कैलालीमा काँग्रेसका १३० महाधिवेशन प्रतिनिधि निर्वाचित
2021/11/25, 12:11
 
dd

कैलालीमा नेपाली काँग्रेसका एक सय ३० जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। काँग्रेस कैलालीको प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार ५ निर्वाचन क्षेत्रबाट एक सय २५ जना र ५ क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्थाअनुसार एक सय ३० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।

‘कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रकाश शाह, निर्वाचन क्षेत्र नम्बर २ मा विष्णुप्रसाद ढकाल, ३ नम्बर क्षेत्रमा रिता चौधरी, ४ नम्बर क्षेत्रमा बसन्त रोकाया र क्षेत्र नम्बर ५ मा भीम पडाल क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्,’ उनले भने। 

निर्वाचित भएका ५ क्षेत्रीय सभापति नै संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। यस्तै महाधिवेशन प्रतिनिधिमा चुनाव लडेर विजयी भएका अन्य एक सय २५ जनामध्ये १० जना मात्रै संस्थापन इतर पक्षका छन्। 

देउवा पक्षका काँग्रेस कैलालीका एक नेताका अनुसार नारायणदत्त मिश्र, भक्तबहादुर थापा, गिता कठरिया, दीपक जोशी, जिवन श्रेष्ठ, रामचरण चौधरी, सुमन सन्ज्याल, कमल शाह, क्षितिज भण्डारी र रामबहादुर कलेल संस्थापन इतर पक्षमा छन्।

‘५ क्षेत्रीय सभापतिसहित एक सय २० जना महाधिवेशन प्रतिनिधि भने देउवा पक्षका हुन्,’ ती नेताले दाबी गरे। संस्थापन इतर पक्षकै भनिएका सुनिलकुमार भण्डारीले भने अहिले आफूँ कुनै पक्षमा नरहेको बताएका छन्। ‘मैले अहिले नै यो पक्ष वा त्यो पक्ष भनेर छुट्याएको छैन,’ भण्डारीले भने, ‘केन्द्रका नेताहरुंग छलफल गरेर मात्रै महाधिवेशनमा कसलाई सहयोग गर्नेबारे टुंगो लगाउछु।’ 

केही समय अगाडि उनले आफूँ देउवा पक्षमै रहेको पनि बताएका थिए। यता पौडेल पक्षका एक नेताले भने संस्थापन इतरबाट १० जनाभन्दा बढी महाधिवेशन प्रतिनिधि भएको दाबी गरे।

सुदूरपश्चिमका तीन जिल्लामा संस्थापन र दुईमा इतर पक्ष विजयी
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन सम्पन्न भएको छ। देउवाको गृहजिल्ला डडेल्धुरा सहित एउटा मात्र निर्वाचन क्षेत्र भएको डोटी, बैतडी, बझाङ र बाजुरामा अधिवेशन सम्पन्न भएको हो।

डडेल्धुरामा भीमबहादुर साउँद, डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह, बैतडीमा चतुरबहादुर चन्द, बाजुरामा रामसिंह रावल र बझाङमा खडकबहादुर बोहरा जिल्ला सभापतिमा निर्वाचित भएका छन्। बझाङका बोहरा, डडेल्धुराका साउँद र डोटीका सिंह संस्थापन अर्थात देउवा पक्षका हुन् भने बाजुराका रावल र बैतडीका चन्द संस्थापन इतरबाट विजयी भएका हुन्। पाँच जिल्लामा भएको निर्वाचनमा महाधिवेशन प्रतिनिधिमा भने संस्थापन पक्ष अगाडि देखिएको छ। 

अब एउटा मात्रै निर्वाचन क्षेत्र भएको दार्चुलामा जिल्ला कार्यसमिति चयन गर्न बाँकी छ। दार्चुलामा भने वर्तमान सभापति ललित बोहरा र उपसभापति अमरसिंह धामीले सभापतिका लागि मनोनयन दर्ता गरेका छन्। उनीहरु दुबै दिलेन्द्र बडू निकट छन्। दुई निर्वाचन क्षेत्र रहेको अछाम, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर र पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा अधिवेशन हुन बाँकी छ।