चाडबाडलाई लक्षित गर्दै यहाँका यातायात ब्यबसायीहरुले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ । अन्य समय भन्दा चाडबाडका बेला सवारी दुर्घटना बढी हुने गरेको भन्दै चालक, सहचालक र सरोकार वालाहरुलाई लक्षित गर्दै ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको सुन्दर सुदुरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।
उनले सम्पूर्ण चालकहरूलाई आफ्नो सवारीसाधनलाई चेकजाँच गरेर मात्रै संचालन गर्न आग्रह गरे । ट्राफिक सचेतना कार्यक्रममा विभिन्न वक्ताहरूले ट्राफिक प्रहरीले चिट मात्रै नकाटेर सवारीको अवस्था, यात्रुहरुको चाप लगायत दुर्घटना न्यूनीकरणका उपाय बारे जानकारी गराउने काम समेत गर्नु पर्ने बताएका थिए ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरूसोत्तम कंडेलले सबैले चाडबाड मनाउने गरि सवारी चालकलाई सावधानीपुर्वक सवारी संचालनका लागि आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिआइजी कंडेलले चाडबाडका बेला सबैले घरमा आफन्तहरु कुरेर बसेको बताउदै सवारी चलाउनु पुर्व सवारीसाधनको अवस्था हेरेर मात्रै संचालन गर्न आग्रह गरे ।
कार्यक्रममा कोभिड-१९ महामारीका बेला यातायात मजदुरका लागि उल्लेख्य भुमिका खेलेको भन्दै सुन्दर सुदुरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटालाई सम्मान गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा लकडाउनका बेला पेट्रोलियम ढुवानीमा अहोरात्र खटिई सेवा पुर्याएको भन्दै ट्यांकर चालक पुष्कर गुरुङलाई समेत सम्मान गरिएको थियो । धनगढीको बसपार्कमा आयोजना गरिएको ट्राफिक सचेतना कार्यक्रममा सवारी चालक, सहचालक, अटो चालक, विभिन्न मजदुर संगठनका सदस्यहरु लगायतको उपस्थित रहेको कार्यक्रममा उत्कृष्ट चालक तथा सहचालकलाई सम्मान गरिएको थियो ।