सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले निर्मला पन्त र अस्मिता धामीले न्याय पाउनुपर्ने बताएकी छन्। बुधबार ६६औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र डडेल्धुराकी अस्मिता धामीले न्याय पाउनुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘कञ्चनपुरकी निर्मला सवा २ वर्ष र डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणको लगभग ६ महिना पुगे पनि अझै अनुसन्धानको नतिजा आउन बाँकी छ। अपराध अनुसन्धानमा हुने ढिलाइले समाजमा थप अपराधका घटना बढ्ने र अपराधिको मनोबल बढ्दै गएर समाजमा शान्ती सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क हुन जरुरी छ। सो कार्यमा प्रहरीलाई छिट्टै सफलता मिलोस शुभकामना छ’। कार्यक्रममा मन्त्री जोशीले सहिद भएका प्रहरीका आफन्तलाई कदरपत्र प्रदान गरेकी थिइन्।