सुदुरपश्चिमका क्वारेन्टिनहरु संक्रमणको घर बन्दै, जानकारहरु भन्छन्– ‘अहिलेका क्वारेन्टिनभन्दा होम क्वारेन्टिन सुरक्षित हुन्छ ।’
2020/06/13, 1:58
 
korona

सुदुरपश्चिमका स्थानीय तहले बनाएका क्वारेन्टिन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार छैनन् । दिनदिनै क्वारेन्टिन भरिँदै जाँदा जनशक्ती र ठाउँको अभाव हुन लागेको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार क्वारेन्टिन राखिएका स्कुल, सार्वजनिक भवन र खाली घर भरिभराउ भइसकेका छन् ।

‘अब होम क्वारेन्टिन र लक्षण नदेखिएकालाई पनि होम आइसोलेसनमा राख्नुपर्ने अवस्था छ,’ उनले भने, ‘घर परिवार र समुदायमा फैलिन सक्ने जोखिम भए पनि अहिलेका क्वारेन्टिनभन्दा होम क्वारेन्टिन सुरक्षित हुन्छ ।’ निर्देशनालयका अनुसार हालसम्म ६१ हजार ७ सय १० जना क्वारेन्टिनमा छन् ।

८८ वटै स्थानीय तहका १ हजार ९ सय १८ क्वारेन्टिनमा ८२ हजार ७ सय १८ बेडको व्यवस्था गरिएको उनले जानकारी दिए । क्वारेन्टिन खाना, नास्ता, ओढ्ने ओछ्याउनेको व्यवस्थादेखि पानी र शौचालयको व्यवस्थापनमा स्थानीय तह चुकिरहेका छन् । ’व्यवस्थित नहुँदा क्वारेन्टिन आफै संक्रमणको घर बन्न लागेको छ,’ उनले भने ।

गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले दिनदिनै भारतबाट भित्रिनेको संख्या बढ्दै जाँदा व्यवस्थापनमा चुनौती बढेको बताए । उनले भने, ‘आर्थिक रुपमा पनि नगरपालिकाले ठूलो आर्थिक भार उठाउनुपरेको छ ।’