रोजगारीको सिलसिलामा भारत पुगेका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन्। चाडपर्व मनाउनका लागि उनीहरु घर फर्कन थालेका हुन ।कोरोना महामारीका क्रममा भारत पसेका थिए, नेपाली कामदार । केही समय कमाएर दशैं, तिहार मनाउन महामारीकैबीच धमाधम फर्किरहेका छन्।
भारतको विभिन्न सहरबाट काम गरेर फर्कनेको यतिखेर नाकामा भीडभाड भइरहेको छ । विगतमा भारतबाट फर्किनेहरुकै कारण कोरोना संक्रमण बढेको थियो । नाकाबाटै नयाँ भेरियन्टसहितको कोरोना भित्रिएको थियो ।पछिल्लो सयम भारत र नेपाल दुवै देशमा सङ्क्रमण घटेको छ । यसैगरी, कैयौं व्यक्तिसहित कामदारहरुलेसमेत कोरोनाविरुद्धको खोप लगाइ सकेका छन् । धेरै हद्सम्म सङ्क्रमण घटेको र कतिपयले भ्याक्सिनसमेत लगाइसकेको अवस्थामा भारतबाट फर्कनेहरुबाट यस पटक जोखिम कति ? सबैको ध्यान त्यसतर्फ केन्द्रित छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार असोजको २० गतेसम्म गौरीफन्टा र गड्डा चौकी दुवै नाकाबाट १८ हजार १९० जना नेपाली स्वदेश फर्केका छन् । जसमध्ये १२ हजार ४७ अर्थात ६६.२२ प्रतिशत व्यक्तिको नाकामै कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये हालसम्म १२ जनामामात्रै कोरोना सङ्क्रमण पुष्टि भएको छ । अर्थात, परीक्षण गरिएकामध्ये ०.०९ प्रतिशत व्यक्तिमामात्रै सङ्क्रमण पुष्टि भएको हो । यो तथ्याङ्कले यस पटक भारतबाट फर्किरहेकामा कोरोना सङ्क्रमणको जोखिम कम रहेको देखाएको छ ।
विगतमा भारतबाटै फर्किनेमा सबैभन्दा बढी संक्रमण देखिएको थियो । नाकामा चेकजाँच नगराई चोर बाटोबाट घर पुगेकाहरुका कारण भुसको आगो झै समुदायमा कोरोना फैलिएको थियो । तर, यस पटक हालसम्मको आँकडाले भारतबाट फर्कनेहरुमा सङ्क्रमण धेरै नरहेको देखाएको छ । लाहुरेहरु गाउँ पसे भन्दैमा आत्ति हाल्नु पर्ने अवस्था नरहेको तथ्याङ्कले देखाएको छ ।
भारतबाट फर्कनेहरुमा सङ्क्रमण धेरै नपाइए पनि जोखिम भने पूर्ण रुपमा न्यून भएको छैन । अझै पनि केही व्यक्तिमा सङ्क्रमण पुष्टि भइरहेको र ३३.७७ प्रतिशत व्यक्ति परीक्षण नगराइ गन्तव्यतर्फ गइरहेकाले कोरोना सङ्क्रमणको जोखिम रहेको छ । अतः सङ्क्रमण घट्दैमा जोखिम नघटेकाले सचेत रहन जरुरी छ । विगत जस्तै सङ्क्रमण नहोस भनेर गौरीफन्टा र गड्डाचौकीसहित अरु नाकामा पनि एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्यलाई निरन्तरता दिइएको हो ।
गौरीफान्टा नाकाको हकमा जिल्ला स्वास्थ्य कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका र पुनर्वास नगरपालिकासहित दातृ निकायको सहयोगमा संयुक्त हेल्थ डेस्क निर्माण गरिएको छ । भारतबाट फर्कनेहरुको डेस्कमा विवरण संकलन गर्ने र कोरोना परीक्षण गर्ने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनले प्रायः सबैको परीक्षण भइरहेको उल्लेख गरे ।
