एमालेमा यातना सहन नसकेर एकीकृत समाजवादी रोज्नुपर्‍यो: तारा जोशी [अन्तर्वार्ता]
2021/11/11, 10:46
 
aa

नेकपा एमालेबाट 'विद्रोह' गरेर माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेपछि देशभर संगठन निर्माण गरिरहेका छन्। एमालेमा हुँदा असन्तुष्ट भएका कतिपय नेता कार्यकर्ताले नवगठित पार्टी रोजीरहेका छन्। कति भने एमालेमै फर्किरहेका छन्। नवौं महाधिवेशनपछि डडेलधुरामा बनेको नेकपा एमालेको जिल्ला कमिटीका तत्कालीन अध्यक्ष सहित बहुमत सदस्यहरु एकीकृत समाजवादीमा समाहित भएका छन्। लामो समय नेकपा एमालेमै रहेर राजनीति गरेका एमाले डडेलधुराका तत्कालीन अध्यक्ष तारा जोशीसहित ठूलो पंक्तिले एमाले छोडेर एकीकृत समाजवादी रोजेको हो। तीनै नेता जोशीसँगको कुराकानीः

एमाले डडेलधुराको अध्यक्षको जिम्मेवारी सम्हालेको र पार्टीमा राजनीतिक भविष्य भएको नेता भनेर भन्ने गरिन्थ्यो तपाईंलाई, तर पार्टी नै परित्याग गरेर हिँड्नुभो नि। कसरी यस्तो अवस्था आइलाग्यो? 
यसमा मुख्य गरेर दुईवटा कारण छन्। एउटा एमालेको सांगठनिक जीवन हो। एमालेको जुन प्रकृतिको संगठन छ, त्यसले जुन नीति अवलम्बन गरिरहेको छ, त्यसले महत्व बोक्न नसक्ने स्थिति आएको छ। हाम्रो राष्ट्र र समाजलाई अगाडि बढाउन सक्ने देखिएन। नेतृत्व दिन नसक्ने सांगठनिक जीवन छ। निरंकुश प्रवृत्ति देखिएको छ। नेता कार्यकर्ताले के बुझे भने सुरुवातमा जे–जस्तो भए पनि तलसम्म त्यो जान्छ भन्ने लागेन। तर, वैचारिकदेखि अन्य हिसाबले निरंकुशतालाई अझ लाद्ने र त्यसलाई बढावा दिने काममा धेरैको सक्रियता देखियो। त्यस्ता गतिविधिले पार्टीभित्र प्रजातन्त्रिक प्रणाली कमजोर हुँदै गएपछि यो अवस्था आएको हो।

तपाईंहरुकै भनाइमा पार्टीमा 'आन्तरिक संघर्ष' चलिरहँदा माधव नेपाल पक्षमा हुनुहुन्थ्यो। पछि १० बुँदे सहमति भयो। पार्टी विभाजन हुँदा एमालेमै रहनुभयो। अहिले आएर अचानक पार्टी छाड्नैपर्ने अवस्था कसरी सिर्जना भयो?
होइन, जुन १० बुँदे सहमति भएको थियो त्यो त लागू भएन नि। १० बुँदे सहमतिले केही न केही गर्छ भन्ने थियो, तर त्यस्तो भएन।पार्टी लोकतान्त्रिक विधिमा अघि बढेन। पार्टीलाई निरंकुश प्रवृत्तिबाट मुक्त गराउन सक्छौं भन्ने एउटा विश्वास थियो, त्यो हुन सकेन। माथि भएको सम्झौता र तलसम्म पठाइएको अपानि १२ अनुसारका कमिटी पुनःगठन हुँदै गए साथीहरुको आवाजले महत्व पाउँछ भन्ने बुझेका थियौं। तर, हरेक ठाउँमा सम्झौता गर्ने, तर त्यसको कार्यान्वयन नगर्ने काम भयो। उल्टो यातना दिने र प्रताडित गर्ने काम भयो। तल्लो तहका नेता र कार्यकर्तालाई यातना दिइरहने प्रवृत्ति नेतृत्वमा देखियो। स्वभाविक रुपमा १० बुँदे लागू नभएपछि निर्णय गर्नुपर्ने अवस्था आएको हो।

२०७५ जेठ २ अघि तपाईं निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो। सहमतिअनुसार त्यो जिम्मेवारी तपाईंलाई दिइएन, हो?
त्यो जिम्मेवारी दिने कुरै भएन। त्यहाँसम्म म आफू व्यक्तिगत रुपमा सहमति गर्न पनि तयार थिए। मलाई अध्यक्ष नै भइरहनु पर्ने जरुरत थिएन, तर त्यो १० बुँदे सहमतिको मूख्य मर्म अथवा अपानि १२ को निर्देशन थियो, त्यसलाई वैधता दिने काम भएन। म अध्यक्ष हुने कुरा ठूलो भएन, म नहुन पनि सक्थेँ, अर्को कुनै जुनियर हुन सक्थ्यो, त्यसलाई स्वीकार्न तयार थिए। तर, पुरानो कमिटीको वैधताको कुरा थियो। त्यसमा लोकतान्त्रिक हिसाबले सोच्ने र त्यसै अनुसार समाधान गर्न सक्ने मानिसहरु हुन्थे। पार्टीको हितमा काम गर्ने मानिसहरु स्वभाविक रुपमा सकारात्मक हिसाबले अघि लाग्थे भन्ने विश्वास थियो। त्यो नै सम्भव हुन सकेन।

