मनसुन बाहिरिन लाग्दा पनि कैलालीको भजनीका बासिन्दालाई बाढीको त्रासले सताइरहेकै छ, किनकि गत वर्ष असोज-कात्तिकमा घरखेत बगाएको पीडा बिर्सन सकेका छैनन्। आकाशमा बादल मडारिन थाल्यो कि कैलालीको भजनी नगरपालिका–१ का किसानलाई छटपटी हुन्छ। बाढीको त्रासले निन्द्रै नलाग्ने गरेको सुनाउँदै स्थानीय रशिला चौधरी भन्छिन्, “धान भित्र्याउन नपाएको वर्षौं भयो। हरेक वर्ष घरखेत बगाइहाल्छ।”
३० वर्षीया रशिला सानैदेखि बाढीको पीडा देख्दै र भोग्दै आएकी छन्। २०६४ को बाढीको पीडा भने बिर्सिन सकेकी छैनन्। त्यसयता उनले धान भित्र्याउन पाएकी छैनन्। “कुनै वर्ष साउन-भदौमैै बाढी आउन, कुनै वर्ष असोज-कात्तिकसम्म पनि दुःख दिन्छ,” गत वर्षको बाढी सम्झिँदै उनी भन्छिन्, “पाकेको धान लग्यो। घर भत्कायो। हरेक वर्ष फेरि घर बनाउनुपर्छ।” उनको जस्तै पीडा ३१ वर्षीया शोभा चौधरी पनि सुनाउँछिन्। “खेत त छ, तर धान भित्र्याउन पाउँदैनौं। फोहोर साल त एक मुठ्ठी धान पनि जोगिएन,” शोभा भन्छिन्। यहाँका किसानले डेढ दशकयता धानी भित्र्याउन पाएका छैनन्। कहिले पाक्नै लाग्दा त कहिले पाकेपछि बाढीले बगाइहाल्छ। दुई-तीन वर्षयता चैते धान रोप्न थालेका छन्।
यो वर्ष त छिट्टै पानी परेर चैते धान पनि भित्र्याउन नपाएको शोभा सुनाउँछिन्। “धान पाक्ने समयमा लगातार पानी प¥यो। जेठ-असारमै बाढी आयो। भिजेको धान अलिअलि जोगियो,” उनी भन्छिन्। बाढीका कारण घरमा पानी पस्दा अन्न जोगाउने, बच्चा स्याहार्ने, लुगाकपडा थन्क्याउनै मुस्किल हुने उनी बताउँछिन्। १४ साउनमा आएको बाढीले भजनी नगरपालिका-९ खुरह्रिया टोलका सीताराम चौधरीको घर र खेत पुरै डुबानमा पर्यो। भत्किन लागेको दुईकोठे कच्ची घर थामथुम पारेर ओत लागिरहेको उनी सुनाउँछन्।
उनी भन्छन्, “घरसँगै रहेको धानखेत फूटबल मैदान जस्तै सफा भयो।” धाना लहलहाउने वेलामा बाढीले बगाएपछि अब कसरी जोहो गर्ने भन्ने चिन्तामा रहेको उनी बताउँछन्। “मेरो त सबैथोक यहि खेत थियो, केही बाँकी रहेन,” सीताराम भन्छन्। अझ उनलाई अर्को चिन्ताले सताएको छ, ऋण। साहुबाट ऋण लिएर खेती गरेका थिए। “फसल हेरेर ऋण दिने गर्छन्। अब कसरी ऋण तिर्नु?” उनी दुःखेसो गर्छन्।
खुरह्रिया टोलका अर्का स्थानीय रामबहादुर चौधरीलाई ज्यान जोगाउन सकिएकोमा खुशी लागेको छ। बाढीले पूरै खेत बगाएको बताउँदै उनी भन्छन्, “बर्खे धान त सधै बगाउँछ। यस पटक चैते धान पनि जोगिएन।” अहिलेदेखि नै खाद्यान्न अभाव हुन थालेको उनी बताउँछन्। यो कैलालीका दक्षिण क्षेत्रका बासिन्दाको पीडा हो। १४ साउनमा आएको बाढीले पनि ६ हजारभन्दा बढी परिवार प्रभावित भए। स्थानीय मोहना, कान्द्रा, पथरैया, काँढा, कर्णालीलगायत नदीमा बाढी आउँदा भजनी र टीकापुर नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकाका बासिन्दा प्रभावित भए।
