कहिले बन्छ कलेज सञ्चालन कानुन  ?
2021/09/18, 1:21
 
dd

सरकारले आवश्यक कानुन निर्माण गर्न विलम्ब गर्दा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत राखेर अस्पताल सञ्चालन, प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय हुनुपर्नेमा फरकफरक बहस चलिरहेका छन् । भौतिक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै गेटा मेडिकल कलेजलाई कुन मोडालिटीअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय भएको छैन । 

हाल शिक्षा मन्त्रालयअन्तर्गत पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त संस्था सञ्चालनमा आउन तत्काल कानुन निर्माणको आवश्यकता रहेको गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए । साउदका अनुसार दुई वर्षअघि एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारणाअनुसार विधेयक तयार भई क्याबिनेटमा पेस भएको थियो । तर काम अघि बढेन । त्यसबेला गेटा, बुटवल, बर्दिबास र सुर्खेतमा स्थापना हुने मेडिकल कलेजलाई लक्षित गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारणा लिएको उनले बताए ।

‘राजनीतिक प्रतिबद्धता र सक्रियता भयो भने सबैभन्दा राम्रो त मेडिकल युनिभर्सिटी बनाउने अवधारणा हो,’ कार्यकारी निर्देशक साउदले भने, ‘डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेटालाई मेडिकल युनिभर्सिटी स्थापना गर्ने घोषणा गर्नु भएको थियो ।’ यसै आर्थिक वर्षभित्र कलेज सञ्चालन गर्न सकिने अवस्था छ भन्दै कार्यकारी निर्देशक साउदले भने, ‘गत वर्ष नै अस्पताल सञ्चालनका लागि बजेटसमेत विनियोजन भएको हो । कोभिडले समस्या भयो ।’ अस्पताल सञ्चालनका लागि हाल शिक्षा मन्त्रालयअन्तर्गत रहेको उक्त मेडिकल कलेज स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गर्नुपर्ने साउदले बताए । प्रतिष्ठान वा मेडिकल युनिभर्सिटी बनाउन भने सरकारले बेग्लै विधेयक ल्याएर पारित गर्नुपर्ने आवश्यकता पर्ने साउदको भनाइ छ ।

धनगढीस्थित नागरिक समाजका अगुवा धर्मराज पाठकले मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय कुन मोडालिटीमा लैजाने भन्ने उल्झन रहेको औंल्याए । ‘मेडिकल युनिभर्सिटी बन्नुपर्छ भन्ने हाम्रो माग हो,’ पाठकले भने, ‘तर, कैयौं जरुरी विधेयकहरू पनि थन्काइरहेको सरकारले गेटालाई महत्त्व दिएर कानुन पारित गर्ला भन्ने लाग्दैन । त्यसैले तत्काल अस्पताल सञ्चालको प्रक्रिया सुरु गरिहाल्नु जरुरी छ ।’

६ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि २७ वटा भवन पूर्वाधारका संरचनाको निर्माण कार्य लगभग अन्तिम चरणमा छन् । मेडिकल कलेजका कार्यकारी निर्देशक साउदका अनुसार हालसम्म ४ अर्ब बढीको लगानीमा पूर्वाधारहरू निर्माण गरिएका छन् ।

अस्पताल, कलेज, प्रशासनिक भवन, छात्रावास, निवासलगायत सातवटा प्याकेजअन्तर्गत भवन पूर्वाधारका कामहरू भएका छन् । पर्खाल, ५ वटा निवास भवन, तटबन्धको बनेको छ । निर्देशक साउदका अनुसार फर्निचरको ठेक्का भइसकेको छ । बिजुली सप्लाइको टेन्डर भइसक्यो । पानी, फोहर व्यवस्थापन डिजाइन पूरा भएर टेन्डरको तयारी छ ।

