दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिंकर पुग्न सीमापारि भारतको धार्चुलाबाट ७–८ घण्टाको बसको यात्रा गर्नुपर्छ। नेपालबाट यी दुई दुर्गम गाउँ पुग्ने मोटरबाटो त परै जाओस् गोरेटो बाटो पनि छैन। भएको गोरेटो बाटो पहिरोले क्षतविक्षत छ। सोहीकारण जनगणना सुरु हुनुअघि भएको घर सूचीकरण कार्यका लागि भारतीय प्रशासनबाट पास बनाएर जिल्ला जनगणना कार्यालयको टोली धार्चुलाबाटै छाङरु र तिंकर पुगेको थियो।
मूल जनगणनाका लागि कात्तिक २५ देखि मंसिर ९ सम्मको समय तोकिएको थियो। त्यसका लागि पुनः एकपटक जनगणना कार्यालयको टोली ती गाउँमा जानुपर्ने भयो। भारतीय प्रशासनलाई २५ गते नै कार्यालयले पास उपलब्ध गराइदिन अनुरोधसहित पत्र लेख्यो। तर, यस पटक भारतीय प्रशासनले पास दिनै मानेन। किनभने भारतीय नियन्त्रणमा रहेका लिम्पियाधुरा, कालापानीको पनि गणना गरेर नेपाली टोली फर्किन्छ कि भन्ने डर भारतलाई भयो। भारतीय प्रशासनलाई पास उपलब्ध गराइदिन भन्दै पटकपटक अनुरोध गरियो तर पनि उसले चासै देखाएन।
‘हामीले जनगणना सुरु भएको मिति कात्तिक २५ गतेबाट नै प्रक्रिया थालेका थियौँ। भारतबाट पास पाइन्छ भन्नेमा आशावादी थियौँ,’ सहायक जिल्ला जनगणना अधिकृत खगेन्द्र कार्कीले भने, ‘एकदुई दिन भनेर अनेक बहाना गर्दै अल्झाइरह्यो। अन्ततः भारतले पास दिन्नौँ भनेपछि जनगणनाको समय ढल्किँदै गएकाले आफ्नै देशका नागरिक जनगणनामा छुट्ने हुन कि भन्ने चिन्ताले हामीलाई सताउन थालेको थियो।’
मंसिर २ गतेसम्म पनि भारतले धार्चुलाबाट छाङरु र तिंकर जाने पास दिएन। घरपरिवार सूचीकृत गर्दा तिंकरमा ३३ र बाँकी छाङरुमा गरी जम्मा ११३ परिवार सूचीकृत भएका थिए। तर भारतले पास उपलब्ध नगराएपछि यी परिवारहरु जनगणनामा छुट्ने जोखिम बढ्दै गयो। त्यसपछि के गर्ने भन्नेबारे कार्यालयमा छलफल भयो। ‘सबैजनाको संकल्प जनगणनामा देशकै भूभागलाई नछुटाऔँ भन्ने थियो। त्यसका लागि अब नेपालतर्फकै एकदमै जोखिमको बाटोबाट जानेबाहेक अन्य विकल्प थिएन,’ कार्की भन्छन्, ‘त्यही बाटो गएर भए पनि छाङरु र तिंकर पुगेर जनगणना गर्ने निष्कर्षमा हामी पुग्यौँ।’
पछि हटे गणक, अघि बढे कार्की
जनगणना कार्यालयले यसअघि नै उक्त क्षेत्रका लागि एक जना गणक तोकिसकेको थियो। उनी भारतको बाटो हुँदै गएर जनगणना गराउन समेत तयार थिए। तर नेपालको बाटोबाट जाने भएपछि उनी पछि हटे। उनी स्थानीय थिए र उनलाई नेपालको बाटोबाट जानु भनेको ज्यान माया मार्नुसरह भएको महसुस भइसकेको थियो। गणकले जान सम्भव नभएको बताएपछि चुनौती उठाउन तयार भएका थिए, सहायक जनगणना अधिकृत कार्की। र, उनलाई साथ दिन तयार भए कार्यालय सहयोग लोकेन्द्र टेर।
