कांग्रेस नेता भन्छन्, ‘अधिवेशनको ‘साइड इफेक्ट’ आगामी संसदीय निर्वाचनमा देखिनसक्छ’
2021/11/30, 5:01
 
da

कांग्रेस सभापति शेरबहादुर देउवाका दुई विश्वासपात्र हुन् – एनपी साउद र रमेश लेखक । सुदूरपश्चिममा उनीहरू देउवाका ‘दाहिने हात’ जस्तै हुन् । पार्टीमा हुने हरेक समस्या समाधानमा यी दुई नेता जहिल्यै देउवासँंगै हुन्छन् । कञ्चनपुरमा भने यी दुई नेता एक–अर्काका कट्टर विरोधीजस्तै छन् । दुवै नेता एक–अर्कामाथि हाबी हुन खोज्छन । पार्टीको आन्तरिक र बाह्य प्रतिस्पर्धामा यी दुई फरक ध्रुवमै उभिने गर्छन ।

पछिल्लो पटक कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडादेखि पालिका हुँदै प्रदेशसभा प्रतिनिधि, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र जिल्ला समितिको अधिवेशनका क्रममा पनि यी दुई एकअर्काका प्रतिस्पर्धी नै देखिए ।

No description available.

वडास्तरदेखि एक–अर्का निकटकालाई रोक्न दुवै पक्षले सक्दो प्रयास पनि गरे । स्थानीय तहको निर्वाचन होस् वा संसदीय निर्वाचन– दुवैलाई अन्तरघातको आरोप पनि लाग्ने गर्छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनमा लेखक र साउदको गुटबन्दीका कारण जिल्ला सभापतिदेखि पार्टीका पुराना नेतासमेत पराजित भए । दुवैले आफ्नो वर्चस्व भएको क्षेत्रमा एकअर्कालाई निषेधजस्तै गरे ।

‘दुवैले व्यक्तिगत राजनीतिलाई व्यवस्थापन गर्न खोज्दा अन्तरद्वन्द्व जस्तै भएको छ,’ दुई कार्यकाल पार्टीको जिल्ला सचिव भइसकेका भोजराज बोहराले भने, ‘पार्टी र कार्यकर्ताको भन्दा पनि भावी राजनीतिको चिन्ता हो ।’ दुई नेताबीचको द्वन्द्वको असर स्थानीय तह र संसदीय निर्वाचनमा पनि देखिने उनले बताए । दुवै नेतालाई देउवाको उत्तराधिकारीका रूपमा हेरिन्छ । यही कारणले पनि एकअर्कोलाई कमजोर पारेर मात्रै राजनीतिक उचाइ लिन सकिने उनीहरूको बुझाइ रहेको कांग्रेसकै नेताहरू बताउँछन ।

‘दुवैलाई आफू शक्तिशाली देखाउनुपरेको छ,’ कांग्रेसका पुराना नेता गोपालसिंह गुरुङले भने, ‘तर कार्यकर्तालाई रिझाएर जसले शक्ति आर्जन गर्न सक्छ, त्यही सफल राजनीति हो ।’ शनिबार सम्पन्न जिल्ला अधिवेशनमा पनि यी दुई नेताले गुटगत प्यानल खडा गरे । लेखकले पदम बोगटीको नेतृत्वमा प्यानल खडा गरे भने साउदले बहादुरसिंह थापाको नेतृत्वमा ।

No description available.

साउदलाई संस्थापनइतरका नेता दिवान विष्टले पनि साथ दिए । विष्ट र साउदले पालिकादेखि प्रदेशसभा प्रतिनिधि, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र जिल्ला अधिवेशनसम्म सहकार्य गर्दै आएका थिए । सभापतिमा लेखकनिकट बोगटी निर्वाचित भए । उपसभापति र सचिवमा साउदनिकट उम्मेदवारहरू विजयी भए । सहसचिवमा लेखक र साउदका एक÷एक जना विजयी भए ।

‘आफ्ना कार्यकर्तालाई सबैले जोगाउन र माथि उठाउन खोज्छन्,’ गुरुङले भने, ‘यसकै असर अहिले विभिन्न तहको अधिवेशनमा देखियो ।’ दुई नेताको गुटबन्दीले महाधिवेशन प्रतिनिधिमा पार्टीका जिल्ला सभापति हरिप्रसाद बोहरा नै पराजित भए ।

उनी अर्को कार्यकाल सभापतिको तयारीमा थिए । बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि उनको विकल्पमा लेखकले बोगटीलाई उम्मेदवार बनाएका हुन । जबकि जिल्ला अधिवेशनको अघिल्लो दिनसम्म उनी साउदकै खेमामा थिए ।

No description available.

महाधिवेशन प्रतिनिधिमा दुवैले आफ्नो निर्वाचन क्षेत्रमा एक–अर्काका उम्मेदवारलाई पराजित गर्न लागिपरे । लेखकको पुख्यौली घर बैतडी हो । साउदको डडेलधुरा । दुवै नेताले पार्टीभित्र बैतडी र डडेलधुराका सेन्टिमेन्टसमेत क्यास गर्दै आएका छन् ।

‘दुई नेताको जुँगाको लडाइँमा युवा कार्यकर्ता पेलिँदै छन्,’ कांग्रेस नेता तर्कराज भट्टले भने, ‘कार्यकर्ताको भ-याङ उक्लेर कांग्रेसलाई खेलमैदान बनाए ।’ अहिले देखिएको गुटबन्दीले भविष्यमा दुवै नेता आफू जित्नेभन्दा पनि एकअर्कालाई हराउन लागिपर्ने उनले बताए ।