१० बूँदे कार्यान्वयन नभए पार्टीमा नरहने अवस्था आउन सक्छ: रावल
2021/09/13, 10:57
 
aa

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन् । प्रतिनिधिसभा बैठक पछि सिंहदरबारमा आफू निकटका नेता सँग १० बूँट सहमति कार्यान्वयनमा चुनौती थपिएको बताए । सिंहदरबारमा प्रतिनिधिसभा सदस्य झपट रावल र एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीसँग रावलले १० बुँदे सहमति कार्यान्वयन आवश्यक रहेको र उक्त सहमति कार्यान्वयन नभए समस्या हुने बताएका हुन् ।

जोशी एमालेमा विवाद हुँदा रावलले गठन गरेको समानान्तर कमिटीको सुदूरपश्चिम अध्यक्ष थिए । सिंहदरबारभित्रै भएको छलफलमा रावलले आइतबार बिहान ओली निवासमा भएको छलफलबारे जानकारी गराएका थिए । उनले अध्यक्ष ओलीले सुदूरपश्चिममा भट्टलाई इन्चार्ज बनाउन चाहेको भन्दै १० बुँदे कार्यान्वयन नभए एमाले भित्रै रहेकाहरू पनि नरहने आसय व्यक्त गरेका थिए ।

२०७७ पुस ५ गतेअघि भीम रावल तत्कालीन नेकपाको सुदूरपश्चिम संयोजक थिए। २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएर नेकपा गठन हुनुभन्दा अघि पनि रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज थिए । पुस ५ पछि नेकपामा फेरिएको समीकरणका कारण भट्ट इन्चार्ज बनेका थिए।

गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेशमा सहजीकरण गर्न भीम रावल, लेखराज भट्ट र कर्ण थापा रहेको कार्यदलसमेत बनेको छ। तर, झपट रावलले त्यहि कार्यदलबाट एकताभन्दा बढी बिभाजनको काम हुन थालेको आरोप लगाए ।