खप्तडलाई माया गर्नेहरूको कथा
2021/10/24, 3:40
 
aa

२०३८ सालको वसन्त ऋतुको कुनै घमाइलो दिन। काठमाडौंबाट करिब डेढ घन्टाको दुरी पार गरेर सुदूर पहाड पुगेको हेलिकप्टर कर्णाली र बुढीगंगा नदीपार गर्दै बाजुरामाथि आइपुग्छ। खप्तडको आकाश थर्काउन थाल्छ। गति कम गरेर त्यो यान बिस्तारै अवतरणको तयारीमा लाग्छ। खप्तडको मध्यभागमा रहेको टाकुरामा बनेको आश्रमको आँगनमा बनाइएको हेलिप्याडमा रोकिन्छ।

हेलिकप्टरको रोटर घुम्ने क्रम रोकिएपछि रानी ऐश्वर्यसँगै राजा वीरेन्द्र मुस्कुराउँदै ओर्लिन्छन्। आँगनमा स्वागत गर्न आएका पहेँला वस्त्रधारी खप्तड बाबालाई श्रद्धापूर्वक नमस्कार गर्छन्। अनि सुरू हुन्छ आँगनमा खप्तड स्वामी र राजा वीरेन्द्रबीच भलाकुसारी, विचार मन्थन अनि सत्सङ्ग।

यो सुदूरपश्चिम नेपालको आभूषणका रूपमा रहेको खप्तडको चालीस वर्षअघिको विगतको एक छोटो काल्पनिक सम्झना मात्र हो। तर यो विवरण सत्य घटनामा आधारित छ किनभने खप्तड स्वामी (विसं १९३६-२०५३) लाई नजिकबाट चिनेका प्राध्यापक शिवगोपाल रिसाल लगायतका जानकारहरूको भनाइमा राजा वीरेन्द्र त्यसैगरी बराबर खप्तड बाबालाई भेट्न सपरिवार खप्तड गइरहन्थे।

खप्तडको मध्यभागमा रहेको त्रिवेणी क्षेत्रमा बगिरहेको कञ्चन खोला। तस्बिर: सुरेन्द्र फुयाल।

खप्तड बाबाको आश्रम। तस्बिर: सुरेन्द्र फुयाल।

राजा वीरेन्द्र र खप्तड स्वामीको निकटताः

गएको वसन्त ऋतुको एक बिहान खप्तड निकुञ्जको छेडेपाटनको खाजाघरमा चिया पिउँदै गर्दा स्वर्गीय राजा वीरेन्द्रको खप्तड प्रेमबारे यस्तो दृष्टान्त सुनिइयो- राजा वीरेन्द्रलाई खप्तड एकदमै मनपर्ने ठाउँ हो।

खप्तड बाबाको आश्रम नजिकैको त्यो खाजाघरमा आइरहने एक नेपाली सैनिक भन्दै थिए, 'तनाव भयो कि राजा वीरेन्द्र हेलिकप्टर चढेर सिधै खप्तड आउनुहुन्थ्यो। खप्तड बाबालाई भेट्न र उहाँको सल्लाह सुझाव लिन।'

राजा वीरेन्द्र र खप्तड बाबा। सौजन्य: खप्तड राष्ट्रिय निकुञ्ज।

श्रीखप्तडबाबा महाकाव्यका लेखक प्राध्यापक शिवगोपाल रिसालका अनुसार त्यो विवरण साँचो हो। भारतको जम्मूमा जन्मिएका खप्तड बाबा (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वती) ले त्यति बेला नै ब्रिटेन गएर चिकित्सकको अध्ययन गरेका थिए। तर उनले त्यो पेसा चटक्कै छाडिदिए र १९८६ सालमा इलाम हुँदै नेपाल प्रवेश गरे।

पछि कालिन्चोक, मुसिकोट र चन्दननाथमा पनि समय बिताएका खप्तड बाबा २००२/२००३ सालदेखि भने खप्तडमा बस्न थालेका रहेछन्। त्यहाँ उनले पचास वर्ष बिताएको बुझिन्छ।

खप्तड स्वामीबारे एक विकिपेडिया पेजमा लेखिएको छ- बाबा विशेषतः खप्तडका भूषण हुन्। कारण खप्तड लेकलाई त्यो भेगलाई, त्यस क्षेत्रलाई, ती जिल्लाहरू र अञ्चललाई, त्यहाँका जनता जनार्दनलाई मात्र होइन त्यहाँका जडीबुटीसमेतलाई बाबाले विश्वका माझमा पुर्‍याइदिए। परिणामतः बाबाको शुभनाम रह्यो खप्तडबाबा भनेर।