केही वर्षदेखि यो क्षेत्रका बासिन्दाले लगातर बाढीको पीडा भोग्दै आएको भजनी नगरपालिका मेयर शेरबहादुर चौधरी बताउँछन्। उनी बाढी आउनको कारण नदीजन्य क्रियाकलाप भएको बताउँछन्। ढुंगा, गिट्टी र बालुवा उत्खननले नदीको सतह माथि आएको उनी बताउँछन्। यससँगै खोलानाला अतिक्रमण र वनजंगल फँडानीका कारण क्षणभरको वर्षातले नदी भरिने र बाढी गाउँमा पस्ने गरेको उनी बताउँछन्।
नदी कटानले छेउछाउका गाउँको उठीबास लाग्ने अवस्था आएको उनको भनाइ छ। “बाढीले नदी छेउको जमिन बगरमा परिणत भएको छ। लगभग ३५ विघा जमिनमा उखु खेती गर्न लगाएका छौ,” उनी भन्छन्। गतवर्ष मात्रै भजनीमा बाढीले तीन जनाको ज्यान गएको थियो भने हजारौं विस्थापित भएका थिए। उनीहरू डुबानको त्रासले अझै घर फर्किन सकेका छैनन्। कोही हुलाकी राजमार्ग छेउछाउमा पाल टाँगेर बसेका छन् भने कोही मोहन्याल सामुदायिक वनमा सानो–सानो छाप्रो हालेर बसेका छन्।
कति वेला बाढी गाउँमा पस्छ भन्ने ठेगान भएकाले विस्तापित घर फर्किन नसकेको स्थानीय रविन थापा सुनाउँछन्। “२० वर्ष अघि यहाँका नदी नाला एकदमै गहिरा थिए। हरियाली वनजंगल थियो, तर अहिले नदीनालाको ढिकमा बस्ती बस्यो, नदी पुरै माथि आयो र जंगल पनि सखाप भयो,” थापा भन्छन्। जसले गर्दा बाढी आउने गरेको उनको भनाइ छ।
गत वर्ष भजनी नगरपालिका क्षेत्रमा मात्रै चार हजार बिघाभन्दा बढी क्षेत्रफलमा रोपिएको धानबाली नष्ट भएको थियो। खेतमा बाँकी रहेको धानबाली पनि हप्ता दिनसम्मको डुबानले काम नलाग्ने भएको थियो। यस वर्ष पनि यहाँका बासिन्दाको त्रास कम भएको छैन। असोजमध्यतिर ढुक्क हुन सकेका छैनन्। केही दिनदेखि हल्ला पानी पर्न थालेपछि त्रास झन बढेको स्थानीय बासिन्दा बताउँछन्। “मौसमको कुनै भर लाग्दैन। कति खेर के हुन्छ, पत्तो हुँदैन,” स्थानीय रशिला चौधरी भन्छिन्, “असोज–कात्तिकमा पनि बाढी आउँछ। अझै यो वर्षको दुःख गएको छैन।”
‘नदी कटान रोक्ने योजना ल्याउँछौं’
भजनी नगरपालिका मेयर शेरबहादुर नदी कटान रोक्ने कोसिस गरिरहेको बताउँछन्। “पूरै नगरपालिकालाई बाढीबाट जोगाउन जैविक तथा पक्की तटबन्धन गरिरहेको छौं,” उनी भन्छन्। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी पनि बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले अल्पकालीन र दीर्घकालीन योजना अगाडि बढाउने बताउँछिन्। भजनीकी बासिन्दा समेत रहेकी उनी अल्पकालीन कार्यक्रम अन्तर्गत राहत, त्रिपाललगायत सामग्री वितरण गरिएको बताउँछिन्।
अब दीर्घकालीन कार्यक्रमको रुपमा एकीकृत कृषि प्रणालीको व्यवस्था गरिने उनको भनाइ छ। “बर्खामा बाढीले जोगिँदैन भन्ने जानीऔजानी बर्खे खेती किन गर्ने? बर्खामा खाली छोडेर अरु सिजनमा खेती प्रणालीको व्यवस्थापनमा छौं,” मन्त्री चौधरी भन्छिन्, “सहुलित दरमा कृषि उपकरण, बिउबिजन, सिँचाइको व्यवस्था गरी हिउँदे खेतीसँगै चैते धान, मकै खेती, उखु खेतीमा प्रोत्साहनका कार्यक्रम ल्याउने तयारीमा छौ।”