देउवालाई पौडेलको कटाक्ष–सुदूरपश्चिममा परिवर्तन सम्भव छ !
2021/10/08, 1:23
 
dd

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई कटाक्ष ट्विट गरेका छन् । शुक्रबार पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो । डडेलधुराले सन्देश दिइसक्यो !”

बाजुरा कांग्रेस जिल्ला सभापतिमा रामसिंह रावल विजय भएसँगै पौडेलको व्यंग्यात्मक ट्विट आएको हो । पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डेको गृहजिल्ला बाजुरामा रावल विजयी भएका हुन् । रावल पौडेलनिकट हुन् ।

रावलले जिल्लाको सातौँ अधिवेशनबाट सभापतिमा ३९ मतान्तरले जित हासिल गरेका हुन् । उनले देउवानिकट कविराज पण्डितलाइ पराजित गरे । रावलले ६०५ मत ल्याए । पहिलो चरणमा निर्वाचनको मत परिणाम आउन नसक्दा दोस्रो चरणमा रावल विजयी भएका हुन् । उनलाई पहिलो चरणका सभापति उमेदवार चक्रबहादुर शाहले सहयोग गरेका थिए ।

ट्विटमार्फत पौडेलले डडेलधुराको विषय पनि उठाएका छन् । डडेलधुरा सभापति देउवाको गृहजिल्ला हो । त्यहाँ भएको वडा तहकै अधिवेशन पुनः गर्नुपर्ने मग भइरहेको छ । नेता तथा कार्यकर्ताहरू ११ दिनसम्म अनशन बसेका थिए । जिल्ला सभापति कर्ण मल्ल नै वडा अधिवेशनको विपक्षमा छन् ।

डडेलधुरामा केही दिन पौडेल समूहले विरोध कार्यक्रम नै आयोजना गरेको थियो । अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, गुरु घिमिरेलगायत केन्द्रीय नेताहरू त्यहाँ पुगेर कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यसैले पनि सुदूरपश्चिममा विगतमा एकलौटी वर्चस्व रहेका केन्द्रीय सभापति देउवाको पकड गुम्दै गएको भान पौडेललाई भएको उनको ट्विटले संकेत गर्छ ।