सुदूरपश्चिमका प्रदेशमा हराए घट्ट र कोल
2021/10/03, 8:55
 
ss

सुदूरपश्चिमका प्रदेश पहाडी जिल्लामा दशकअघि तोरी पेल्न कोलको प्रयोग गरिन्थ्यो । धान कुट्न ओखल, पिठो बनाउन पानीघट्ट, अनि दाल ढुट्याउन जाँतो चलाइन्थ्यो । तर, हिजोआज यिनको प्रयोग विरलै हुन्छ ।  बाजुरा गौमुल गाउँपालिका–४, पडिकोटकी ६४ वर्षीया बिउरी रोकाया घरको आँगनमा आवश्यक चामल ओखलमा कुटेर भान्सा चलाउँछिन् । तर, अन्य महिलाले ओखल छुन छाडेको धेरै भइसक्यो । उनीहरू धान कुट्न मिलतिर धाउँछन् ।

बिउरीले भनिन्, ‘अहिलेका महिलालाई आनन्द छ । धान कुट्न बल पर्दैन, पिठो बनाउन घट्ट कुर्नु पर्दैन र तोरी पेल्न कोल घुमाउनु पर्दैन । बाहाड (मोज) छ । हाम्रो उमेरमा बिहानै उठेर जाँतोमा दाल पिस्ने, धान मानाले भरेर, सुपोमा हालेर, ओखल बजाउनुपर्थ्यो, अब त्यो जमाना गयो ।’

सोही गाउँकी नन्दा रोकाया भन्छिन्, ‘हाम्रो घरमा भएको ओखल पनि खासै प्रयोग हुँदैन । गाडीमा धान र अरू अन्न लिएर मिलमा पठाउँछौँ । त्यहाँ केही समयमै कुटानी, पिसानी भएर अनाज घर पुग्छ । किन यसमै दुःख गर्नु हामीलाई? अहिले आराम भएको छ ।’ मिलमा कुटेको खाने कुरा कम स्वादिष्ट भए पनि सजिलोका लागि मिलनै राेज्नु परेकाे अर्की स्थानीय ​रमिला रोकायाले बताइन् । 

‘मिलमा कुटेको खाने कुरा अलिक कम स्वादिष्ट हुन्छ । तर, पनि सजिलो र चाँडोका लागि हामीले मिलकै सहारा लिन थालेका हौँ । पहिलेका महिलाले साह्रै दुःख पाएका रहेछन् । बिहानै उठेर ओखल, मुसलसँग खेल्नुपर्ने बाध्यता थियो,’ उनले भनिन् ।

जिल्लाको बडिमालिका नगरपालिकाका टेकबहादुर रावल भन्छन्, ‘पहिले बारीभरि तोरी लगाइन्थ्यो । त्यसले वर्षभर पुग्ने तेल कोलमा पेलेर राख्ने, त्यसको पिना नुहाउन प्रयोग हुन्थ्यो । तर, अहिले कोल हुने डाँडाहरू नाम मात्रका छन् । बजारबाट आउने प्याकेटका तेलले त्यो सबै सक्यो । न बारीमा तोरी छ, न डाँडामा कोल ।’ 

बजारमा सजिलै तेल खरिद गर्न पाइने भएपछि खर्चिलो समय, तेल पेल्न अप्ठेरो भएकाले तोरी खेती कम हुँदै गएको छ । किसानलाई मिसावटयुक्त पोका तेलबाट स्वास्थ्यमा हुने बेफाइदाका बारेमा भने जानकारी छैन ।  अहिले तोरी खेती कम हुँदै गएको छ भने परम्परागत रूपमा तेल निकाल्न प्रयोग हुने कोल पनि लोप हुँदै गएको पाइन्छ । तोरीको व्यावसायिक खेती नहुँदा किसानलाई घाटा भएको बारेमा भने कसैले सोचेको देखिँदैन । खर्चिलो हुने भएपछि तोरी रोप्न छाडेर पोकाको तेल प्रयोग गर्न थालेको हिमाली गाउँपालिका-५, बोल्ढीकका देवी पाण्डेले बताए ।

‘पहिले अन्य तेल पाइँदैन थियो । तोरीखेतीबाटै तेल उत्पादन गरिन्थ्यो । अहिले पोका तेलले किसानलाई अल्छी बनाएको छ,’ उनले भने ।  हाल गाउँघरमा पहिलेको तुलनामा करिब १० प्रतिशतले मात्र तोरीखेती गर्ने गरेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।  जिल्लाका अधिकांश गाउँ तोरी खेतीका लागि उपयुक्त रहेको केन्द्रको भनाइ छ । तोरी खेती कम भएसँगै तेल पेल्ने कोल पनि लोप भएको छ भने माहुरीको संख्या पनि घट्दै गएको किसाहरूकै अनुभव छ ।

आफ्नै बारीमा उत्पादित तोरी खेतीको महत्व नबुझ्दा किसानले यो खेती छोडेका छन् । अब यसको महत्वबारे जानकारी गराइने त्रिवेणी नगरपालिकाका कृषि शाखा प्रमुख मानबहादुर रावलले बताए । तोरी खेती बढाउँदा जिल्लाबाट बाहिरिने धेरै आर्थिक स्रोत बचत हुने उनले बताए । सोही कारण कृषकलाई यसको महत्व र फाइदा बुझाउने तथा व्यवसायी बनाउन सके तोरी खेतीतर्फ आकर्षित गर्न सकिने उनी बताउँछन् ।

स्वामीकार्तिक खापर गाउँपालिकाका ६४ वर्षीय कान्तबहादुर शाहीले भने, ‘यसरी परम्परागत सामग्रीको प्रयोग प्रविधिका हिसाबले कम प्रयोग हुनु राम्रो हो । समयको बचत हुन्छ । किफायती पनि हुन्छ । तर, आफ्नो परम्परा छोडेर सबै बाहिरको भरमा पर्दा हाम्रो समाज परनिर्भरतातर्फ पो डोरिने हो कि ?’  बाजुरा मात्र होइन सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लामा परम्परागत रूपमा प्रयोग हुने कोल, घट्ट, जातोलगायतको प्रयोग विस्तारै शून्यमा झर्दै गएको छ ।