गौरीफन्टा र गड्डाचौकी नाका पूर्णरुपमा खुले
2021/10/04, 3:04
 
dd

सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र गड्डाचौकी झन्डै लामो समय पछि पूर्णरुपमा खुलेका छन् । कोरोनाका कारण बन्द रहेका यी नाका शनिबारदेखि पुर्ण रुपमा खुला भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।

“नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुल्ला गर्ने निर्णय गरेको थियो र सोही निर्णयलाई कार्यान्वयन गर्ने गरी हामीले पनि नाका खुल्ला गर्ने निर्णय गरेका छौँ,” प्रजिअ पाण्डेले भने, “तर आवतजावत गर्दा भने स्वास्थ्यका मापदण्ड पुर्ण रुपमा पालना गर्न भनेका छौँ ।”

यस अघि नाकामा भारतीय सवारीमा लगाइएको रोक लगाईउको थियो । तर गत शनिबार बाट त्यो समेत हटिसकेपछि दुवै नाका पूर्णरुपमा सञ्चालनमा आएका हुन् । अब दुवै देशका नागरिक र सवारी साधन निरवाद रुपमा आवतजावत गर्न पाउने प्रजिअ  पाण्डेले बताए ।

“यसअघि नाका आंशिक रुपमा मात्रै सञ्चालनमा आएको र भारतीय नागरिक र सवारी साधनलाई नेपाल प्रवेश गर्न रोक लगाएको थियो, भने तर नेपालीहरू भने भारत जानमा कुनै रोकटोक गरिएको थिएन ।सीमा नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै नेपाल भारत मैत्री बस सेवा ,भारतीय सवारी साधनहरू र अन्य सवारी साधन र मानिसहरू सहजै आवतजावत गर्न सक्नेछन्,” उनले भने ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीले पनि एक सुचना जारी गर्दै चाडपर्व मनाउनका लागि भारतबाट फर्किनेहरुलाई लक्षित गरेर कैलालीमा प्रवेश नाका तोकिएको छ ।जिल्ला प्रशासन कार्यालयले भारतबाट आउनेहरुलाई धनगढी उपमहानगरपालिकाको त्रिनगर र टीकापुर नगरपालिकाको खक्रौला नाकाबाट आउन दिने जनाएको हो ।

सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले हेल्प डेस्क स्थापना गरेर प्रवेशमा सहजीकरण गर्नु पर्ने प्रशासनले जनाएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण अनुसार नेपाल प्रवेश गर्न सकिने जनाएको छ ।  

नेपाल प्रवेश गर्न लागेकामध्ये शंकास्पद् व्यक्तिको एन्टिजेन विधिबाट परीक्षण गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । कोरोना नेगेटिभ रिपोर्ट आएमामात्रै प्रवेश गर्न दिइने जनाइएको छ ।

अहिले नेपालीहरुको मुख्य चार्डपर्व दशै तिहार छठ पर्व नजिकीदै जाँदा यी दुई नाकाबाट दैनिक हजारौ नेपालीहरूको भिड लाग्ने गरेको छ । सोमबार मात्रै दुवै गौरीफन्टा र गड्डाचौकी नाकाबाट करिब २ हजार नेपाली स्वदेश फर्किएका थिए भने करिब ८ सय नेपाली भारत गएको कञ्चनपुर प्रशासनले जनाएको छ ।