सुदूरपश्चिमको मुख्यमन्त्री परिवर्तन गर्न माग
2021/10/09, 6:08
 
dd

सुदूरपश्चिममा मुख्यमन्त्री परिवर्तनको चर्चा फेरि सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस सांसदहरूले प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरिरहेका छन् । सुदूरपश्चिम सरकारबाट कांग्रेसलाई सहयोग नभएको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न माग गर्दै कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहित टोली कठमाडौँमै छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री भेट्न दलका नेता रावल सहित प्रमुख सचेतक गोबिन्द बोहरा र सांसद भरत खड्का पुगेका थिए । करिब ३० मिनेट सम्म तीन जनाले प्रदेशमा गठबन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन् । केन्द्रमा कांग्रेस र राजपासहितको गठबन्धन हुँदा प्रदेशमा ती दुवै दललाई बेवास्ता गरिएको उनीहरूले प्रधानमन्त्रीलाई गुनासो गरेका थिए ।तीनै जनको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक राखेर आवश्यक निर्णय लिने बताएको बुझिएको छ ।  

शनिबार नै यस विषयमा छलफल गर्ने तयारी रहेको र आइतबार सम्म यस विषयमा ठोस निर्णय लिने प्रधानमन्त्रीको मनसाय रहेको जनाएको छ । नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँसले नेतृत्व पाउनु पर्ने बताउँदै आइरहेका छन् । काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । माओवादीले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीन वटा प्रदेशमा मुख्यमन्त्री पाएको छ । सुदूरपश्चिम प्रदेशमा काँग्रेसले नेतृत्व लिए काँग्रेस माओवादी र एसले २/२ प्रदेशको नेतृत्व पाउने छन् ।

हाल सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई एकीकृत समाजवादीको समर्थन छ । यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो । हाल ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन् ।प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दुई दलमा २ सांसद छन् । दुई मध्ये एक जना जसपा र एक जना लोसपाका सांसद हुन् ।