महाकाली करिडोर अन्तरगत पर्ने महाकाली लोकमार्गको हाल सम्म १ सय ६० किलोमिटर ट्रयाक खुलिसकेको छ । कञ्चनपुर देखि सुरु भइ दार्चुलाको तिंकरसम्म जोड्ने लोकमार्गको कुल ४ सय २५ किलोमिटर मध्ये हालसम्म १ सय ६० किलोमिटर सडकको ट्रयाक खुलेको महाकाली लोकमार्ग (दार्चुला टिंकर सडक) योजनाका प्रमुख आशुतोष कर्णले जानकारी दिए ।
लोकमार्गको दार्चुला क्षेत्रमा ९०, बैतडीमा ५७ र डडेल्धुरामा १३ गरी हालसम्म १ सय ६० किलोमिटर नयाँ ट्रयाक खोलिएको उनले बताए । बाँकी रहेको २ सय ६५ किलोमिटर मध्ये ८७ किलोमिटर नेपाली सेनाले र १ सय ७८ किलोमिटर सडक कार्यालयबाट टेण्डर आह्वान गरी निर्माण गरिने उनको भनाई छ ।
१ सय ८७ किलोमिटर मध्ये १ सय २४ किलोमिटर सडक निर्माणका लागी ठेक्का लागि सकेको तथा बाँकी ५४ किलोमिटर सडक निर्माणका लागी ठेक्का लाग्न बाकी रहेको बताइएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा ३५ देखी ४० किलोमिटर सडकको नयाँ ट्रयाक खोलिने तथा ब्याक कटिङ, ग्रेड कटिङ र मर्मतको काम गर्ने योजना रहेको योजना प्रमुख कर्णले जानकारी दिए । ब्याक कटिङ, ग्रेड कटिङ र मर्मतका लागि निर्माण कम्पनीहरुसँग विभिन्न मितिमा सम्झौता भइसकेको तथा कञ्चनपुर र डडेल्धुरा क्षेत्रको लोकमार्गमा सडक कटिङको काम गर्ने, बैतडी र दार्चुलामा ब्याक कटिङ, ग्रेड कटिङ र मर्मतका साथै नयाँ ट्रयाक समेत निर्माण गर्ने योजना रहेको उनको भनाई छ ।
कुल ४ सय २५ किलोमिटर लम्बाई रहेको यो सडकको ८७ किलोमिटर क्षेत्रमा नेपाली सेनाले निर्माण थालेको छ । दार्चुलाको ब्याँस गाउँपालिका–२ कोठेधारबाट तिंकर सम्मको ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएर काम थालेको हो । लोकमार्ग निर्माणका लागी चालु आर्थिक वर्षमा १ अर्ब ३ करोड बजेट प्राप्त भएको बताइएको छ । जस मध्ये नेपाली सेनालाई २२ करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ, भने बाँकी कार्यालयलाई प्राप्त भएको यनले बताए । नेपाली सेनाले यो वर्ष ७ किलोमिटर ट्रयाक खन्ने जनाइएको छ ।
यसैबिच निर्माणाधीन महाकाली लोकमार्गमा चालु आर्थिक वर्ष २०७८÷०७९ मा ६ वटा नयाँ मोटर पुल निर्माण हुने भएका छन् । यो लोकमार्गको डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा गरी ६ वटा मोटर पुल निर्माणका लागि यस वर्ष ठेक्का लाग्ने योजना प्रमुख कर्णले जानकारी दिए ।
डडेल्धुराको घट्टे र ठुलीगाड खोलामा २, बैतडीको निलगाड र कसानी खोलामा २ र दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ गरी जम्मा ६ वटा मोटर पुल निर्माणका लागि ठेक्का लाग्ने उनले बताए । आर्थिक वर्ष २०६५÷०६६ देखि सुरु भएको योजनाले सडक निर्माणमा हालसम्म खासै गति लिन सकेको छैन ।