नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशित गर्नुको साथसाथै भारतसँग सवांदको पहल बढाउनु पर्ने बताएका छन् । नेपालले वार्ताको प्रस्ताव अघि बढाउँदा त्यसमा तत्परता देखाउनुको सट्टा भारतले त्यही भूमीबाट मानसरोबरसम्म जाने बाटोको उद्घाटन गरिदिँदा नेपालको राष्ट्रिय भावनालाई चुनौती दिएजस्तो महसुस भएको उनले बताए ।
प्रतिनिधि सभा बैठकमा शनिबार उनले भने, ‘मैले प्रधानमन्त्रीले ड्राफ्ट गरेको डिप्लोम्याटिक नोट मलाई पनि पढ्ने अवसर प्राप्त भयो । त्यो जिम्मेवारपूर्ण भाषामा दहेसँग वार्ताको निम्ति अपिल गरिएको छ । प्रधानमन्त्री लेभलमा त राजनीतिक वार्ता हुन सक्छ तर हाम्रो जोइन्ट कमिटी तहमा गम्भीर वार्ता गरेर यो समस्या समाधान गर्नुपर्छ भनेर लेखिएको थियो । र मलाई विश्वास थियो छिटै वार्ता हुन्छ । नक्सा प्रकाशित हुनुभन्दा अगाडी नै वार्ता भएर समस्याको समाधान भयो भने त्यो धेरै राम्रो कुरा हो । त्यसका विकल्पहरुमाथि छलफल सुरु भए त्यो एतिहासिक हुन्छ भन्ने मेरो विश्वास पनि थियो ।’
तर पनि वार्ताको प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । वार्ता हुनेको सट्टा त्यही विवादीत भूमीबाट लकडाउनका बेला बाटो उद्घाटन हुँदा सबैलाई उद्वेलति र तरंगित भएको उनको भनाई थियो । ‘वार्ताका निम्ति तत्परता देखाउनुको सट्टा त्यही भूमीबाट मानसरोबरसम्म जाने बाटोको उद्घाटन गरिदिँदा हामी सबैलाई झनै उद्धेलित र तरङ्गीत बनाइदियो,’ उनले भने, ‘नेपालको राष्ट्रिय भावनालाई चुनौती दिएजस्तो महसुस भयो ।’