चिकित्सा छोडेपछि जडीबुटीबारे गहन अनुसन्धानका साथै 'धर्म विज्ञान' र 'विचार विज्ञान' सहित करिब डेढ दर्जन पुस्तक लेखेका खप्तड स्वामी र राजा वीरेन्द्रबीच निकटता बढेपछि उनी काठमाडौं आउन थालेका थिए।

'उहाँ यहाँ आएका बेला बुढानिलकण्ठमा एउटा आश्रममा सत्सङ्ग भइराख्यो,' रिसाल स्मरण गर्छन्, 'उहाँ केटाकेटीमा आध्यात्मिक शिक्षाको कमी, बागमती नदी प्रदूषणप्रति निकै चिन्तित हुनुहुन्थ्यो।'

उनको सम्झनामा २०५३, वैशाख २७ गते देहान्त हुनुभन्दा सात दिनअघिसम्म पनि खप्तड बाबा बुढानिलकण्ठमै थिए। खप्तडको आश्रममा बिरामी भएपछि हेलिकप्टरमा काठमाडौं ल्याउने क्रममा सम्भवत: कालीगण्डकी नदीमाथिको आकाशमा उनी ब्रह्मलीन भएको विश्वास गरिन्छ। खप्तड स्वामीकै आग्रहमा राजा वीरेन्द्रले खप्तडका २२ पाटन र वरपरका चार जिल्लाका पहाड समेटेर सन् १९८५ मा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज स्थापनाको पहल गरेको बताइन्छ।

खप्तडको भूउपग्रहीय तस्बिर। सौजन्य: गुगल अर्थ।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र। सौजन्य: गुगल अर्थ। 

एक पटक पुग्नै पर्ने गन्तव्यः

यो राष्ट्रिय निकुञ्जसँग जोडिएका यस्तै-यस्तै पृष्ठभूमि र अखबार तथा भिडिओ मार्फत् फैलिएका खप्तडका पाटनका मनमोहक तस्बिरले लोभ्याएकै कारण अहिले धेरै नेपालीले खप्तडलाई जीवनमा एकपटक पुग्नै पर्ने गन्तव्य मान्न थालेको पाइएको छ। त्यसैले हुनुपर्छ सुदूरपश्चिम पहाडका अछाम, डोटी, बझाङ र बाजुरा जिल्लामा फैलिएको खप्तडमा भदौमा पर्ने जनै पूर्णिमा बेला मात्र होइन बाह्रै मास नेपाली तीर्थयात्री पदयात्रा गरिरहेका भेटिन्छन्।

खप्तड छान्नाबाट उत्तरतर्फ टल्किएका साइपाल र शंखमाला हिमाल। तस्बिर: सुरेन्द्र फुयाल।

खप्तडको मध्यभागमा रहेको त्रिवेणी क्षेत्रमा हालै काठमाडौंदेखि आइपुगेका पदयात्री। तस्बिर: सुरेन्द्र फुयाल।

खप्तडको पहाडबीच तीन हरित पाटनको भेट भएको झल्को दिने एक सुन्दर उपत्यकामा तीन नदीको संगम हुन्छ। जहाँ गत वैशाखमा हामी पुग्दा तिर्थारूको भिड थिएन। त्यसैले पनि हुनसक्छ हामीलाई त्रिवेणी पुग्दा स्वर्ग पुगेको अनुभूति हुने दृश्यहरू आँखासामु आए। कलकल कञ्चन पानी बगिरहेका साना खोलीहरू, ती माथि बनाइएका साना काठे साँगु, पाटनबीच उभिएका केदार ढुंगा र नागढुंगा, पहाडी थुम्कामाथि बनाइएका मचान, उत्तरी क्षितिमा चाँदी झैं टल्किएका साइपाल र शंखमाला हिमाल।

अनि त्यस्तो सुन्दर त्रिवेणीधामदेखि उत्तरपट्टीको टाकुरामा घना वनबीच शान्त एवं स्निग्ध भएर रहेको खप्तड बाबाको सुन्दर आश्रम। २५ वर्षअघि खप्तड बाबा ब्रह्मलीन भएपछि बझाङी शैलीमा बनाइएको, कालो स्लेटको छानामुनि, श्यामस्वेत रङका बलिया भित्ता रहेको त्यो दुई तले आश्रम रित्तो छ। पिँढीमा भने दुरूस्तै खप्तड बाबा देखिने प्रतिमूर्ति बसिरहेको छ। शान्त।

