कांग्रेसको डडेल्धुराका नेता कार्यकर्ताको अनशन स्थगित
2021/11/30, 5:36
 
da

पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका डडेल्धुरा जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् । उनीहरुले मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा रिले अनशन तोडेका हुन् । डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले आफूहरुको माग अब फरक रुपले अघि बढाउने भन्दै अनशनको कार्यक्रम स्थगित गरेको जानकारी दिए ।

जिल्लाबाट पठाएका क्रियाशील सदस्यको नाम हटाएर र केन्द्रबाट आफुखुशी नाम थपेर वडा अधिवेशन गर्न लागिएको भन्दै कांग्रेसको जिल्ला समितिले भदौ २२ गतेको वडा अधिवेशन स्थगित गरेको थियो । तर जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले अधिवेशन अघि बढाएका थिए । हाल डडेल्धुरामा स्थानीय तहको र जिल्ला अधिवेशनसमेत सम्पन्न भइसकेको छ ।

सोमबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको जिल्ला अधिवेशनलाई मान्यता दिने निर्णय गरेको थियो । जिल्ला सभापति मल्लले निर्वाचन समितिले प्रमाणको बेवास्ता गर्दै विवेक बन्धक राखेर निर्णय गरेको बताए । उपसभापति विमलेन्द्र निधिले डडेल्धुराको नेता कार्यकर्ताको मागप्रति आफ्नो ऐक्यवद्धता रहेको बताए ।

पार्टी विधान र निर्वाचन निर्देशिकामा कुनै पनि तहको निर्वाचन गराउँदा सम्बन्धित तहको समितिको सहमतिमा गर्नुपर्ने व्यवस्थ भए पनि बाइपास गर्नु गम्भीर भएको उनको भनाइ छ । यसअघि पनि आफूले डडेल्धुरामा पुनः अधिवेशन गर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेको निधिले बताए । उनले डडेल्धुराका नेता कार्यकर्ताले आफ्नो माग शालीन र मर्यादित ढंगले राखेको भन्दै धन्यवाद दिए ।