तपाईंको असन्तुष्टि के हो त? हिजो एकीकृत समाजवादी पार्टी गठन हुँदै गर्दा एमालेमा बस्ने, अहिले आएर एमाले परित्याग गरी एकीकृत समाजवादी रोज्नुको कुनै मूर्त कारण होला नि?
१० बुँदे सहमतिको आधारमा जुन सम्झौता भएको थियो, त्यसमा नेतृत्व गम्भीर भएन। त्यसलाई कार्यान्वयन गर्न नै चाहेनन्। त्यही कारण नै एमालेबाट निस्कनुपर्ने बाहेक अर्को उपाय न देखिएपछि अहिलेको अवस्था आएको हो। 

दश बुँदे सहमतिको विषयलाई लिएर एमाले उपाध्यक्ष भीम रावल पनि असन्तुष्ट छन्। रावलसँग पनि तपाईंहरुको केही कुराकानी, सल्लाह भएको छ कि? 
उहाँसित कुराकानी त भइरहन्थ्यो। हामीले उहाँलाई जिल्लाको यस्तो परिस्थिति छ भनेर जानकारी गराएकै थियौं। १० बुँदे कार्यान्वय हुनुपर्छ भन्ने साथीहरुले त्यो लागू हुनुपर्छ भनिरहनुभएको थियो। केपी ओलीले फरक व्यवहार गर्नुभयो भन्ने नै हो। भीम रावलले पनि अहिले यातना पाइरहनु भएको नै छ। एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा उहाँसँग समन्वय त भएन। तर, एकीकृत समाजवादीमा जाने निर्णय गर्दैछौं भनेर भने सुनाएका हौं। हामी जाने कुरामा उहाँले बिमति जनाउनुभएन। किनभने तपाईंहरुको आफ्नो परिस्थिति होला, तपाईंले यातना भोगिरहनुभएको छ। मैले पनि भोगिरहेको छु भन्नुभयो। म १० बुँदेको आफै पनि हस्ताक्षरकर्ता भएकाले केही दिन अझै संघर्ष गर्छु भन्ने आशयको कुरा उहाँले गर्नुभयो। हामीले हाम्रो निर्णय चाहिँ उहाँलाई सुनाएका थियौं। 

तपाईंको नेतृत्वमा एमालेका कति जना नेता/कार्यकर्ता एकीकृत समाजवादी प्रवेश गर्नुभयो? 
कमिटीको संरचना मात्रै होइन, पार्टीका सदस्यहरुको समेत संरचना हेर्दा खेरी हामी ७५ प्रतिशत बहुमत साथीहरु एकमुष्ट हिसाबले एकीकृत समाजवालीमा समाहित हुने निर्णय गरेका हौं। 

हिजो माधव नेपालले नयाँ पार्टी दर्ता गर्दा साथ दिनु भएन। अहिले एकाएक त्यहाँ जानुभयो। यसरी भोलिको राजनीतिक भविष्य सुनिश्चित हुन्छ?
सबैभन्दा पहिले भोलिको राजनीति भविष्य सुनिश्चित हुने नहुने भन्दा पनि न्याय बोल्छु की बोल्दैन भन्ने हो। न्यायको लागि लड्छु कि लड्दैन भन्ने हो। म यो देशप्रति जिम्मेवार छु वा छैन। म राजनीति सकारात्मक बाटोमा लागोस भन्ने कुरामा जिम्मेवार छु कि छैन भन्ने हिसाबले सोच्नुपर्छ। त्यो सबै सोचेको हुनाले नै अहिलेको निर्णय गर्नु परेको हो। एकीकृत समाजवादीले कस्तो जिम्मेवारी र भूमिका दिन्छ भन्ने कुरामा अहिलेसम्म छलफल भएको छैन। त्यो त्यति महत्वपूर्ण कुरा पनि रहेन। मुलतः अहिले राजनीति वा हामीले बोकेको समाजवादको विचार, जो तत्कालीन नेकपा एमालेले बोकेको विचारलाई अगाडि बढाउने सन्दर्भमा हामीले धेरै अनुकूलता देखेको हुनाले पनि यो निर्णय गरेका हौं। अहिले कुन पद वा जिम्मेवारी भन्ने ठूलो कुरा भएन।

लामो समय नेकपा एमालेमा रहनुभयो। जिल्ला तहमा रहेर आफूले निर्माण गरेको पार्टी छाड्दै गर्दा असहज भएन?
डडेलधुराको सबै घर (सम्पूर्ण पार्टी) पुरै हाम्रो नियन्त्रणमा छ। आजसम्म काम गरेको पार्टी नेकपा एमाले हो भने, एमालेका पनि विभिन्न संरचना भए। ती हुँदा माथिदेखि तलका धेरै साथीहरु कहीँ कतै होलान्। तर, डडेलधुरामा हामीले बनाएको पुरै घर समाजवादीमा आइसकेपछि त्यति असहज हुन्न। तै पनि पार्टी सुध्रियोस् भन्ने कामना त हुन्छन नै। अब अर्को पार्टी नै भइसकेपछि त्यो पार्टीमा सुधार होस् भन्ने चाहना त सबैको हुन्छ, मेरो पनि छ।