प्रदेश इन्चार्ज नपाउँदा भीम रावललाई छटपटी 
2021/09/14, 1:49
 
dd

नेकपा (एमाले)मा जेठ २ गतेको विवाद बल्झिएको छ । पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने विषयमा लामो समयसम्म एमालेमा विवाद चर्किएको थियो ।  अन्ततः तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल गठन गर्ने अवस्थामा पुगे । तेस्रो धारका नेता विवाद समाधान कार्यदलमा भएको १० सहमति बुँदे कार्यान्वयन हुने सर्तमा एमालेमै रहे । तर, दुई महिना नपुग्दै जेठ २ का विषयमा फेरि विवाद बल्झिएको हो । पार्टीमा भएको १० बुँदे सहमति कार्यान्वयन नहुने भन्दै नेताहरू सशंकित हुन थालेका छन् ।

अहिले एमालेमा सुदूरपश्चिम प्रदेश इन्चार्जका विषयमा विवाद देखिएको छ । नेकपा (एमाले)मा जेठ ३ अघि संयोजक र सहसंयोजक थिए । एमाले र माओवादी केन्द्रबीच एकता हुँदा इन्चार्ज पद राखियो । ०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा भंग हुँदा माओवादीका केही नेताहरू एमालेमा नै रहे । माओवादी छाडेका लेखराज भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज बनाएका थिए ।

पार्टी जेठ २ को अवस्थामा पुग्दा उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेशको संयोजक हुनुपर्ने हो । तर, अहिले एमालेमा संयोजकको भूमिका छैन । रावलले आफूले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पाउनुपर्ने माग राखेका छन् । अरू प्रदेशमा भने तत्कालीन संयोजकले इन्चार्जको जिम्मेवारी पाएका छन् ।  तर, ओलीले भने सुदूरपश्चिमको इन्चार्जमा भट्ट र अध्यक्षमा कर्ण थापा नै रहने निर्णय सुनाएका छन् । गएको आइतबार ओलीले आफ्नो निवास बालकोटामा रावल, भट्ट, थापा र नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङलाई डाकेका थिए । ओलीले रावललाई उपाध्यक्षको हैसियतमा सहजीकरणको भूमिकामा रहन आग्रह गरेको भट्टले बताए ।

“अहिले पार्टीले नयाँ निर्णय केही गरेको छैन । इन्चार्ज लेखराजजी र अध्यक्ष कर्ण थापाजी नै हो । तपाईं उपाध्यक्षको हैसियतले सहजीकरण समितिको नेतृत्व गर्नुस् भन्नुभयो,” भट्ट भन्छन्, “रावलजीले जेठ २ मा फर्कनुपर्छ भन्नुभयो । त्यसपछि हामी फेरि बसौँला भनेर उठ्यौँ । तर, अध्यक्षले आफ्नो निर्णय सुनाउनुभएको हो । फेरि बस्नुनपर्ला ।”  रावलले भने ओलीको निर्णयमा असन्तुष्टि जनाएका छन् । त्यसलगत्तै उनले आफूनिकट नेताहरूसँग छलफल पनि गरेका थिए । ओलीको निर्णयले रावललाई छटपटी भएको एक नेताले सुनाए ।  १० बुँदे कार्यान्वयन नभए विकल्प खोज्नुपर्ने उनले आफूनिकट नेताहरूसँग बताएका छन् । “१० बुँदे कार्यान्वयन गर्ने सहमति भएपछि नै एमालेमा बसिएको हो । अहिले जेठ २ मा जानसमेत आनाकानी भइरहेको छ । १० बुँदे कार्यान्वयन नभए हामीले विकल्पसमेत खोज्नुपर्छ भन्ने उहाँको कुरा हो,” रावलनिकट एक नेताले भने ।

रावलले भट्टलाई भने– फेरि बसौँ 
रावलले भट्लाई फेरि छलफल गर्नुपर्ने बताएका छन् । आज बिहान भएको टेलिफोन संवादमा रावलले ‘छलफलमा बसौँ’ भन्ने प्रस्ताव राखेको भट्टले बताए ।  “मैले बिहान फोन गरेको थिएँ । उहाँले बसौँ भन्नुभयो । फकिर्एपछि बसौँला भन्ने कुरा भएको छ । तर, बस्नुनपर्ला,” उनले भने ।  त्यसो त एमाले पार्टी प्रवक्ताका विषयमा पनि विाद देखिएको थियो । सामाजिक सञ्जालमा आलोचना भएपछि पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफू पार्टीको प्रवक्ता नभएको प्रष्टीकरण दिएका छन् ।

एमालेमा प्रचार विभाग प्रमुखले नै प्रवक्ताको भूमिका निर्वाह गर्र्दै आएका थिए । फागुन २३ गतेको फैसलापछि तत्कालीन ओली समूहले पार्टी प्रवक्ताको जिम्मेवारी नेता प्रदीप ज्ञवालीलाई दिएको थियो ।  भट्राईले आगामी बैठकले आफूलाई प्रवक्ताको जिम्मेवारी नदिए प्रचार विभाग प्रमुख नै रहने बताइसकेका छन् ।

युवराज ज्ञवाली भन्छन्– क्लियर गर्ने बेला आयो 
एमाले उपाध्यक्ष युवराज ज्ञवाली पदका विषयमा स्पष्ट गर्नुपर्ने बताउँन् । कर्णाली प्रदेशको संयोजक रहेका ज्ञवालीले आफ्नो प्रदेशमा भने समस्या नरहेको जिकिर गरे । “पहिले संयोजक, सहसंयोजककको व्यवस्था थियो । पछि इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज भनेर मिलाएको छ । यसबारेमा क्लिायरिटीको आवश्यकता छ । जेठ २ मा फर्कँदा त नयाँ निणर्यहरू रद्ध गर्ने भनिएको थियो । यस सन्दर्भमा क्लिएर गर्नुपर्नेछ । हाम्रो प्रदेशमा समस्या छैन,” उनले भने ।

अस्पष्ट भएका विषयमा स्पष्टता गर्दै जानुपर्ने उनी बताउँछन् । “आधारभूत रूपमा जेठ २ मा जाने हो । एकीकरणमा आएका साथीहरू राख्ने । एकताभन्दा अघि सहमतिका आधारमा ठाउँठाउँमा केन्द्रीय सदस्य, जिल्ला कमिटी, प्रदेश कमिटीमा साथीहरू मनोनयन गरिएको छ,” उनले भने, “२ गते नै घोषणा गरिएको एकताभन्दा अघिको कुरालाई उल्लेख गरिएको छ । पछि यता आएका निर्णयहरूमा के गर्ने भन्नेबारेमा केही विवाद देखिएको छ । त्यसमा क्लिएर गर्नुपर्छ ।”

१० बुँदे कार्यान्वयन हुनेमा आशंकाको अवस्था भने बनिनसकेको ज्ञवाली बताउँछन् । “आशंका नै गर्ने अवस्था त आइसकेको छैन । कार्यदल बनेका छन् । कार्यदलको बीचमा कुराकानी गरेर एउटा निष्कर्ष निकाल्नुपर्छ । यस्ता समस्याहरू आइरहन सक्छन्,” उनले भने । स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन भइनसकेकाले पनि कतिपय विषयमा विवाद भइरहेको उनको भनाइ छ ।