नवगठित जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले हिमाल, पहाड र मधेशका असन्तुष्ट जनताले चाहे अनुसारको संविधान संशोधन गर्न माग गरेका छन्।नेपालको राजनीतिक नक्शालाई संविधानको अनुसूचीमा अद्यावधिक गर्नका लागि संविधान संशोधन गर्न बोलाइएको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै महतोले त्यस्तो माग गरेका हुन ।
संविधानप्रति धेरै असन्तुष्टि हुँदा हुँदै पनि नेपाली भूभाग र राष्ट्रियताको विषय भएकाले आफूहरू संविधान संशोधनको पक्षमा उभिएको उनले बताए। “प्रत्येक मधेशी सेना भएर सीमाको रक्षा गरेको छ,” उनले भने, “तर, अनुहार हेर्ने बित्तिकै मधेसीलाई भारतीय भनेर विभेद गरिन्छ । अब आजबाट त्यस्तो सोच हटाइदिनुहोस ।” हिमाल, पहाड र मधेशका जनता आफ्नो भूमिप्रति सजग र संवेदनशील रहेको उनले बताए । उनले भने, “राष्ट्रियताको सवालमा एकलौटी छ। मधेशीले पनि राष्ट्रियताको रक्षा गर्छ र भन्छन । तर, यो कसैको एकलौटी होइन । कुनै एउटा जाति, क्षेत्र वा समुदायको राष्ट्रियता कायम लाग्दैन ।”
संविधानले पूर्णता नपाएको बताउँदै शोषण, उत्पीडनमा परेका जनताको भावना अनुसार पनि संविधान संशोधन गर्न उनले माग गरे । उनले भने, “भूमि मात्र होइन जनता पनि राष्ट्रियता हो । त्यसका लागि हामीले जनताको माग पनि पूरा गरिदिनुस् भनेका हौं ।” जनता समाजवादी पार्टीका नेता महतोले कागजको नक्शा जारी गरेर मात्र नपुग्ने जमिन नै फिर्ता ल्याउनुपर्ने बताए । “जनतालाई कागज देखाएर मात्र पुग्दैन, जनताले जमिन नै खोजेको छ । वार्ताका माध्यमबाट त्यो फिर्ता ल्याउन पहल गर्नुहोस्,” उनले भने, “साथै यही मौकामा को राष्ट्रघाती हो भन्ने पनि पहिचान हुनुप¥यो। हिजो नेपालको नक्शामा भएका ती भूभाग कसरी गायब भए ? पार्टी फुटाएर भए पनि महाकाली सन्धी पारित गर्ने नेताले त्यो बेला किन महाकालीको मुहान पत्ता लगाउन आवश्यक ठानेनन् ? त्यसको पनि जवाफ चाहियो ।”