ मा सवैभन्दा वढी अर्थात यो संख्या ४५ प्रतिशत हो । त्यसपछि दोस्रो नम्बरमा ३१ देखि ४० बर्ष उमेर समुहका संक्रमित वढी रहेका छन् । कुल संक्रमित मध्ये झण्डै ४१ जना ३१ देखि ४० बर्ष उमेर समुहका रहेका छन् । यो कुल संक्रमितको साढे २१ प्रतिशत हो ।

तेस्रो नम्बरमा भने किशोर अवस्थाका युवाहरु संक्रमित भएका छन् । ११ देखि २० बर्ष उमेर समुहका २७ जना संक्रमित पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्यांक रहेको छ । यो संख्या भनेको कुल संक्रमितको १४ प्रतिशत हो । त्यस्तै सवैभन्दा कम भने ६१ देखि ७० बर्षका वृद्धहरुमा संक्रमण देखिएको छ । हालसम्म यो उमेर समुहका ३ जना अर्थात कुल संक्रमितमध्ये डेढ प्रतिशत रहेका छन् । त्यसैगरी ४१ बर्षदेखि ५० बर्षसम्मका १६ जना अर्थात साढे ८ प्रतिशत, ५१ देखि ६० बर्षका ७ जना अर्थात साढे ५ प्रतिशत र जन्मदेखि १० बर्ष उमेर समुहका ७ जना अर्थात साढे ३ प्रतिशत संक्रमित भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।