खप्तड बाबाको दर्शनको अनुभूतिः

पहेँलो वस्त्रले बेरिएको खप्तड बाबाको त्यो मूर्ति एकदमै धेरै सजीव देखिन्छ। लाग्छ, खप्तड बाबाले आगन्तुकहरूलाई साक्षात् दर्शन दिइरहेका छन् र आफ्ना चक्षुले मजस्ता आगन्तुकलाई हेरेर निरन्तर ज्ञानगंगा प्रवाह गराइरहेका छन्। आकाश नीलै भएको, तिर्थारूको भिडविहीन शान्त बिहान, पातलो हिमपातपछि हामी खप्तड आश्रम पुग्दा मैले त्यस्तै अनुभूति गरेँ।

आश्रमबाहिर खप्तड बाबाको प्रतिमूर्ति। तस्बिर: सुरेन्द्र फुयाल।

यस्तो लाग्यो, मैले बाल्यकालमा निकै चर्चा सुनेको खप्तड बाबा यहाँ उनको आश्रमको पिँढीमा अझै जीवितै छन्। उनी मलाई हेरेर आशीर्वाद दिँदैछन्। आफ्नो दिव्य ज्ञानको थोरै हिस्सा मभएतिर खन्याउन खोजिरहेका छन्। खप्तड बाबाको सजीव प्रतिमूर्ति देख्दा, उनको आँखामा मैले मेरो आँखाले हेर्दा, लाग्यो मैले उनको दर्शन पाएँ।

म धन्य भएँ। मेरो छाती फुक्क फुलेजस्तो भयो। खप्तड बाबाको यो आश्रम क्षेत्र र पछाडिका केही पाटन बझाङ जिल्लामा पर्छन्। अलि पूर्वतिर, सरकारी पाहुना घर र नेपाली सेनाको ब्यारेक रहेको छेडे पाटनसहित केही ओरालो झरेर जानु पर्ने खापरदह बाजुरामा पर्छन्। पाहुना घर रहेको पाटनबाट उकालो, ओरालो गर्दै डेढ घन्टाको पदयात्रापछि पुगिने सहस्रलिंग चाहिँ अछाममा पर्छ।

खप्तडको मध्यभागमा अवस्थित छेडे पाटन। तस्बिर: सुरेन्द्र फुयाल।

छेडेपाटनबाट ४५ मिनेटको दुरीमा पूर्वपट्टि रहेको खपारदह।  तस्बिर: सुरेन्द्र फुयाल।

सडकबाट डोटी हुँदै आउने यात्रीका लागि खप्तडको मूल प्रवेशद्वारको रूपमा रहेका झिग्राना गाउँ र बिचपानीको पहाड भने डोटी जिल्लामा पर्छ। विविध व्यस्तता वा समय वा पैतालाजन्य कमीकमजोरीका कारण राजा वीरेन्द्रजसैगरी हेलिकप्टरमा खप्तड जाने यात्री हुन्, वा पैतालाको बलमा खप्तड जाने यात्री हुन्, सबैलाई खप्तड पुगेपछि भोक तिर्खा र थकाइ लाग्छ। तर खप्तडमा सगरमाथामाजस्तो होटल एभरेस्ट भ्यू वा अन्नपूर्ण क्षेत्रका जस्ता देशीविदेशी परिकार पाइने गेस्ट हाउस वा लज निकै कम छन्।

खप्तडको विकासका लागि सरकारी निकायले लगानी नगरेर सेवा-सुविधा कम भएको पक्कै होइन। त्यसको चर्चा अलि बेरमा। त्यसअघि खप्तड पुग्ने यात्रीको सेवा र सत्कारमा अहोरात्र खटिने कर्मयोगी, स्वाभिमानी र आदरणीय नेपाली पात्रको चर्चा गरौं।

प्रकाश रावल, लोखाडा, बझाङ:

