लक–डाउनमा साहित्य कोर्दै श्रष्ट्राहरु 
2020/05/11, 6:55
 
yatri

सरकारले आम नागरिककै हितको लागि लक–डाउन गरेको हो तर केही नागरिक लक–डाउनमा पनि आफ्नो व्यक्तिगत जीवन सार्थक बनाउन तल्लीन छन् । यसैमध्ये एक हुन् वरिष्ठ साहित्यकार यज्ञराज यात्री । लक–डाउन भएयता उनी आफ्नो कोठामा आफैं कैद छन् । जसको फाइदा कोरोनाबाट सुरक्षित हुनु त छँदैछ, अर्कोतिर उनी पहिलैदेखि थाती राखेका कामलाई यसै मौकामा फत्ते पार्ने ध्याउन्नमा छन् ।


४५ वटा पुस्तक लेखिसकेका धनगढी उपमहानगरपालिका–७ देवहरिया घर भएका ६७ वर्षीय वरिष्ठ साहित्यकार यात्री प्रकाशोन्मुख १ महाकाव्य, ४ खण्डकाव्य सहित १२ वटा पुस्तक प्रकाशनको अन्तिम तयारीमा जुटेका छन् । यात्री भन्छन, ‘योभन्दा पहिले कहिले यता गोष्ठी, कहिले उता, सबै काम पेन्डिङमा थियो । अहिले चाहिँ ठीक भयो । नित्यकर्म बाहेक बाँकी अन्य काम भनेको किताब लेखन, सम्पादन तथा प्रुफ रिडिङमा बितिरहेको छ ।’


प्रकाशित गर्ने किताबको सूची सुनाउँदै उनले भने, ‘गुलाफ (खण्ड काव्य), भानु (खण्ड काव्य), शोषक र शोषित (कविता संग्रह), कठरिया जातिको परिचय, म र मेरो संस्कृति (डोटेली भाषा), आमा (कविता संग्रह), राधा कृष्ण (खण्ड काव्य), गौरा (महाकाव्य), समैजी (खण्ड काव्य), मालिका परिचय, फुलवस्ती (कविता संग्रह) लगायतको तयारीमा छु ।’आफू अध्ययन र लेखनमा रुचि राख्ने व्यक्ति रहेको बताउँदै उनले अरु बेलाभन्दा आजभोलि नै क्रियाशील भएको बताउँछन् । ठट्यौली शैलीमा साहित्यकार यात्री भन्छन, ‘हेर्नु न यात्रो उमेर उसै पनि भैगो । मृत्युदेखि डर लाग्छ । यत्रो किताब प्रकाशन गर्न बाँकी नै छ । पहिल्यै मर्छु कि भन्ने चिन्ता छ । मर्नुभन्दा पहिले तपाईंलाई आफ्नो किताब उपहार दिएर जाने धोको जो छ । त्यसैले जिउनको लागि घरभित्र त बस्नैपयो नि है । 


कतिपय साहित्यकार भने कोरोनाले त्रसित छन् । मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी पनि वर्तमान परिस्थितिबाट निकै त्रसित छन् । लक–डाउनको समयलाई विषम समय, अस्वस्थ समय बताउँदै नयाँ सिर्जनामा स्वस्थ समय हुनुपर्ने बताउँछन् । भावुक हुँदै उनी अगाडि भन्छन, ‘यस्तो बेलामा सारा मानव जगत त्राहीमान छ । सामाजिक सञ्जाल, टीभीका न्यूज, फोटो र समाचार हेरेर दिल, दिमाग खल्बलिएको छ । विश्व मानव जगत आक्रान्त भइरहेको बेला के पढ्नु ? के लेख्नु ? पढ्न बस्दा पनि दिमागभरी यही सन्त्रासको झल्को आउँछ । लेख्न बस्दा पनि दिमागमा स्वस्थ कल्पना आउँदैन । संसार चिच्याइरहँदा कसरी पढेर बस्नु ? के लेखेर बस्नु ? पढ्नलाई, लेख्नलाई, बोल्नलाई समय चाहिन्छ, स्वस्थ मन चाहिन्छ । यो कुनै कामका लागि पनि अनुकूल समय होइन । न आफू बाहेक अरुलाई बिर्सेर कुनै काममा डुब्न सकिन्छ, न अरुबाहेक आफूलाई बिर्सेर केही सिर्जना गर्न सकिन्छ । केही गर्न सकिने समय होइन । आफ्नो सानो बारीको माटोसँग खेल्छु । आँगनको ढुंगोलाई पुज्छु । बिहान उठ्दा सूर्यलाई अर्घ्य चढाउँछु । डुब्दा चन्द्रमालाई हात जोड्छु । यो बेला केवल प्रार्थनाको बेला हो । बस । म प्रार्थानामा छु ।’ 


अर्की साहित्यकार श्रेष्ठप्रिया पथ्थर भने लक–डाउनको समयको सदुपयोग किताब अध्ययनबाट गरिरहेकी छिन् । धनगढी उपमहानगरपालिका–५ हसनपुर घर भएकी साहित्यकार श्रेष्ठप्रिया भन्छिन, ‘घरमै सेल्फ क्वारेनटाइनमा बसेकी छु । समसामायिक गतिविधिवारे अपडेट हुन टीभी हेरेर बस्छु । साथै यो बेलाको मौकाको फाईदा उठाउँदै नविन विभासद्वारा लिखित रोल्पा सुइना, सरुभक्तद्वारा लिखित प्रतिगन्ध, राधिका गुरागाईद्वारा लिखित प्रतिबिम्ब हराएको मान्छे पढिरहेको छु ।’ उपन्यास, कविता, गजल, कथा, भूमिका लेखन, समीक्षा लेखनमा रुची राख्ने उनी हालसम्म १७ वटा कृति प्रकाशित गरेकी छिन् भने एउटा मुक्तक संग्रह प्रकाशोन्मुख छ ।