सुदूरपश्चिममा पछिल्लो २४ दिनमा मात्रै २५९ जनामा कोरोना पुष्टि
2020/06/14, 5:46
 
korona

सुदूरपश्चिममा हालसम्म २६४ जनामा कोरोना पुष्टि भएको छ । चैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित भेटिएकोमा पछिल्लो २४ दिनमा कोरोनाका संक्रमित तिव्र रुपमा देखा परिरहेका छन् ।

१७ दिनमा भेटिएका ५ जना संक्रमित कोरोनालाई जितेर घर गईसकेका छन् । तर पछिल्लो जेठ ९ गतेदेखि जेठ ३२ गतेसम्म देखिएका अधिकांश संक्रमितहरु उपचार गराईरहेका छन् । उनीहरुमा पनि २२ जना भने कोही निको भएर र कोही कोरोनाको लक्षण नदेखिएर घर फर्किएका छन् । वाँकी संक्रमितहरुको सुदुरपश्चिमका विभिन्न अस्पताल र कर्णालीको सुर्खेत अस्पतालमा उपचार भईरहेको छ । 

जेठको २४ दिनमा दुई सय ५९ जना कोरोना संक्रमित थपिएका हुन् । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो ।

त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन्। त्सपछि जेठ ९ गते सुदूरपश्चिमका ५ जना संक्रमित फेला परेका थिए भने त्यसपछि दैनिक रुपमा संक्रमितको सङख्या बढ्दै गएको हो । जेठमा मात्रै भारतबाट एक लाख १६ हजार बढी नेपाली सुदूरपश्चिम फर्किएका छन् भने उनीहरु मध्ये चार हजारको मात्रै कोरोना परीक्षण भएको छ । 

उनीहरु मध्ये दश बाह् जना वाहेक अधिकांश संक्रमितहरु भारतबाट आएका रहेका छन् । अन्य संक्रमितहरु पनि भारतबाट आएकाहरुको सम्पर्कबाट संक्रमित भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।