मेडिकल विश्वविद्यालय बनाउन जोड

पूर्वाधार निर्माण पूरा हुनै लाग्दा सुदूरपश्चिमका अगुवाहरूले भने गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय स्थापनामा जोड दिएका छन् । बुधबार धनगढीमा आयोजित कार्यक्रममा सहभागी राजनीतिकर्मी, चिकित्सा क्षेत्रका प्रतिनिधि, उद्योगी, प्रशासन, प्राध्यापन, नागरिक समाजलगायत अगुवाहरूले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय स्थापनामा जोड दिएका हुन् । उनीहरूले पूर्वाधार तयार भइसकेकाले तत्काल मोडालिटी तय गरेर सञ्चालन नगरे अहिले बनेका भवनहरू भैंसी गोठ बन्ने जोखिम हुने औंल्याए ।

सेती अञ्चल अस्पतालका पूर्वप्रमुख डा. गणेशबहादुर सिंहले गेटालाई मेडिकल युनिभर्सिटी नै बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि राजनीतिक प्रतिबद्धता अत्यावश्यक रहेको उनको भनाइ थियो । बार एसोसिएसन कैलालीका अध्यक्ष सिद्धराज ओझाले नेताहरूको साझा मत र पहलकदमी अपरिहार्य रहेको औंल्याए ।

सेती प्रादेशिक अस्पतालका डा. कपिल गौतमले पूर्वाधार, उपकरण, जनशक्ति, पैसा र समग्र व्यवस्थापनको पक्ष हेर्नुपर्ने औंल्याए । उनले पूर्वाधार, उपकरण र पैसाको अभाव नहुने भए पनि जनशक्ति र समग्र व्यवस्थापनको पक्ष ख्याल गर्नुपर्नेमा जोड दिए । ‘युनिभर्सिटीको मोडलमा जाँदा जोखिमहरू प्नि छन् । राजनीतिक खिचातानीको चपेटामा पर्न सक्नेतर्फ पनि सोच्नुपर्छ ।’

सेतीकै चिकित्सक शेरबहादुर कमरले हाल शिक्षा र स्वास्थ्य मन्त्रालयबीच देखिएको खिचातानी अनावश्यक भएको बताए । गेटालाई स्वास्थ्य मन्त्रालयअन्तर्गत राखेर सञ्चालनको तयारी गर्न ढिला गर्न नहुनेमा उनले जोड दिए । गोदावरी र गौरीगंगा नगरपालिकाका प्रमुखहरूले पनि मेडिकल कलेज यथाशक्य चाँडो सञ्चालनमा जोड दिएका छन् ।

मेडिकल कलेज सञ्चालनमा आए २७ वर्षअघि सुरु भएको सुदूरपश्चिमवासीको सपना पूरा हुनेछ । तयारीको अन्तिम चरणमा पुग्दा कानुनी पक्षहरू तत्काल पूरा गर्नुपर्ने आवश्यकता देखिएको छ । गेटा मेडिकल कलेज यस प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि कोसेढुंगा सावित हुने विश्वास सुदूरपश्चिमका बासिन्दाको छ । प्राध्यापक डा. हेमराज पन्त भन्छन्, ‘गेटा मेडिकल कलेजले यो प्रदेशका बासिन्दाहरूको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने मात्रै हैन, यहाँको आर्थिक गतिविधिसमेत बढाउनेछ ।’

गेटा मेडिकल कलेजका लागि भौतिक संरचनाहरूको निर्माण ०७४ वैशाखदेखि सुरु भएको हो । जानकारहरूका अनुसार नेपालमा सबैभन्दा चाँडो बनेको र नमुना आयोजना गेटा मेडिकल कलेज हो । कलेज अत्तरिया र धनगढीको बीचमा पर्ने गेटामा निर्माणाधीन छ । गेटामा मेडिकल कलेज सञ्चालनमा आएपछि अहिलेका जस्तो विशेषज्ञ चिकित्सकहरूको सेवा पाउन नसक्ने समस्या रहने छैन,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भन्छन्, ‘उपचारका लागि भारतीय सहर र राजधानी धाउने अहिलेको क्रम ९० प्रतिशतले घट्नेछ ।’