चाडपर्वको बेला हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि हरेक वर्ष देशैभरि विशेष सुरक्षा योजना लागू हुँदै आएको छ । चाडपर्वमा अरु बेलाकोभन्दा बढी भीडभाड हुने गरेकाले यस्तो बेला विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावना रहन्छ । र, विभिन्न घट्ना हुँदै पनि आएको छ । सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको हो । नेपाल सरकार गृहमन्त्रालय, प्रदेश प्रहरी र जिल्ला प्रशासन कार्यालयले लागू गरेको योजना अनुसार जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘चाडपर्वमा भीडभाड भएपछि झैझडा हुने, चोरी, तस्करी हुने, कालोबजारी हुने गर्दछ । चन्दा असुल्ने, जुवातास खेल्ने, अनलाइनमार्फत ठगी गर्ने, सवारी दुर्घटना हुने जस्ता घटना पनि हुन्छन्’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने । ‘यस्ता दुर्घटनाको आँकलन गरेर जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको छ ।’ १०१ किलोमिटर भारतसंग खुला सिमाना रहेको कैलालीमा पनि प्रहरीले दशैं, तिहार, छठ लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । खुला सिमानाका कारण यो जिल्ला बढी संवेदनशील पनि मानिन्छ । त्यसैले यो जिल्लालाई दुई भागमा विभाजन गरेर जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकाभित्रलाई एक क्षेत्र र जिल्लाको बाँकी १२ वटा स्थानीय तहलाई समेटेर अर्को क्षेत्र बनाइएको छ । क्षेत्र विभाजन गरेर प्रहरीको चेक प्वाइन्ट, क्वीक रेस्पोन्स टिम, सर्पराइज चेकिङ टिममार्फत सुरक्षा प्रदान र चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरी, शादा पोशाकका प्रहरी, मोबाइल टिम पनि परिचालन गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिकाभित्र तीन सय प्रहरी जनशक्ति र धनगढी उपमहानगरपालिकाबाहेक बाँकी अन्य क्षेत्रमा सुरक्षाका लागि साढे सात सय प्रहरी जनशक्ति परिचालन गरिएको छ । यो बाहेक प्रदेश सरकारले राजमार्ग क्षेत्रमा जडान गरेको ९० गरी १७० वटा सीसी क्यामेरामार्फत पनि निगरानी गर्ने प्रहरीले जनाएको छ । ‘विशेष गरेर हाइवे क्षेत्रमा रहेको सीसी क्यामेरामार्फत सो क्षेत्रमा निगरानी हुन्छ’, अधिकारीले भने ।
खुला सिमाना रहेका कारण सीमा क्षेत्रमा चोरी तस्करी, लागुऔषधको ओसारपसार, तिहारका लागि विष्फोटक पदार्थको ओसारपसार हुने गरेको छ । त्यस्ता सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, अपराधीमाथि प्रहरीले आकाशबाटसमेत निगरानी गर्ने भएको छ । नेपाल–भारत ओहोरदोहोरको क्रममा सीमामा कैयौं व्यक्ति, लुटिने ठगिने गरेकाले त्यस्ता घटनालाई निगरानीका लागि ड्रोन क्यामेराको प्रयोग गर्ने प्रहरीले जनाएको छ । सीमा क्षेत्रमासमेत ड्रोन क्यामेरा उडाएर आपराधिक क्रियाकलाप गर्ने व्यक्तिमाथि प्रहरीले आकाशबाट पनि निगरानी गर्ने प्रहरी उपरीक्षक अधिकारीले बताए । ‘सीमा क्षेत्रमा ठगी नहोस भनेर ड्रोनको प्रयोग गर्छौ’, उनले भने । ‘साथै, भारतीय अधिकारीसंग काउन्टर पार्ट मिटीङ पनि राखेका छौं ।’
चाडपर्व लक्षित सुरक्षा योजनाका लागि सुरक्षाका अन्य निकायसंग पनि समन्वय हुने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्लामा साढे सात सय सशस्त्र प्रहरी पनि खट्ने विशेष सुरक्षा योजनामा रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । यसका अतिरिक्त राष्ट्रिय अनुसन्धानको टोली पनि खट्ने जनाइएको छ । ‘चाडपर्वमा हुने सम्भावित घट्ना, दुर्घटना न्यूनीकरणका लागि २४ घण्टा प्रहरी खट्ने छ’, उनले भने ।
चाडपर्वको बेला सवारी दुर्घटना पनि बढी हुने गर्दछ । दुर्घटनाका कारण कैयौंले पर्वसमेत मनाउन नपाउने गरेका छन् । चाडपर्वमा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा टाइम कार्ड लागू गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गाडी सीमित गतिमा चलाइयोस भनेर यो कदम अगाडि सारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, ट्राफिक र नेपाल प्रहरी संयुक्त रुपमा नियमित चेकजाँच भइरहेको, लामो दूरीमा चल्ने सवारी साधनका चालकका लागि रिफ्रेस सेन्टर निर्माण गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । विभिन्न ठाउँमा यात्रुहरु समस्यामा पर्न सक्ने अवस्थालाई मध्यनजर गरेर विशेष सुरक्षा अन्तर्गत विभिन्न ठाउँमा यात्रु सहायता कक्षपनि रहने उनले बताए ।
चाडवाडको बेला घर, पसलमा चोरी पनि हुने गर्दछ । त्यस्ता घटना न्यूनीकरणका लागि सुरक्षाको जिम्मेवारी सबैको रहेको प्रहरीले जनाएको छ । घरमा चोरी हुन नदिन सुरक्षाको पहिलो जिम्मेवारी व्यक्ति आफू, परिवार, समुदाय र त्यसपछि प्रहरीको रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । उनले कसैले शंकास्पद् गतिविधि गर्ने बित्तिकै प्रहरीलाई खबर गर्न आग्रह गरे ।