देउवाविरुद्ध पौडेल पक्षको मोर्चाबन्दी, शेखरसहितका नेता डडेल्धुरा जाँदै
2021/10/02, 7:24
 
dd

कांग्रेसमा चलिरहेको क्रियाशील सदस्यता विवाद र अधिवेशनको धाँधलीलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी बढाएको छ।  यही मोर्चाबन्दीका क्रममा वरिष्ठ नेता पौडेल समूहका केही नेताहरु सभापति एवम् प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा जाने भएका छन्। 

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनशनरत डडेल्धुरा कांग्रेसका नेता कार्यकर्तालाई साथ दिन डा. शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जान लागेका हुन्।   डा. कोइरालाको नेतृत्वमा नेताहरु अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य डडेल्धुरा जान लागेका हुन्। 

डा. कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार उनीहरु आइतवार काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुग्नेछन्। त्यहाँबाट उनीहरु सडकमार्गबाट डडेल्धुरा जानेछन्।

के हो विवाद ? 

देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला कार्यसमितिको असहमतिबीच गाउँपालिका-नगरपालिका वडा अधिवेशन गरिएको थियो।  वरिष्ठ नेता पौडेलले डडेल्धुरामा जिल्ला कार्यसमितिको सहमति र सहभागिताबिना वडा अधिवेशन गरिएपछि धाँधली आरोप लगाइरहेका छन्।  उनले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले डडेल्धुरामा प्रशासनिक शक्तिको दुरुपयोग गरेर अधिवेशन गराएको पनि आरोप लगाएका छन्। पौडेलले प्रशासनिक शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गराएकाले त्यसलाई बदर गर्नुपर्ने बताइरहेका छन्। 

कांग्रेसको इतिहासमै आन्तरिक निर्वाचनमा शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक भएको उनले बताइरहेका छन्।  नेपाली कांग्रेस डडेल्धुराले पनि यसअघि नै एकलौटी रुपमा गरिएको वडा अधिवेशन स्वीकार नगर्ने बताइसकेको छ।  जिल्ला सभापति कर्णबहादुर मल्लले समन्वय नै नगरी निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले गरेको वडा अधिवेशन स्वीकार नगर्ने बताइसकेका छन्।

‘जिल्ला कार्यसमिति डडेल्धुराले आफूहरुको आग्रहलाई बेवास्ता गर्दै देउवा पक्षले गत भदौ २५ गते राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै देउवाको हस्तक्षेपमा धाँधली गर्दै अधिवेशन गरेको आरोप लगाइरहेको छ।  उक्त प्रक्रियालाई पौडेल समूहले पूर्ण अवैधानिक, एकपक्षीय अलोकतान्त्रिक रहेको बताउँदै पुन:अधिवेशन गर्नुपर्ने अडान राखेको छ।

अनशन 

त्यही निर्वाचनलाई लिएर जिल्ला पार्टी कार्यालयस्थित किसुनजी भवनमा १० दिनदेखि कांग्रेस कार्यकर्ता अनशनमा छन्।  क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते देउवा पक्षले पेलेर अधिवेशन गरिसकेको छ। त्यसलाई खारेजीको माग गर्दै उनीहरुले रिले अनशन बसिरहेका छन्। 

देउवाले हस्तक्षेप गरेर अवैधानिक वडा र पालिका अधिवेशन गराएको भन्दै बदर गरी नयाँ मिति तोक्नुपर्ने माग राखेर जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले अनशन थालेको छ।  उक्त अनशनमा ऐक्यबद्धता जनाउँदै सम्बोधन गर्न केन्द्रीय नेताहरु डडेल्धुरा पुग्ने भएका हुन्