कांग्रेस बैतडीको सभापतिमा क्यान अध्यक्ष चतुरबहादुर चन्द विजयी
2021/11/24, 10:44
 
ss

नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्। बुधवार बिहान सकिएको  मतगणना अनुसार चन्दले ८ सय ९ मत ल्याएर कांग्रेस बैतडीको सभापतिमा निर्वाचित भएका हुन्।

चन्द नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४ सय ८९ मत मात्रै प्राप्त गरेका छन्। चन्द र भट्ट प्यानल सहित चुनावमा होमिएका थिए। चन्द प्यानलबाट एकजना उपसभापति बाहेक अन्य सबै पदाधिकारीमा विजयी भएका छन्।

उपसभापतिमा शिवराज भट्ट प्यानलका बिरबहादुर बिष्ट ६५८ मत सहित विजयी भएका छन् । यस्तै उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मत प्राप्त गरेर निर्वाचित भए। 

उपसभापति पदमा पराजित चन्द प्यानलका रमेशदत्त पाण्डेले ६०८ र भट्ट प्यानलका हरिसिंह धामीले ५५२ मत मात्रै प्राप्त गर्न सके। 

सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द र देवराज जोशी क्रमशः ६४० र ६३३ मत सहित विजयी भएका छन्। 

उनीहरुका निकटम प्रतिद्धन्द्धी रमेशसिंह भण्डारी र कर्णबहादुर बोहराले क्रमशः ५९५ र ५२९ मत ल्याए।

यस्तै सहसचिवमा पदमा चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द  र दशरथसिंह चाड क्रमशः ६६६ र ६५४ मत ल्याएर विजयी भएका छन्। भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत मात्रै ल्याउन सके।