पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता एनपी साउदको क्षेत्रमा अर्का पूर्वमन्त्री रमेश लेखक प्यानलका सबै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। पराजित हुनेमा संविधानसभा सदस्यदेखि जिल्ला सभापतिसम्म रहेका छन्।
कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलबाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिष्पर्धामा उत्रिएका सभापति बोहराले २४४ मत पाएका छन्। क्षेत्र नम्बर २ मा ५ सय ८ मध्ये ५ सय ४ मत खसेको थियो। नेता लेखकका विश्वासपात्र मानिने बोहरासँगै उनको प्यानलबाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ प्रतिष्पर्धा गरेका सबै पराजित भएका छन्।
उक्त प्यानलमा रहेका संविधानसभा सदस्य बलदेव बोहरा, कांग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहरा, नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष सिद्धराज भट्ट पराजित भएका हुन्। ५ सय २ सदर मतमध्ये संविधानसभा सदस्य बोहराले १ सय ९०, पूर्व जिल्ला सचिव बोहराले २ सय १३ र भट्टले २ सय ६ मत पाएका छन्।
कञ्चनपुर–२ बाट खुलातर्फ संविधानसभा सदस्य बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, दलबहादुर बोहरा, लोगबहादुर देउवा, पुस्करराज ओझा, दुर्गाप्रसाद भट्ट, मीनबहादुर सिंह, उद्धव बोहरा र टीका बैज महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।