कोरोना संक्रमण पुष्टि भएकाहरुलाई कनरी आइसोलेसनमा पठाइ रहेको उनले जनाए । यसैगरी, गम्भीर समस्या भएकालाई भने अस्पताल भर्ना गर्ने गरिएको छ । यस्तै, घर गएर होम आइसोलेसनमा बस्न चाहनेलाई घर पनि जान दिइएको छ । खासगरे, शङ्कास्पद र परीक्षण गराउन चाहेकाहरुको नाकामा कोरोना परीक्षण भइरहेको जनाइएको छ । धेरै नेपाली फर्किरहेकाले सबैको परीक्षण गर्न जनशक्ति र साधनस्रोतको अपुग भएको जनाइएको छ ।
उताबाट फर्किरहेकाहरुका कारण सङ्क्रमण नबढोस भनेर नाकामै कोरोना परीक्षणको व्यवस्था गरिएको हो । स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय र दातृ निकायहरुको समन्वयमा नाकामै कोरोना परीक्षणलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले बताए । ‘गृह मन्त्रालयको परिपत्र अनुसार शङ्कास्पद् सबैको नाकामै एन्टिजेन विधिबाट परीक्षण भइरहेको छ’, उनले भने ।
गड्डा चौकी नाकामा भीमदत्त नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको संयुक्त हेल्थ डेस्क सञ्चालनमा रहेको छ । टीकापुरको खक्रौला नाकामा टीकापुर नगरपालिका र जिल्ला स्वास्थ्यको समन्वयमा हेल्थ डेस्क सञ्चालनमा रहेको जनाइएको छ ।
भारतबाट फर्किरहेका सबै अनिवार्य रुपमा क्वारेन्टाइन बस्नै पर्ने बाध्यता भने हटाइएको छ । तर, हेल्थ डेस्कमा सोधपुछ र परीक्षण गर्ने गर्ने गरिएको छ । परीक्षण गर्दा सङ्क्रमण पुष्टि नभएकाहरुसहित शङ्कास्पद् नदेखिएका वा कुनै लक्षण नभएकाहरु घर जान पाइरहेको सूचना अधिकारी जोशीले जानकारी दिए ।
पहिलो र दोस्रो लहरको कोरोना भारतबाट फर्किएका कामदारहरुबाटै सल्किएको थियो । परीक्षणबिनै गाउँघर पुगेका उनीहरुबाट परिवार र छरछिमेकमा सङ्क्रमण फैलिएको थियो । विगतमा भएको कमजोरीबाट पाठ सिक्दै पछिल्लो समय नाकामै परीक्षणलाई जोड दिइएको छ ।
यसैगरी, भारतबाट नाकासम्म आइपुगेका नेपालीहरुलाई विभिन्न बस व्यवसायी समितिसंग समन्वय गरेर गन्तव्यसम्म पु¥याउने गरी सहजिकरण गरिरहेको प्रशासनले जनाएको छ । नाकासम्म आइपुगेका नेपाली दाजुभाईहरु बस चालक, अटो चालकबाट ठगिने, लुटिने गरेको गुनासो सुनिएपछि त्यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
‘भारतबाट फर्किने हाम्रा दाजुभाईहरुको सहजताको लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ’, उनले भने । ‘हाम्रो बढी ध्यान उतै केन्द्रित छ । यदि, कोही लुटिएको, ठगिएको उजुरी आएमा तुरुन्त एक्सन लिन्छौं ।’ त्यस्तै, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि नाकामा सुरक्षा सतर्कता बढाएको जनाएको छ ।
भारतको विभिन्न सहरबाट फर्किरहेका नेपालीहरुलाई भारतीय सवारी साधनले नाकासम्म पु¥याइरहेका छन् । यहाँ आइ पुगेकाहरुलाई स्थानीय प्रशासनले बस व्यवसायी समितिसंग समन्वय गरेर गन्तव्यसम्म पु¥याउने कार्य गरिरहेको सूचना अधिकारी जोशीले जनाए ।