दक्षिणतिरबाट खप्तड जाने सिधा बाटो दिपायल, सिलगढी बगलेक झिग्राना हुँदै अघि बढ्छ। तर उही बाटो फर्कनुभन्दा सुन्दर सुदूरपश्चिमको पहाडी क्षेत्रको समेत दृश्यावलोकन हुने गरी हामी बझाङको बाटो खप्तड प्रवेश गर्ने योजनाअनुसार अघि बढ्यौं। संयोगवस काठमाडौंमा राष्ट्रपतिबाट पदक ग्रहण गरेर बझाङ फर्किन लागेका पत्रकार वसन्त प्रताप सिंह धनगढीमा भेटिए।   

उनीसँग सुदूर पहाडमा भइरहेका परिवर्तन र विकासबारे जानकारी बटुल्दै हामी धनगढीबाट करिब २७० किलोमिटर जीपयात्रा गरेर (प्राचीन बझाङ अधिराज्यका शिक्षाप्रेमी तर गौतम बुद्धले झैं राजकाज त्यागेका राजा जयपृथ्वी बहादुर सिंह (विसं १९३४-१९९७) का पुर्खाले बसाएको) चैनपुर, जयपृथ्वी नगरपालिका पुग्यौं। सेती नदीका नागबेली बीच फस्टाएका गहुँ खेत हेर्दै अर्को दिन फेरि छोटो जीपयात्रा गरेर खप्तड छान्ना गाउँपालिका पुगेर खप्तड प्रवेश गर्यौं।

बझाङपट्टीको खप्तड प्रवेशद्वारका रूपमा रहेको खप्तड छान्ना गाउँबाट देखिएका खप्तड उत्तरका पहाड र खेत। तस्बिर: सुरेन्द्र फुयाल।

खप्तड छान्नाको दारू गाउँमा बाटोमा सुकाइएको गहुँको बिस्कुन भित्र्याउने तयारीमा रहेकी उजेली खड्का। तस्बिर: सुरेन्द्र फुयाल।

उकालो गुडेको एक घन्टापछि खप्तड छान्नाकै दारू गाउँमा जीप रोकियो। यहाँ घरैपिच्छे जस्तो होमस्टे खुलेका रहेछन्। बाहिर राखिएका टेबलमा स्ट्रङ बियरका खाली सिसी देखिएपछि लाग्यो दारू गाउँमा 'दारू' को कारोबार बाक्लै हुने गरेको रहेछ सायद।

अब माथि दुई घन्टाको उकालो चढेर लोखाडा पुगेपछि निकुञ्ज प्रवेशद्वारदेखि अलि वर, बारीको बीचमा बनाइएको, सरल त्रिवेणी गेस्ट हाउस पुग्यौं। सञ्चालक प्रकाश रावल र परिवारजन भेटिए।

दारू गाउँमाथि रहेको लोखाडामा आफ्नो गेस्ट हाउसबाहिर प्रकाश रावल र श्रीमती जलादेवी। तस्बिर: सुरेन्द्र फुयाल।

लोखाडामा रहेको त्रिवेणी गेस्ट हाउस।

नजिकैको नेपाली सेनाको पोस्टका सदस्यका साथै पदयात्रीको आवतजावत भइरहने हुनाले प्रकाशलाई धेरैथोर आम्दानी भइरहेकै रहेछ।

आफ्नो कथा सुनाउँदै ५२ वर्षीय प्रकाशले भने, 'भारतको बैंगलोर र दिल्लीमा नोकरी गर्दै मेरो जवानी बित्यो। चार छोराछोरीमध्ये कोही उतै जन्मिए। तर अहिले हामी सबै यहाँ छौं। ५० रोपनी जग्गाजमिन छ। गहुँ, आलु, फापर, सागपात फल्छ। आफ्नै देशमा खान पुगेकै छ।'

'तर कोरोनाले गर्दा पर्यटन सुस्ताएको छ। पाहुना कम छन्।' भोलिपल्ट बिहान आकाश खुल्दा, उत्तरी क्षितिजमा साइपाल र शंखमाला हिमाल टल्किए। न्यानो घाममा प्रकाश, उनकी श्रीमती जलादेवी र सानी छोरी सुमा आँगनमा उभिए।

आफ्नो युवा अवस्था र विवाहबारे कुरा गर्दै प्रकाशले जलादेवी रोकायासँग मागी विवाहको प्रयास सफल नभएपछि 'भागी विवाह भएको' रमाइलो प्रसंग सुनाए, 'म विवाह गर्न दिल्लीबाट घर आएको थिएँ। २२-२३ वर्षको थिएँ। यिनलाई हेर्न जाँदा यिनका परिवारले केटो बूढो भएको गुनासो गरे। त्यसको केही दिनपछि यिनी बामिनीगाड नदीपारिको बारीमा कोदो गोड्न आएकी रहिछन्। मैले हात समातेर भगाइदिएँ …पछि सबै ठीक भयो।'

