कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन । केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन ।
नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए ।
‘माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पीसीआर रिपोर्ट हेरेर मात्रै भारतीयलाई आउन दिइन्छ’ ।उनले भने, ‘पूर्णरुपमा अझै सहज भइसकेको छैन ।’ उनले भारतीय सवारी साधन भने अझै आउन रोक लगाइएको बताए । भारतीयहरू महेन्द्रनगर बजार क्षेत्रमा व्यापारिक कारोबार, घुम्नका साथै धार्मिक भ्रमणका लागि बढी मात्रामा आउने गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले व्यावसायिक हिसाबले नाका सहज बनाउनुपर्ने बताए ।