कैलालीमा कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो
2021/09/20, 10:43
 
kk

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । कांग्रेसले निकै रस्साकस्सी पछि पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएका हुन् । यता कैलालीमा पनि लामो समय देखी क्रियाशील सदस्यता विवाद टुंग्याएको छ ।

 टीकापुर नगरपालिका १ मा नयाँ सदस्यता स्थगन गरेर पुरानाबाटै अधिवेशन हुने सहमति भएको छ । नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा वडाले पेस गरेको सूची र क्षेत्रीय सभापतिले पेस गरेको सूचीमा विवाद देखिएपछि नवीकरणलाई मात्रै मान्यता दिइएको हो ।

कैलालीको निर्णय कार्यान्वयनको जिम्मा नेताहरु जीवन परियार र योगेन्द्र चौधरीलाई दिइएको छ । १३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो समयमै नलाग्दा ५ गते ७ जिल्लामा मात्रै वडा अधिवेशन हुने भएको छ ।

यसअघि नै वडा अधिवेशन सकिएका ५७ जिल्ला तथा ५ गते वडा अधिवेशन हुने ७ जिल्लामा ९ गते पालिका अधिवेशन गर्ने निर्वचन समितिले जनाएको छ ।  बाँकी १३ जिल्लाको वडा अधिवेशनको बारेमा भने आज पार्टीका शीर्ष नेताहरूसँग बसेर निर्णय गर्ने बताइएको छ ।