कांग्रेस हाँक्दै तेस्रो पुस्ताकी रीता चौधरी
2021/12/03, 12:27
 
dd

बाजे र बुबाको बिंडो थाम्दै कैलालीको घोडाघोडीकी रीता चौधरी क्षेत्रीय सभापतिमा निर्वाचित भएर नेपाली कांग्रेस हाँक्न लागेकी छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिंदै गर्दा वडा, क्षेत्रीय र जिल्लास्तरका अधिवेशनहरू सम्पन्न भएर प्रदेश अधिवेशन चलिरहेका छन्। कांग्रेसका अधिवेशनबाट थुप्रै स्थानमा युवा नेतृत्व आएका छन्।

सुदूरपश्चिममा भने थारू समुदायबाट नेतृत्वमा आएकी रीताकुमारी चौधरी चर्चामा छिन्। उनी कैलालीको निर्वाचन क्षेत्र ३ मा क्षेत्रीय सभापतिमा निर्वाचित भएकी छन्। घोडाघोडी नगरपालिका-१०, थेवैकी चौधरीले आफ्ना प्रतिस्पर्धीलाई दोब्बरभन्दा बढी मतले पछि पारेकी हुन्। उनले ३०८ मत प्राप्त गर्दा प्रतिस्पर्धी गोकेन्द्र भण्डारी १५३ मतमा सीमित भए। उनी आफ्नो परिवारमा कांग्रेसको तेस्रो पुस्ताका रूपमा आएकी छन्। २०३२ सालमा जन्मेकी उनी यसअघि भने सामाजिक कार्यमा सक्रिय थिइन्।

२०५४ सालमा मोहन्याल माध्यमिक विद्यालयबाट एसएलसी गरेकी उनले २०५८ सालमा कैलाली बहुमुखी क्यापसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरिन्। स्नातक प्रवेश गरेकै वर्ष स्थानीय विकास कोषबाट सञ्चालित कार्यक्रममा सामाजिक परिचालक भएर काम शुरू गरिन्। यस मार्फत आर्थिक स्थितिमा कमजोर, जनचेतनाको कमी भएका, हिंसापीडित महिलाका समस्याबारे प्रत्यक्ष जानकारी लिन पाइन्। जसले उनलाई राजनीतिमा आउन प्रेरणा दियो।

उनका बाजे कुकाली डंगौरा थारू पञ्चायतकालदेखि नै भलमन्सा थिए। जसको कारण राजनीति गर्नेहरू घरमा आइरहन्थे। बाजेपछि उनका बुबा पनि राजनीतिमै होमिए। उनका बुबा तीन पटक पहलमानपुर गाउँ कार्यसमितिको सभापति भएका थिए। अहिले पनि राजनीतिमै सक्रिय छन्।

उनले २०४८ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता लिएकी हुन्। उनी तेह्रौं महाधिवेशनमा महिला कोटाबाट महासमिति सदस्य बनेकी थिइन्।  घरको काम, पढाइ, जागीर र राजनीति सँगसँगै अघि बढाएकी उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। बाजे र बुबाको बिंडो थाम्दै उनी क्षेत्रीय सभापति बनेकी छन्। यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन्।

मेयरमा पराजित भए पनि उनले राजनीतिमा हार मानिनन्। र, त्यही आत्मविश्वासले अहिले क्षेत्रीय सभापतिमा जित हासिल गरेकी छन्। सभापतिमा निर्वाचित भएसँगै उनले युवा, महिला तथा पछाडि पारिएको वर्गलाई उद्यम क्षेत्रमा आकर्षित गर्दै आर्थिक सशक्तीकरणमा भूमिका निर्वाह गर्ने योजना बनाएकी छन्।

संविधानमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरिएको भए पनि नेपाली कांग्रेसमा अहिले पनि महिलाको सङ्ख्या २२ प्रतिशत मात्रै छ। संविधानको त्यही व्यवस्थालाई टेकेर आफ्नो क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउने उनको अठोट छ। “पार्टी जुनसुकै होस्, महिलाहरू पनि नेतृत्वमा आउनुपर्छ। मातृशक्तिमा ठूलो तागत छ, अवसर पाएमा महिलाले समाज विकासमा कायापलट गर्न सक्ने खुबी राख्छन्,” उनी भन्छिन्।