डडेलधुरा कांग्रेसमा विवाद : मंसिर १ देखि केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले धर्ना दिने
2021/11/13, 1:18
 
aa

डेलधुरा कांग्रेसको वडा र पालिका अधिवेशन पुनः नगरिए केन्द्रीय कार्यालय सानेपामा धर्ना तथा अनसन बस्ने चेतावनी दिइएको छ।

डडेलधुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लले वडा र पालिकामा भएको अधिवेशन नाटक मञ्चन मात्रै भएको भन्दै मान्य नहुने बताए।  एक पक्षीय रुपमा गरिएको अधिवेशन अमान्य हुने उनले विज्ञप्ति मार्फत जनाएका छन्। भदौ २५ मा राज्य र पार्टी सत्ता कब्जामा लिएर कथित वडा अधिवेशन गरिएको उनले पत्रकार सम्मेलन गरी बताए।

पुनः अधिवेशनको माग गर्दै मल्ल काठमाडौं आएका छन्। उनले शुक्रबार संस्थापनइतरका नेताहरुलाई भेटेर थप आवाज उठाउन आग्रह गरेका थिए।

वडा र पालिका अधिवेशनप्रति एक पक्षले विरोध जनाउँदा जनाउँदै पनि निर्वाचन समितिले क्षेत्रीय र जिल्ला अधिवेशनको मिति तोकेको छ।

क्रियाशील सदस्यता विवाद समाधान नगरी अधिवेशन हुनै नसक्ने मल्ल पक्षको भनाइ छ। जिल्ला कार्यसमितिले पठाएका ४६० जनाको नाम हटाइएको मल्लले बताए। तल्लो तहबाट सिफारिस नभएका ३१२ जनाको नाम क्रियाशील सदस्यता सूचीमा परेको असन्तुष्ट पक्षको दाबी छ।

विवाद समाधान नगरे मंसिर १ गते देखि केन्द्रीय कार्यालयमा धर्ना तथा अनसन सुरु गरिने मल्लले बताए।