जलादेवी भित्र भान्सामा दाउरा बालेर खान पकाउँदै थिइन्। नयाँ कपडा हाल्न बुवासँग दुई हजार रूपैयाँ मागिरहेकी किशोरी छोरी सुमा आँगनमा घुर्की लगाएर थचक्क बसेकी थिइन्। एकोहोरो भुइँतिर हेर्दै।

छोरीलाई 'नयाँ कपडा पछि हालौंला नि नानी' भन्दै फकाउँदै गरेका प्रकाशले कुराकानी क्रममा आफ्नो भित्री चिन्ता सुनाए, 'तर अहिले यिनी (जलादेवी) अलि बिरामी छन्। छातीको रोग लागेको छ। नेपालगञ्ज लगेर उपचार गराइरहेको छु। पूरै निको भएको छैन।'

खप्तड छान्ना, लोखाडाका प्रकाशको कथा-व्यथा निकै मार्मिक लाग्यो। विदावादी भएर अघि बढ्यौं। अलि पर पुगेपछि मैले आफ्नो लौरो बिर्सिएको चाल पाएँ। प्रकाशको घरतिर फर्किएर चिच्याएर त्यसबारे संकेत गरेपछि सुमाले दौडिँदै लौरौ ल्याइदिइन्।

'धन्यवाद सुमा, धेरै पढ्नू, ज्ञानी हुनू।'

लेखकले बिर्सिएको लौरो दौडेर ल्याएर दिँदै लोखाडाकी सानी सुमा रावल। तस्बिर: सुरेन्द्र फुयाल।

खप्तडको उकालो ओरालोमा लौरोले पदयात्रा सहज बनाइदिन्छ। त्यो लौरो मलाई निकै प्यारो यस कारण पनि थियो कि त्यो मलाई अघिल्लो साँझ लोखाडाको ओरालो झर्दै गरेका एक सज्जन हिक्मत रावलले मेरो उकालो यात्राका लागि उपहार दिएका थिए।  

लोक रावल, छेडेपाटन, बाजुरा:

लोखाडाको उकालो चढेपछि करिब ३,३०० मिटर उचाइमा रहेको खप्तडको उत्तरी शिखर क्षेत्र पुगियो जहाँ अघिल्लो राति हिमपात भएको रहेछ। मानव चहलपहल शून्य। हिउँले ढाकेको पदमार्गबाट रमाउँदै अघि बढेपछि घोडादाउना पाटन पुगियो। त्यहाँ एउटा हरियो टाकुरामाथि दृश्यावलोकनका लागि मचान आकाशतिर ठडिएको थियो।

खप्तड छान्नामाथि रहेको घोडादाउन पाटन। तस्बिर: सुरेन्द्र फुयाल।

हिउँ परेको बाटोमा पदयात्रा गर्दै लेखक। तस्बिर: निकिता।

ढुंगा छापिएको बाटैबाटो अघि बढेपछि खप्तडको मुख्यालय मानिने छेडेपाटन पुगिन्छ। बाजुरा जिल्लामा पर्ने छेडेपाटनमा निकुञ्ज र पर्यटन बोर्डले बनाएका सरकारी पाहुनाघरसँगै सेनाको ब्यारेक देखिन्छ। नजिकै सेनाले तिर्थारूको सुविधाका लागि सौर्य ऊर्जायुक्त तातोपानी स्नान स्थल बनाएको छ।

छेडेपाटनको सानो टहरामा खप्तड पुग्ने यात्रीलाई सेवा तथा सहयोग गर्ने अर्का आदरणीय पात्र भेटिए बाजुराको काँडा घर भएका लोक रावल।  बाजुराकै एक बालश्रमिकलाई सहयोगी बनाएका पातला तर कर्मठ लोकले खप्तड पुगेर बास बस्ने हामीजस्ता यात्रीलाई सशुल्क गाँस, बास र कपास प्रबन्ध गर्ने रहेछन्।

छेडे पाटन नजिकै दृश्यावलोकनका लागि बनाइएको प्राकृतिक मचान। तस्बिर: सुरेन्द्र फुयाल।

