चित्रबहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार स्थापना
2021/11/28, 11:27
 
dd

समाजसेवी तथा कैलाली जनपुस्तकालयका आजीवन सदस्य स्वर्गीय चित्रबहादुर कार्कीको स्मृतिमा ’चित्रबहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार’ स्थापना गरिएको छ ।  कैलाली जनपुस्तकालय मार्फत् सञ्चालन हुने गरि पुरस्कार स्थापना गरिएको हो । 

स्वर्गीय कार्कीकी श्रीमति भृकुटी गिरि कार्कीले अक्षयकोष स्थापनार्थ  १ लाख ५१ हजार रकमको चेक साहित्यकारहरूको उपस्थितिमा पुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीलाई हस्तान्तरण गरेकीछिन् । 

अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष एक जना समाजसेवीलाई छनौटका आधारमा नगद ११ हजारसहित ’चित्रबहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार’बाट सम्मानित गरिने पुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले बताए । अक्षयकोषको व्याजबाट सो पुरस्कार प्रदान हुने र कैलाली जनपुस्तकालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने अध्यक्ष डाक्टर जोशीले बताए ।

स्वर्गीय कार्कीकी श्रीमती भृकुटीले पुस्तकालय भवन निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले थप २५ हजार रकम पुस्तकालयलाई प्रदान गरेकीछिन् ।