काँग्रेस अधिवेशन: कैलालीमा देउवा समूहको बर्चश्व
2021/11/27, 9:42
 
ss

सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा काँग्रेसको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि र अन्य तल्ला कमिटीहरुमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । पाँच वटै निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा देउवा निकट उम्मेदवार विजयी भएका छन् ।

यस्तै जिल्लाभरि निर्वाचनबाट चयन भएका एक सय २५ जना महाधिवेशन प्रतिनिधिमध्ये एक सय १३ जना देउवा निकट छन् । १२ जना महाधिवेशन प्रतिनिधिमात्र संस्थापन इतर पक्षबाट विजयी भएका काँग्रेस नेताहरुले बताएका छन् । वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रको नेतृत्वमा पनि देउवा समूहकै बर्चश्व देखिएको छ । 

कैलालीमा संस्थापन इतर समूह निकै कमजोर छ । बलियो रहेको देउवा समूहमै गुटउपगुट छन् । त्यसैले महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिदेखि, वडा सभापतिसम्ममा देउवा पक्षबीचमै प्रतिस्पर्धा भएको थियो। देउवा पक्षमै दुई गुटले चुनावमा दुई प्यानल भएकोले आफूअनुकुल प्यानलमा सहभागी भएर महाधिवेशन प्रतिनिधिमा संस्थापन इतर समूहका केही उम्मेदवार विजयी भएका हुन् । 

प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले गत निर्वाचनमा लडेको कैलाली क्षेत्र नम्बर ५ को सभापतिका लागि देउवा समूहकै पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिका लागि पनि अधिकांश प्रत्यासी देउवा समूहकै थिए । प्रदेश सभा क्षेत्रीय सभापति बन्न पनि आरजुको क्षेत्रबाट नेताहरुबीच हानथाप भएको थियो । आरजु क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएकी थिइन् । आगामी निर्वाचनमा उनी पुनः उठ्ने र यहाँको नेतृत्वमा आउन सके नेतृत्वसँग सिधा सम्बन्ध बनाउन सकिने आशाले क्षेत्र नम्बर ५ मा उम्मेदवारका आकांक्षी बढी भएका हुन् ।

क्षेत्र नम्बर १ को सभापतिमा प्रकाश शाह, २ मा बिष्णुप्रसाद ढकाल, ३ मा रिता चौधरी, ४ मा बसन्त रोकाया र क्षेत्र नम्बर ५ मा भीम पडाल विजयी भएका छन् । उनीहरु सबै देउवा संस्थापन इतर समूहका पूर्वजिल्ला सभापति गोविन्दराज जोशी, वर्तमान जिल्ला सचिव पुर्ण कुँवर, संविधान सभा सदस्य बुद्धिसागर चौधरी, पूर्वउपसभापति बीरबहादुर हमाललगायत नेताहरु महाधिवेशन प्रतिनिधिमा पराजित भए । जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी प्रदेश सभा क्षेत्रीय सभापतिमा पराजित भए ।

आन्तरिक गुटबन्दीले देउवा समूहकै केही नेताहरु पनि महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिमा पराजित भएका छन् । क्षेत्रीय सभापतिहरु भुवन अधिकारी र दिनेश जोशी क्षेत्रीय सभापतिमै पराजित भए । पूर्वसांसद सुशीला स्वाँर, काँग्रेसको गोदावरी नगरपालिकाका पूर्व सभापति हेमप्रकाश उप्रेती, फकिरसिंह कडायत, लक्ष्मीराज पाठक, जंगबहादुर साउँद लगायत नेताहरु पनि निर्वाचित हुन सकेनन् । उप्रेती र पाठक वडामै क्षेत्रीय प्रतिनिधिमा र अरु नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

यहाँका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रमा देउवा निकट स्थानीय नेताहरु छुट्टाछुट्टै प्यानल बनाएर क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिको लागि प्रतिस्पर्धामा उत्रिएका थिए । क्षेत्र नम्बर २ मा भने देउवा र पौडेल पक्ष प्रतिस्पर्धा भएको थियो । यो क्षेत्रमा पौडेल पक्ष अन्य क्षेत्रको तुलनामा बलियो रहेको छ । कञ्चनपुरको अधिवेशनमा पनि देउवा समूहमै दुई प्यानल बनेका थिए । कैलाली, कञ्चनपुरमा देउवा समूहमा देखिएको दुई गुटमध्ये एउटा गुटलाई नेता रमेश लेखक र अर्को गुटलाई नेता एनपी सावदको समर्थन रहेको छ ।

वडा, पालिका, क्षेत्र र महाधिवेशन प्रतिनिधिको चुनावपछि जिल्ला अधिवेशनको सरगर्मी बढेको बेला जिल्ला अधिवेशन भने एकाकए स्थगित गरिएको छ । शुक्रबार हुने भनिएको अधिवेशन अनिश्चित समयका लागि स्थगित भएको नेपाली काँग्रेस कैलालीका प्रचारप्रसार समिति संयोजक नृप सुनारले जानकारी दिए ।