नेपाली काँग्रेस सुदुरपश्चिमको प्रदेश सभापतिमा पौडेल समुहबाट नारायणदत्त मिश्र उम्मेदवार 
2021/12/03, 12:00
 
dd

नेपाली काँग्रेसको प्रथम सुदूर पश्चिम प्रदेश सभापतिमा रामचन्द्र पौडेल समूहबाट नारायण दत्त मिश्र उम्मेदवार बन्ने तय भएको छ । पौडेल समूहले सभापतिमा मिश्रलाई उम्मेदवार बनाउने निधो गरेको हो । एक नेताले भने– नतिजा जस्तो सुकै आएपनि हाम्रो समूहबाट मिश्र सभापतिका उम्मेदवार हुने तय भएको छ ।

नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल र डाक्टर शेखर कोईरालाले नै मिश्रलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेको बताईएको छ । बरिष्ठ नेता पौडेलको अत्यन्त निकट रहेका मिश्र नेपाली काँग्रेस कैलालीका पुराना नेता हुन् । जिल्ला विकास समिति कैलालीका सभापति रहीसकेका मिश्र पौडेल–कोईराला समूहका साझा उम्मेदवारका रुपमा प्रदेश सभापतिका रुपमा प्रतिस्पर्धा गर्नेछन् । 

उनी लामो समयदेखि कैलालीमा नेपाली काग्रेंसको राजनितिमा सक्रिय रहदै आएका छन् । २०४८ सालको निर्वाचनमा प्रतिनिधि सभाको टिकट पाएका उनले आफ्नो टिकट रामजनम चौधरीलाई दिएका थिए । ४८ देखि अहिलेसम्म उनी सधैं महाअधिवेशन प्रतिनिधिमा निर्वाचित हुदैं आएका छन् । 

‘मैले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छु ।’ कैलाली काँग्रेसका पूर्वसभापति मिश्रले भने । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै सभापतिमा उम्मेदवारी दिन मिश्रलाई मनाएको एक नेताले बताए । यसअघि संस्थापन इतर पक्षबाट गोपाल गुरुङलाई सभापतिमा उठाउने चर्चा थियो ।

धनगढीमा हिजो बसेको पौडेल समूहको बैठकले भने गोपाल गुरुङलाई सभापतिमा उठाउने निर्णय गरेको थियो । केन्द्रको निर्णयपछि भने मिश्रले सभापति पदमा उम्मेदवारी दिने भएका हुन् । यद्दपि देउवा–पौडेल पक्षधर बीचमा सहमतीका लागि पनि प्रयास जारी छ । पौडेल समूहबाट महामन्त्री पदमा आकांक्षी धेरै भएका कारण सहमती जुट्न सकेको छैन ।

संस्थापन अर्थात शेरबहादुर देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका छन् । देउवा पक्षका नेताहरु नै पूर्वमन्त्री वीरबहादुर बलायरलाई सर्वसम्मत सभापति बनाउन छलफलमा सक्रिय छन् ।