महाकालीमा गत साता आएको भीषण बाढीले निर्माणाधीन चार लेनको पहुँच मार्ग बगायो । निर्माणाधीन पुलभन्दा झन्डै ५ सय मिटर उत्तरतर्फको पहुँच मार्ग बगाएर बाढी बस्तीतर्फ पस्ने खतरा बढ्यो । बेमौसमको वर्षापछि आएको बाढीले पहुँच मार्ग भत्काएपछि निर्माण कम्पनीदेखि डिजाइनका विषयमा चर्को विरोधका साथै छानबिनको माग उठेको छ । निर्माण कम्पनीले मापदण्डअनुसार निर्माण सामग्रीको प्रयोग नगरेको तथा पुलको डिजाइनकै कारण बाढीे बस्तीतर्फ सोझिएको स्थानीयको बुझाइ छ ।
तर पुल आयोजना र निर्माण कम्पनीका प्राविधिकहरू पनि साइड गाइड बन्ड नबनेका कारण पुहँच मार्ग भत्किएको दाबी गरिरहेका छन् । पहुँच मार्गमा तोकिएको मापदण्डअनुसार नै निर्माण सामग्री प्रयोग भएको उनीहरू बताउँछन् । पुहँच मार्गभन्दा ६ सय मिटर पर नदीमा निर्माण हुने भनिएको साइड गाइड बन्ड नबनेका कारण नै पहुँच मार्ग भत्किएको प्राविधिकहरूको दाबी छ ।
निर्माणाधीन ४ लेनको पुल र ६ लेनको सडक यस क्षेत्रकै ठूलो आयोजना हो । महाकालीपारि दोधारा चाँदनीलाई सडक सञ्जालसंँग जोड्नुका साथै दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहको पूर्वाधारसमेत हो । तर निर्माण नसकिँदै यसप्रति छानबिनको प्रश्न उठेको छ ।
महाकालीको बाढीले अढाइ सय मिटर कालोपत्रे सडक बगाएको छ । करिब ७ करोड मूल्य बराबरको क्षति पुगेको पुल आयोजनाले जनाएको छ । गत साता प्रधानमन्त्री शेरबहादुर देउवा निर्माणस्थलमा पुग्दासमेत नदी किनारका वडा नं. १२ र १३ का वडाध्यक्षले निर्माण भएको संरचनाको छानबिनसँगै पुलको डिजाइनका विषयमा कुरा उठाएका थिए । तर प्रधानमन्त्री देउवा यस विषयमा केही पनि नबोली फर्किए ।
‘हामीले नदी नियन्त्रणको काम गर्न नसकेकाले पहुँच मार्ग बगाएको हो,’ महाकाली पुल आयोजनाका प्रमुख इन्जिनियर सन्तोष कर्णले भने, ‘पहुँच मार्गको छानबिन आवश्यक देखिँदैन, मुख्य कुरा नदी नियन्त्रणका लागि साइड गाइड बन्ड हो, त्यो नबनेकै कारण अहिलेको क्षति भएको हो ।’ पहुँच मार्गकै कारण महाकालीको बाढी बस्तीमा पस्नबाट जोगिएको उनले बताए ।
महाकाली पुलको लम्बाइ ८ सय मिटर छ । उक्त क्षेत्रमा नदीको चौडाइ अढाइ किलोमिटर रहेको छ । दुवैतर्फ साइड गाइड बन्डले पोखरी निर्माण गर्ने योजना छ । दुवैतर्फ ६ सय मिटर चौडाइ र २८ सय मिटर लम्बाइका गाइड बन्ड निर्माणका लागि डेढ लाख घनमिटर ठूलो ढुंगा (२५७ किलोग्रामभन्दा बढी तौलका) आवश्यक पर्ने पुल आयोजनाले जनाएको छ । महाकाली पुलले ६ लाख क्युसेकसम्मको बाढी थेग्न सक्ने प्राविधिकहरू बताउँछन् । ६ लाख क्युसेकको बहावले २५७ किलोग्रामभन्दा बढी तौलका ढुंगा बगाउन नसक्ने अध्ययन भएको छ ।
‘गाइड बन्डले नै तटबन्धको काम गर्छ र पहुँच मार्ग जोगिन्छ,’ कर्णले भने, ‘तर त्यसका लागि ढुंगाको अभाव रहेको छ, हामीले लामो समयदेखि प्रयास गरिरहेका छौं, त्यो सफल हुन सकेन ।’ उनले पछिल्लो समय गाइड बन्डको डिजाइन परिवर्तन गर्ने विषयमा पनि छलफल चलेको छ । ढुंगा उपलब्ध नभए तारजाली, कंक्रिट ब्लक वा तारजाली र कंक्रिट ब्लक दुवै मिसाएर पनि गाइड बन्ड निर्माण गर्न सकिने विकल्पतर्फ छलफल सुरु भएको उनले बताए ।
अहिलेको अवस्था हेर्दा ठूलो ढुंगा उपलब्ध हुने देखिँदैन । त्यसकारण अन्य विकल्पहरूमा जानुपर्ने कर्ण बताउँछन् । त्यसकै लागि पुलको डीपीआर निर्माण गर्ने कम्पनी सीआईएसका प्रतिनिधिले मंगलबार मात्रै निर्माण स्थलको अध्ययन र अवलोकन गरेका छन् । गाइड बन्डकै डिजाइन परिवर्तनका विषयमा छलफल चलिरहेकाले डीपीआर निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर थप अध्ययन गराइएको उनले बताए ।
भौतिक प्रगति देखाउनसमेत नदी नियन्त्रणको काम नहुँदा पनि पहुँच मार्ग बनाइएको देखिन्छ । अब भने गाइड बन्डको निर्क्यौल नभएसम्म सडक निर्माणको काम नहुने निर्माण कम्पनीले कुमार श्रेष्ठ सीफईसी जेभीका इन्जिनियर किशोर पाण्डे बताउँछन् । ‘हामीले सडक बनाउँदै जाने, नदीले बगाउँदै जाने कहिलेसम्म ?’ उनले भने, ‘नदी नियन्त्रणका लागि गाइड बन्ड निर्माणपछि मात्रै सडकको काम सुचारु हुन्छ, ढुंगाको व्यवस्थापन गर्ने वा डिजाइन परिवर्तन गर्ने छिट्टै टुंगो लाग्नुपर्छ ।’
गड्डाचौकीदेखि दोधारा–चाँदनीको मलेरिया नालसम्म करिब ८ किलोमिटर ६ लेनको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण पनि अन्तिम चरणमै छ । तर गाइड बन्डकै कारण निर्माण कार्य रोक्नुपर्ने इन्जिनियर पाण्डे बताउँछन् ।