सुदूरपश्‍चिममा नेकपा (एस) रोज्‍ने सांसदको संख्या १३ पुग्यो (नामसहित)
2021/09/05, 5:22
 
aa

सुदूरपश्चिम मा आइतबार थप ३ जना प्रदेश सांसदले एमाले छाडेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र पूर्वप्रमुख सचेतक तारा लामा तामाङले आइतबार प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् । यससँगै अब एमाले छाडेर (एस) मा जानेको संख्या १३ जना पुगेको छ ।

पाँच दिनअघि १० जना सांसदले सनाखत गरेका थिए । सुदूरपश्चिम प्रदेशसभामा अब एमालेभन्दा धेरै सांसद (एस) मा पुगेका छन् । एमालेमा कूल २४ जना (सभामुखबाहेक) सांसद रहेकोमा १३ सांसदले नेकपा (एस) रोजेपछि एमालेमा रहने सांसदको संख्या ११ जनामात्रै भएको छ । सभामुख तटस्थ भूमिकामा रहन्छन् ।

यसअघि मन्त्री पूर्णा जोशी र लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरु सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारीले सनाखत गरेका थिए । निर्वाचन कार्यालयले सनाखत गर्ने म्याद २२ गतेसम्म तोकेको छ ।

यी हुन सुदुरपश्चिममा नेकपा (एस) रोज्ने १३ सांसदहरुः

  • दीर्घबहादुर सोडारी
  • प्रकाश रावल
  • तारा लामा तामाङ
  • पूर्णा जोशी
  • लालबहादुर खड्का
  • चुनकुमारी चौधरी
  • मनाकुमारी साउद
  • दुर्गाकुमारी कामी
  • माया भट्ट
  • सुशीला बुढाथोकी
  • कुलवीर चौधरी
  • अमर साउँद
  • बलबहादुर सोडारी