खप्तड आउने यात्रीलाई सशुल्क गाँस, बास र कपासको प्रबन्ध गर्ने बाजुराका लोक रावल। तस्बिर: सुरेन्द्र फुयाल।

छेडेपाटनबाट एकदेखि दुई घन्टाको दुरीमा छरिएर रहेका छन् खापरदह, सहस्रलिंग, खप्तड बाबाको आश्रम र त्रिवेणी जहाँ तीन साना खोलीको मिलन हुन्छ। पछाडिबाट अर्थात बझाङ पुगेर उत्तरबाट दक्षिण खप्तड प्रवेश गरेका हामी अब त्रिवेणी, बिचपानी हुँदै डोटी झर्ने योजनामा थियौं।

लोकले भने हामीलाई फर्किँदा पूर्वतिरको पदमार्गबाट, सकेसम्म उनको आफ्नै जिल्ला बाजुरा झरेर फर्किने विकल्प सुझाए। बाजुराबाटै आफ्नो होटल र भोजनालयका लागि सरसामान ल्याउने गरेका लोक रावलले भने, 'तपाईंहरू भोलि यहाँबाट तीन घन्टा हिँडेर बाजुरा झरेपछि जीप चढेर अछाम हुँदै फर्किन सक्नुहुन्छ।'

खप्तडमा घुम्ने ठाउँ धेरै। पर्यटन बोर्डका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाका गन्तव्यबारे सोधखोज गर्ने आएका भूगोलका विद्यार्थीद्वय सुरेश बलायर (डोटी) र मनिष थापा (भक्तपुर) सँग सहस्रलिंगको दर्शन गर्न दक्षिण दिशामा लामो पदयात्रा भयो। त्यसक्रममा चट्टानबीचको सहस्रलिंग क्षेत्रबाट बाजुराका बूढीगंगा उपत्यका र अछामको नदी किनार बसेको साँफेबगरका वृहंगम दृश्य देखिए।

सुदूरपश्चिमका नौ वटै जिल्लाका गन्तव्यबारे सोधखोज गर्ने आएका भूगोलका विद्यार्थी सुरेश बलायर (डोटी) सहस्रलिंगलाई प्रणाम गर्दै। तस्बिर: सुरेन्द्र फुयाल।

लोक रावलको होटलमा साँझ बाक्लै चहलपहल भयो। चिसो सिरेटो चलेपछि पाहुनाहरू उनको सानो होटलभित्रै पसेर न्यानोमा बस्न खोजे। तर भित्र बस्ने ठाउँ अभाव। त्यसमाथि चुलोमा बालिएको दाउराको बाक्लो धुँवाका कारण निस्सासिने वातावरण। लोक रावल र उनका सहयोगीलाई भने शाकाहारी खाना र खाजा बनाएर आगन्तुकलाई खुवाउन भ्याइनभ्याइ।

मनग्गे मसला हालेर लोकले दाउरा बालेर बनाएको आलुको तरकारी चिउरासँग खाँदा निकै स्वादिष्ट लाग्ने। भर्खरै भित्र पसेर 'मासु र बियर छ?' छ भनी सोध्ने नयाँ यात्रीलाई आगोमा दाउरा ठोस्दै गरेका लोकले खप्तडको नियम सुनाइदिइहाले, 'खप्तडमा काटमार निषेध छ। यहाँ माछा, मासु, रक्सी ल्याउन र खान मनाही छ हजुर।'

वीरबहादुर बिष्ट (बाजुरा), बिचपानी (डोटी):

डोटीबाट सिधा बाटो खप्तड पस्ने यात्रीहरू झिग्रानाबाट कठिन उकालो पदयात्रा थालेको केही घन्टापछि असिनपसिन भएर लेकमाथि पुग्छन् र सुस्ताउँदै हिँडेर अलि पर, घना झाडी पारिको बिचपानी पुग्छन्। हामी चाहिँ खापरदह, खप्तड बाबा आश्रम, त्रिवेणी र डोटी झर्ने पदमार्गमा रहेका सुन्दर पाटनको सौन्दर्यमा रमाउँदै बिचपानी आइपुग्यौं।

