‘पूर्ण रुपमा फेल भईसकेको सुदूरपश्चिम सरकारको बजेट पनि पुरानै निरन्तरता र वर्तमान प्रति उदासिन’
2020/06/16, 4:37
 
bughet

सोमबार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । सो बजेट जनामुखीभन्दा पनि टाक्रे टुक्रे बजेटमै सिमित भएको र सांसदहरुलाई रिझाउनका लागि मात्रै बजेट ल्याएको टिप्पणी प्रतिपक्ष दलले गरिरहेको छ । कांग्रेसले प्रदेश सरकारले ल्याएको बजेट विगतकै निरन्तरता भएको बताएको छ ।

नेपाली काँग्रेस सुदुपश्चिम प्रदेश  संसदीय  दलका नेता  रणबहादुर रावलले  सुदुरपश्चिम प्रदेश सरकारले  ल्याएको बजेट असफल सरकारले ल्याएको असफल बजेट भएकको बताएका छन् । ‘यो बजेट प्राथमिकता निर्धारण बिना नै अएको छ ।’ संसदीय  दलका नेता रावलले भने ‘सरकार बनेदेखिको सरकार संञ्चालनको असफलता बजेटमा पनि देखिएको छ ।’ अहिलेको आवश्यकता कोभिड १९ रोकथाम, नियन्त्रण र रोजगारी सृजना भए पनि बजेटले त्यसलाई सम्वोधन गर्न नसकेको रावलले बताए । 
नागरिकहरुका अपेक्षा  विपरीत बजेट ल्याएको र आफूले यस बजेटलाई विगतकै निरन्तरता र वर्तमान प्रतिको उदासिनताका विचमा आएको बजेटका रुपमा लिएको नेपाली कांग्रेसका सांसद कर्णबहादुर मल्लले बताए ।

‘बजेट निराशाजनक भयो । कसैलाई काखा कसैलाई पाखा गरेर आयो । न्यायोचित ढंगले आउनु पथ्र्यो आएन’ उनले भने, ‘यो बजेट छारो हान्ने ढंगले ल्याएको बजेट हो ।’ कोरोनाको महामारी फैलिएको अवस्थामा त्यसको रोकथाम साथै भोकमरीबाट नागरिकलाई कसरी बचाउने र बेरोजगारीको समस्या कसरी हटाउने गरी तीन कुरामा बजेट केन्द्रित हुनुपर्ने भएतापनि त्यस विपरित बजेट आएको उनले बताए ।  यस्तै नेपाली काग्रेंसका प्रमुख सचेतक गोविन्द बोहराले ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ ‘युवाको जवानी प्रदेशको लगानी’ जस्ता कविले कविता पढेको जस्ता नारा बनाएर बजेट ल्याएको बताउँछन् । नेपाली कांग्रेसले राखेको धारणा बजेटमा समावेश नभएको आरोप लगाउँदै कोरोना महामारी नियन्त्रण गर्न बजेट आउनुपर्ने भएपनि नआएकोे बताए ।

‘जनताको पक्षमा बजेट आउनु पर्ने हाम्रो माग थियो । तर, आएन । प्रदेश सरकारले उपलब्धीमुलक कार्य विगतमा पनि गरेन् र अहिले पनि गर्दैन’ उनले भने, ‘विगतको बजेट खर्च गर्न नसकेर त्यत्तिकै जाँदैछ । अझ प्रदेश सरकारले बजेट बढाएको छ । बजेट खर्च गर्न नसक्ने सरकार अपाङ भइसक्यो । पूर्ण रुपमा फेल भइसक्यो ।’ असारमा नै कोभिड १९ नियन्त्रण हुन्छ र  साउनदेखि सामान्य जीवन संचालन हुन्छ भन्ने सोचेर बजेट ल्याएको जस्तो देखिएको राववले बताए । कोरोनाको व्यवास्थापन र रोकथाम, राहत र  रोजगारी सृजनाका कार्यक्रम पनि बजेटमा आवश्यकता अनुसार नसमेटिएको रावलले बताए ।

‘बजेट पुर्ण रुपमा वितरणमुखी छ । कोरोनाको व्यवस्थापन र रोकथाम, राहतलाई यसले महत्व दिएको छैन । राहत भनेको खाने कुरा मात्र हैन, अरु सन्दर्भमा पनि लागु हुन्छ । रोजगारी सृजनाका कार्यक्रम पनि बजेटमा देखिएको छैन । यी तीन वटै कुरामा बजेट चुकेको छ ।’ संसदिय दलका नेता रावलले भने, ‘यसअघिका बर्षमा रहेका तर कार्यान्वयन गर्न नसकेका कार्यक्रमहरु मात्रै यसमा समेटिएका छन् । हरेक बर्ष तिनै कार्यक्रम दोहोरयाउनुले  कार्यान्वयन नगर्ने क्रम फेरि  दोहिोरिने बजेटले देखाएको छ ।’