कञ्चनपुर भीमदत्त नगरपालिका-९ ब्रह्मदेवमा कल्भर्ट निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ। ब्रह्मदेव बजारको पश्चिमतर्फको नेपाली भूमिमा रहेको नाला दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो। निर्माण रोक्न दुईजना एसएसबीका जवानलाई खटाइने गरिएको छ।
ब्रह्मदेवको सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजारसम्म बनाउन लागिएको सडक कालोपत्रेअन्तर्गत नालामा कल्भर्ट बनाउन लागिएको छ। तर एसएसबीले अवरोध गरेपछि सात महिनादेखि कल्भर्ट निर्माण अवरुद्ध छ। भीमदत्त नगरपालिकाले बाह्य चक्रपथअन्तर्गत सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजार पश्चिम कुनासम्म नालीसहितको ६७० मिटर सडक निर्माण भैरहेको छ। ‘नालामा कल्भर्ट बनाउन सुरु गर्दा एसएसबी आएर दशगजामा पर्यो भनेर काम अघि बढाउन दिएको छैन‚’ सडक निर्माण कम्पनी कैलाश राखी जेभीका सञ्चालक चन्द्र सिह कार्कीले भने, ‘कल्भर्ट निर्माण गर्न दिइएको छैन। त्योबाहेकको कार्य अगाडि बढेको छ।’
कार्कीले सडक निर्माणका लागि एक करोड ९५ लाख रुपैयाँमा ठेक्का लिएको छ। गत वर्षदेखि निर्माण सुरु गरिएको ठेक्का सम्झौता असोजमा सकिन लागेको छ। भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथले एसएसबीले अनावश्यक रुपमा कल्भर्ट निर्माण कार्यमा अवरोध गरेको बताए।