‘कतिले ढोका खोल्नुस्, हामी हाम फाल्छौं समेत भने’
2021/09/27, 5:18
 
dd

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा गियर समस्या देखिएपछि करिव दुई घण्टा आकाशमा उडेको थियो । आकाशमै झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित तरिकाले अवतरण गरिएको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए ।  

बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरमा एजी शेर्पा क्याप्टेन थिए । उक्त जहाजमा ७७ जना सवार थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए ।  बुद्ध एयरमा सवार यात्रुमध्ये प्रताप लिम्बु एक हुन् । उनले ठूलो दुर्घटना जोगिएकोमा यसरी साँटे खुसी:

बिहान काठमाडौंबाट उडान हुँदा सबै ठीक थियो । विराटनगर पुग्नै लाग्दा थोरै समस्या भएको सूचना दिएपछि ल्यान्डिङ गर्न सकिएन । क्याप्टेनको टिमले ६/७ पटक नै प्रयास गर्नुभयो । यसपछि सम्भव नभएपछि काठमाडौं फर्कियो । यति बेलासम्म म डराएको थिएन । तर, जहाजभित्र त्रास फैलिसकेको थियो । सबैजना रुन थालिसकेका थिए । कतिले भगवान पुकारी रहेका थिए । काठमाडौं फर्किएपछि पनि ८/१० पटक प्रयास गर्नुभयो । जब मैले प्लेनबाट विमानस्थलभित्र नेपाली सेना, सुरक्षाकर्मी, एम्बुलेन्स देखेँ यसपछि अब बाँच्दिन भन्ने लाग्यो ।  

यसपछि जीन्दगी यति नै रहेछ भन्ने लाग्यो ।  कतिले ढोका खोल्नुस हामी हाम फाल्छौं समेत भने । तर, एयरहोस्टेजले नआँतिनुस्, सम्हालिनुस्  सुरक्षित अवतरण हुन्छ, भनिरहेको थियो । यसपछि झन मनमा चिसो पस्यो । बाँचियो भने फेरी भेटौला भनेर घरमा म्यासेज टाइप गरेको थिए । धन्न सुरक्षित अवतरण भयो र बाँचियो । अर्का महिला यात्रु महिलाले आफ्नो बच्चालाई काखी च्यापेर अब नबाँच्ने भयो भनेर रोएको सुनाइन् ।