खप्तडको मध्यभागका वन-वनस्पति। तस्बिर: सुरेन्द्र फुयाल।

बिचपानी जाने बाटोमा खप्तडमाथिबाट देखिएको डोटी। तस्बिर: सुरेन्द्र फुयाल।

त्यो घमाइलो र सुन्दर दिनको हाम्रो त्यति लामो यात्रामा मात्र पाँच पदयात्री भेटिए, जो काठमाडौंदेखि डोटी हुँदै खप्तडको उच्चसमस्थलीमा रमाउन आएका थिए। बिचपानीको सानो टहरामा पाहुनाको स्वागत-सत्कार र तिनलाई खाने-बस्ने व्यवस्थापनको जिम्मेवारी लिएर बसेका रहेछन् १४ वर्षीय किशोर वीरबहादुर बिष्ट एक्लैले।

उनको घर खप्तड पूर्वको बाजुरा।

'मेरो दाइ अहिले डोटी जानुभएको छ। यहाँ अहिले मै छु।'

'अनि स्कुल जानुपर्दैन?'

'अहिले बिदा छ। पछि जानुपर्छ।'

केही बेरपछि उनले हामीलाई उसिनेको अन्डा र अत्यधिक नुन हालिएको चनाको तरकारी थमाए। उनको खाजाघरसँगै नीलो जस्ताले छाएको, सुन्दर आकृतिको तर जीर्ण हुन थालिसकेको एक भवन देखियो। त्यसबारे जिज्ञासा राख्दा उनले भने, 'यो त सरकारी गेस्ट हाउस हो। दुई करोड खाइसक्यो यसले। अझै पैसा थपिँदै छ रे।'

त्यो गेस्ट हाउस बनिनसक्दै जीर्ण देख्दा नमीठो लाग्यो।

डोटीबाट खप्तड जाने उकालोमा पर्ने बिचपानीमा बनेको जीर्ण सरकारी पाहुना घर। तस्बिर: सुरेन्द्र फुयाल।

शेरबहादुर बोगटी, झिग्राना, डोटी:

बिचपानीबाट खप्तड प्रवेशद्वार झर्ने ओरालो निकै भिरालो छ। निकै सम्हालिएर ओर्लिनु वा उक्लिनु पर्छ। डेढ घन्टाको ठाडो ओरालोपछि बल्ल निकुञ्ज मुख्यालय देखियो। नजिकै सेनाको जाँच चौकीमा हँसिला सैनिक भेटिए।

केही बेर हिँडेपछि मैले फरक्क पछाडि फर्किएर भर्खरै झरेको बिचपानीको डाँडो हेरेँ।

अनि सोचेँ, 'पक्कै पनि डोटीबाट यो पहाड उक्लिन तम्सिने कैयौं मोटरप्रेमी, सहरी पदयात्री, यही ठाडो उकालो देखेर, अत्तालिएर खप्तड पदयात्राको योजना अकस्मात परित्याग गर्दै झिग्रानाबाटै फर्किएको हुनु पर्छ।'

'खप्तड मात्र होइन नेपालको कुनै पनि पहाडी वा हिमाली क्षेत्रमा पदयात्रा गर्न कस्सिने पदयात्री पिठ्युँमा दस-बीस किलोको झोला बोकेर दैनिक बीस-तीस किलोमिटर उकाली ओराली हिँड्न सक्षम हुनुपर्छ। यदि कोही त्यति हिँड्न सक्षम छैन भने मोटर त्यागेर हरेक दिन हिँड्ने बानी बसाइहाल्नु पर्छ। होइन भने मोटो रकम र मौसमले साथ दिँदा मात्र उड्ने हेलिकप्टरको सहारा लिनुको विकल्प रहँदैन।'

डोटीको झिग्रानामा रहेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय। तस्बिर: सुरेन्द्र फुयाल।

करिब बीस घर रहेको पातलो झिग्राना गाउँमा हिजोआज होम-स्टे सुरू भएका रहेछन्। अलि पर सडक छेउ, पूरै नीलो जस्ताले घेरेर बनाइएको एउटा नयाँ होम-स्टेमा मेरो आँखा पर्‍यो। त्यसका अस्थायी सञ्चालक रहेछन् शेरबहादुर बोगटी जो भान्सामा कुन्नि के-के बनाउन व्यस्त रहेछन्।

हामीलाई कोठा देखाइदिएपछि भने, 'खानेकुरा दाल, भात मात्र छ।' हामीले खोजेजस्तो आलुको तरकारी चिउरा र पापड छैन।  कुराकानी क्रममा उनले आफूलाई केही ज्वरो आएको बताए। त्यसैले उनी केही झर्किएको हो किजस्तो लाग्यो।

