बुद्ध एयरमा ७७ जनाको ज्यान जोगाउने क्याप्टेन को हुन् ?
2021/09/27, 5:20
 
dd

सोमबार बुद्ध एयरको जहाजलाई ठूलो दुर्घटनाबाट सुरक्षित अवतरण गर्ने क्याप्टेन को हुन् भन्ने चर्चा हुन थालेका छ ।  बुद्ध एयरको जहाजलाई सकुशल अवतरण गराउने वरिष्ठ क्याप्टेन हुन् आङ गेलु शेर्पा । उनले आज चालक दलसहित ७७ जनाको ज्यान जोगाए । 

सोलुखुम्बुमा जन्मिएका शेर्पा १५ वर्षदेखि हवाई उडान क्षेत्रमा रहेका छन् । आफू बाँचेर अरूलाई पनि बचाउन सफल भएको भन्दै क्याप्टेन शेर्पालाई सामाजिक सञ्जालमा धेरैले बधाईसहित उनको उडान विज्ञताको प्रशंसा गरेका छन् । पर्यटन व्यवसायी तेन्जिङ शेर्पा लेख्छन्, ‘बुद्ध एयरको जहाजलाई सकुशल अवतरण गराउन सफल हुनु भएकोमा वरिष्ट पाइलट क्याप्टेन आङ गेलु शेर्पा ज्यूलाई धन्यवाद । ठूलो दुर्घटनाबाट जोगाएर ७३ जनाको ज्यान बचेको छ । एक कुशल अनुभवी पाइलटको विज्ञताको प्रशंसा गर्दछु ।’ 

यस्तै, अर्का पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले क्याप्टेन शेर्पाको भूमिकाको उच्च प्रशंसा गरेका छन् । साथै, दुर्घटनाबाट जोगिएको बुद्ध एयरमा सवार पुष्कर मानन्धरले क्याप्टेन शेर्पालाई भगवानको उपमा दिएका छन् । उनले लेखेका छन्, ‘बाँचिदैन भन्ने लागेको थियो । त्यही बेला क्याप्टेनले विमान सुरक्षित अवतरण गरेपछि बल्ल राहतको सास फेर्‍यौं​ । हामीलाई बचाउने क्याप्टेनलाई धेरै धेरै धन्यवाद ।’