धनगढी जुगेडाकी हिरादेवी चौधरी छोराको उपचारका लागि बुधवार धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल पुगिन्। एक घण्टा लाइनमा बसेर टिकट लिइन। त्यसपछि डाक्टरलाई देखाउन पालो कुर्ने लाइनमा बसिन चौधरी। त्यति नै बेला खाजा खान निस्केका डाक्टरहरू दुई घण्टासम्म आएनन्। प्रादेशिक अस्पतालमा उनले छोरालाई चेकजाँच गराउन पाइनन्। ‘चेकजाँच गर्न बाँकी रहेका बिरामीलाई डा.को निजी क्लिनिकमा बोलाएपछि म पनि गए,’उनले भनिन्,‘सरकारी अस्पतालको पुर्जा काटे पनि निजीमा छोराको उपचार भयो।’
बुधवार बिहानैदेखि सेती प्रादेशिक अस्पताल सामुन्नेका क्लिनिकमा भाइरल ज्वरोका बिरामीको भिड थियो। त्यही भिडमा दुई वर्षको बच्चालाई काखीमा च्यापेर धनगढी उपमहानगरपालिका १४, पुलवारिकी पवित्रा ढकाल पनि बसेकी थिइन्। ‘हामी उपचार गराइरहेको क्लिनिक अगाडि ठुलो सरकारी अस्पताल छ, तर पनि हामीहरू निजी क्लिनिकमा उपचार गराउन बाध्य छौँ,’उनले भनिन्,‘सरकारी अस्पतालमा राम्रो व्यवहार नगर्ने तिनै डाक्टरहरूले उनीहरूकै निजी क्लिनिकमा आयौँ भने राम्रो सेवा र व्यवहार पाउँछौँ।’
अस्पतालमा भेटिँदैनन् डाक्टर
सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टर दिनभर नबस्दा सेवाग्राहीहरू निजी अस्पताल तथा क्लिनिकहरूमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य छन्। सेती प्रादेशिक अस्पताल प्रदेशको एक मात्र ठुलो सरकारी अस्पताल हो। तर, अस्पताल प्रशासनको लापरबाही र डाक्टरहरूको कमाउ मानसिकताले सरकारी अस्पतालमा गुणस्तरीय सेवा पाउन नसकेको सेवाग्राहीको गुनासो छ।
गेटाकी पुष्पा बोहराले बच्चामा रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल पुग्दा डाक्टर नभेटिएको बताइन। ‘त्यहाँ रहेका सुरक्षा गार्डलाई डाक्टर कहाँ हुनुहुन्छ भनेर सोध्दा अस्पताल बाहिरका क्लिनिक देखाइयो,’उनले भनिन्,‘अनि मैले बच्चालाई अस्पतालको गेटमै रहेको मेडिकलमा लगेर देखाए।’
सेती प्रादेशिक अस्पताल अगाडि रहेको युग क्लिनिकमा पनि भिडभाड उस्तै थियो। युग क्लिनिकमा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर हेमराज पाण्डे थिए। उनी सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पनि हुन्। बिरामी बहिनीको उपचारका लागि कञ्चनपुर पुनर्वासबाट धनगढी आएकी कल्पना रोकायाले सेती अस्पतालमा डाक्टर नभेटिएपछि अस्पताल बाहिरको युग क्लिनिकमा उपचार गराइरहेको बताइन्। ‘सेती अस्पतालमा सस्तोमा उपचार हुन्थ्यो,’उनले भनिन्,‘निजीमा त डाक्टरकै पर्चाको मात्रै पाँच सय तिर्नुपर्यो।’
मोहन्याल गाउँपालिकाका गोविन्द माझी सरकारी अस्पतालमै गुणस्तरीय सेवा पाइने भए निजीमा महँगो शुल्क तिर्नु नपर्ने बताउँछन्। धनगढी सन्तोषी टोलका भानुभक्त पौडेलले डाक्टरहरू सेती अस्पतालमा भेटिए निजी अस्पतालमा जानु नपर्ने बताउँछन्। प्रादेशिक अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो बढ्दै गएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले कार्यदल गठन गर्यो। सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सेती प्रादेशिक अस्पतालको सेवा प्रभावकारी बनाउन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको नेतृत्वमा कार्यदल गठन गरिएको बताए।
‘सेती प्रादेशिक अस्पतालमा सेवा प्रभावकारी नभएको गुनासाहरू बढ्दै गएपछि कार्यदल गठन गरेका छौँ,’उनले भने,‘कार्यालय अवधिभर अस्पतालमा कर्मचारी अथवा चिकित्सक नबसे कारबाही हुन्छ।’ तर कार्यदलकै पाण्डे नीजि क्लिनिकमा भेेटिन्छन्।