मंसिर ३ गते बिहानै खलंगाबाट हिँड्ने योजना बन्यो। उनीहरुले जनगणना सामग्री, न्यायो लुगा र खानेकुराका पोका पुन्तुरा बनाए। लंगाबाट ४–५ घण्टामा पुगिने हुतीसम्म जिप जान्थ्यो। ६ बजे जिपमा चढेका उनीहरु ११ बजे हुती पुगे। त्यहीँ खानपिन भयो। त्यसपछि ६–७ घण्टा हिँडेरै उनीहरु दुब्लिङ पुगे। दुब्लिङ पुग्दा बेलुकाको ७ बजिसकेको थियो। सो दिन उनीहरुको बास त्यहीँ भयो।
त्यसअगाडिको बाटो भने दुवैलाई थाहा थिएन। त्यसैले एकजना स्थानीयलाई साथमा लिएर बिहान ४ बजे नै उनीहरु अघि बढे। छाङ्रुसम्मको बाटो सम्झिँदा अहिले पनि कार्कीको शरीमा काँडा उम्रिन्छ। छाङरु पुगुन्जेल नै महाकालीसँग जोडिएको भीरको बाटो हिँड्नुपथ्र्यो। भित्तामा उम्रिएका खर, झार समात्दै अघि बढ्नुपथ्र्यो। ‘पुरानो बाटो बाढीपहिरोले बगाइकेको थियो। खर समात्दै भिरालोमा बाटो बनाउँदै अघि बढ्नुपथ्र्यो,’ कार्की सम्झन्छन्, ‘खुट्टा पनि चिप्लियो भने सिधै तल महाकालीमा बजारिइन्थ्यो। गल्तीको गुन्जायसै थिएन। एक गल्तीले पनि पनि ज्यान जानसक्थ्यो।’
बीचमा भेटिने खर्कमा उनीहरुले दुई रात बिताए। त्यसपछि मंसिर ६ गते १२ बजे छाङरु पुगे। जनगणनाको अन्तिम दिन नजिकिँदै गएकाले छाङरु पुगेलगत्तै उनीहरु केहीबेर सुस्ताएर जनगणनाको काममा लागिहाले। त्यस दिन छाङरुमै बास भयो। अर्को दिन (मंसिर ७) गते उनीहरुले सुरुमा तिंकरको जनगणना सकेर फेरि छाङरु फर्कने योजना बनाए। किनकि तिंकरमा कतिबेला हिउँ पर्ने हो टुंगो थिएन। त्यसदिन बिहानै ४ बजे उनीहरु तिंकरका लागि हिँडे। उनीहरु १० बजे तिंकर पुगेका थिए। आराम गर्ने समय नै थिएन। खाना खाएर उनीहरुले ३३ परिवारको गणना सके र लगत्तै छाङरु फर्किए।
छाङरु पुग्दा रातको ८ बजिसकेको थियो। त्यसदिन खाना खाएर आराम गरेका उनीहरुले मंसिर ८ र ९ गते छाङरुका ८० परिवार र त्यहाँ रहेका सशस्त्रको जनगणना सम्पन्न गरे। ज्यान हत्केलामा राखेर दुर्गम गाउँको जनगणना सम्पन्न गर्दा आफूलाई प्रसन्नता प्राप्त भएको कार्की बताउँछन्। ‘त्यसरी जोखिमपूर्ण यात्रासहित काम सम्पन्न गर्दा हामीमा उत्साहको सीमै थिएन। हामीले देशको दुर्गम भूमिलाई जनगणनामा सामेल गर्न सक्षम भएका थियौँ,’ कार्की भन्छन्, ‘त्यहाँबाट फर्केपछि धेरैले हाम्रो कामको सराहना गर्नुभयो। काम गर्न सकेकामा सन्तुष्ट छौँ।’
लगातार चार दिन हिँडेर जोखिमपूर्ण यात्रा गरेका उनीहरुलाई फर्कंदा पनि उत्तिकै चुनौती हुने थियो। तर, उनीहरुले नसोचेको खबर पाए। स्थानीय प्रशासन, जनगणना कार्यालयलगायतको समन्वयमा हेलिकोप्टरको व्यवस्था गरिएको रहेछ। उनीहरु छाङरुबाट हेलिकोप्टर चढेर खलंगा झरे। खलंगामा पुग्दा उनीहरुलाई सबैले बधाई दिँदै पिठ्यु थप्थपाएका थिए। ‘सोच्न पनि नसकिने ठाउँमा जनगणना गरायौँ। जोखिम लिएर आनन्द आउँदो रहेछ,’ कार्कीले लामो श्वास लिँदै भने।