झिग्रानामा नयाँ बनेको खप्तड होम स्टेका अस्थायी सञ्चालक रहेछन् शेरबहादुर बोगटी। तस्बिर: सुरेन्द्र फुयाल।

जे भए पनि उनले पछि हामीलाई निकै स्वादिलो आलुको तरकारी इत्यादी बनाएर दिए। खाना पकाउने सीपको रहस्यबारे मैले चासो राखेपछि उनले मुख खोले— 'म मुम्बईको बान्द्रामा खाना पकाउने काम गर्छु। त्यहीँ सिकेको हुँ।' '‌ओहो अहिले देश फर्किएर झिग्रानामा काम गर्न थाल्नुभएछ। अब भविष्यमा यहीँ काम गरेर बस्ने त होला नि?' 'होइन। मुम्बईमा मलाई भारू पचास हजार मासिक तनखा हुन्छ। यहाँ कसले दिन्छ त्यति?'

निर्माणाधीन झिग्राना-सिलगढी चार लेन सडक। तस्बिर: सुरेन्द्र फुयाल।

शेरबहादुरले सम्हालेको झिग्राना होमस्टे बाहिरबाट १५ किलोमिटर पर रहेको सिलगढी जोड्ने चार लेनको चौडा सडक बन्दैछ। (तर सिलगढीको उकालोमै जग्गाधनी र सडकबीचको विवादका कारण ठाउँ-ठाउँमा सडक साँघुरै रहन बाध्य रहेको पाइयो।) त्यो चौडा सडकले खप्तड भ्रमणमा आउने यात्रीसँगै मुम्बई जाउ-आउ गर्ने शेरबहादुरजस्ता डोटेलीको जीवन सहज बनाइदिन सक्छ।

खप्तडको सम्भावनाः

हो खप्तड विशेष छ, विशिष्ट छ। दिपायल, अमरगढी, धनगढीजस्ता नगरबाट नजिक छ। तर सुदूरपश्चिममा खप्तडजस्तै विशिष्ट अरू गन्तव्य पनि छन्। जस्तो, अपि-नाम्पा संरक्षण क्षेत्र, टिंकर, लिपुलेक, बैतडीका पाटन क्षेत्रको घनघस्याको उकालो, साइपाल आधार शिविर, बडिमालिका इत्यादी।

ती गन्तव्य पुग्ने बाटो र त्यहाँ उपलब्ध सुविधाबारे निकै थोरैलाई मात्रै थाहा छ। खप्तड र वरपरका सुदूर पहाडमा अझै थुप्रै काम बाँकी, थाती देखिन्छन्।

सुदूरपश्चिम। तस्बिरः गुगल अर्थ

तिर्थारूको चहलपहल भइरहे पनि सुपरिचित खप्तड क्षेत्र आफैं अझै पीडामा रहेको पाइएको छ। यस क्षेत्रमा जारी 'विकास' गतिविधि यात्रीका लागि अत्यावश्यक सूचना तथा पूर्वाधार अभाव र आर्थिक अनियमितताले ग्रस्त रहेको खुलासा करिब दुई वर्षअघि नै पत्रकारद्वय वसन्तप्रताप सिंह र विद्या राईले खोज पत्रकारिता केन्द्रका लागि गरेको खोजले छर्लंग बनाइसकेको छ।

खप्तडको नक्सा। सौजन्य: खप्तड राष्ट्रिय निकुञ्ज।

त्यो खोजअनुसार यात्री हराइरहने र हैरानी खेप्ने जस्ता समस्या सुल्झाउने भनेर खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न विगत १२ वर्षमा ५२ करोड रूपैयाँ खर्च भइसकेको छ। तै पनि खप्तडमा यात्रीका लागि पर्याप्त गोरेटो बन्न सकेका छैनन्। त्यो खोजले भन्छ, 'सबै निकायले ०६६ सालयताका दस वर्षमा खप्तडमा सुविधासम्पन्न भवन बनाउन २३ करोड ५२ लाख खर्च गरेका रहेछन्। तर आनन्दले रात काट्न सकिने एउटा पनि भवन छैन।' बिचपानीको रित्तो र नबन्दै जीर्ण बनेको भवन त्यसको एक उदाहरण मात्र हुन सक्छ। यो सामाग्री सुरेन्द्र फुयालले सेतोपाटीमा लेखेका छन् ।