‘हाई प्रोफाइल’ पतिको छायाँमा पूर्व लडाकू पत्नीहरू
2021/12/04, 8:02
 
ss

सरु थारु अर्थात् संविधानसभा सदस्य, प्रदेश सांसद तथा माओवादी केन्द्रका नेता वीरमान चौधरीकी पत्नी । उनको संक्षिप्त परिचय नै यही हो अचेल । उनको दिनचर्या चुल्होचौको सरसफाई, हरेक बिहान २–३ चरणमा चिया बनाउनु र पाहुनाको सेवासत्कार गर्नुमै बित्छ । छोराछोरीलाई स्कूलको लागि तयार गरेर अनि बल्ल राजनीतिक भेटघाटका लागि समय पाउँछिन् उनी तर जनयुद्धकालीन सैन्य लडाकू समेत रहेकी उनले आफूले बनाएको परिचय लुप्त छ ।

परिवार, पार्टी भित्रको अन्तर्संघर्षसँग जुधिरहेकी उनी जहाँ पनि लाग्ने परिवारवादको आरोपले हैरान छिन् । उनी भन्छिन्, ‘अहिलेको व्यवस्था ल्याउनमा मेरो पनि योगदान छ, त्याग छ, आफ्नै छुट्टै हैसियत छ । दिइएको जिम्मेवारी बहन गर्न कहिल्यै पछि परिनँ तर जहाँ पनि फलानाकी श्रीमती भनेर लगाइने ट्याग र दिइने परिचयले मेरो योगदानलाई अवमूल्यन गरेको अनुभूति हुन्छ ।’

कैलालीको घोडाघोडी नगरपालिका–१२ बनवर्षामा विपन्न कमैया परिवारमा २०३९ सालमा जन्मिएकी सरु सानैदेखि विद्रोही र निडर स्वभावकी छन् । परिवार र समाजमा हुने विभेद र गरीबीको दलदलमा हुर्किएकी उनी त्यही विभेद, सामाजिक असमानता र पछौटेपनबाट मुक्तिको लागि तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि शुरू गरेको जनयुद्धमा होमिएको सुनाउँछिन् ।

भूमिगत हुँदै पूर्णकालीन सदस्यता लिएकी उनी जनमिलिसिया, स्क्वाइट (तालिम प्राप्त सैन्य दस्ता) मा आवद्ध भइन् । २०५८ सालमा तत्कालीन थापापुर गाविस एसएम, २०५९ बझांङको एरिया कमिटी सदस्यको जिम्मेवारी दिइयो । ३ महिना बझाङमा जिम्मेवारीपछि २०५९ मंसिरमा कञ्चनपुर सरुवा भइन् । पछि कञ्चनपुरकै साविक देखतभुली गाविस इन्चार्जको जिम्मेवारी उनै सरु थारुलाई नै दिइयो ।

जनयुद्धकालमा पार्टीले दिएको जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकी नछाडेको बताउने उनी त्यसताका पार्टीभित्र पुरुषभन्दा महिलालाई हेर्ने दृष्टिकोण धेरै फरक रहेको सुनाउँछिन् । ‘घर परिवार त्याग गरेर युद्धमा होमिए पनि महिला कमाण्डरहरूलाई कमै विश्वास गरिन्थ्यो । कहिले यता, कहिले उता सरुवा भइरहन्थ्यो । शान्ति सम्झौतापछि सेक्सन कमाण्डर हुँदै प्लाटुन कमाण्डरसम्ममा मात्रै सीमित गरियो ।’सेना समायोजनपछि स्वेच्छिक अवकाश लिएकी उनी नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य र हाल जिल्ला समन्वय समिति सदस्य रहेकी छन् भने अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीकी अध्यक्ष हुन् ।

 

सरु थारुसरु थारु

दोहोरो भिडन्त भइरहँदा जनवादी विवाह

हाल माओवादी केन्द्रका सहइन्चार्ज समेत रहेका नेता तथा प्रदेशसभा सदस्य वीरमान चौधरीसँग उनको भेट २०५८ सालताका जनयुद्धकै मैदानमा भएको थियो । साथीहरूमार्फत चिनजानपछि पूर्व खेलकुद मन्त्री दलजीत श्रीपाइलीले उनीहरूलाई नजिक ल्याइदिएका थिए । आफूहरूको प्रेम विवाह भने नरहेको उनी बताउँछिन् ।

त्यसताका मन मिल्ने लालजोडीहरूको युद्धको मोर्चामै जनवादी विवाह गरी दिने नीति नेकपा माओवादीले ल्याएको थियो ।  युद्धमोर्चामा भएको त्यही चिनजान २०५९ जेठ १ गते कैलालीको साविक रतनपुर गाविस–५ बसन्तामा जनवादी विवाहमा परिणत भयो । विवाह कार्यक्रम चलिरहँदा फूलवारी क्षेत्रमा दोहोरो भिडन्त भइरहेको उनी सुनाउँछिन् । हाल दुवैका १ छोरी र १ छोरा छन् ।  तर जतिबेला नेतृत्व लिने सवाल आउँछ, त्यतिबेला लादिने परिवारवादको आक्षेपले उनी हैरान हुन्छिन् ।

उनी दुखेसो पोख्छिन्, ‘सारा जिन्दगी पार्टी बनाउनमा बित्दैछ । आफ्नो बच्चाको भन्दा पार्टीको माया औंधि लाग्छ । कहिलेकाहीँ बच्चाहरू बिरामी हुँदा पनि समय दिन सकिन्न तर जब–जब नेतृत्व लिने सवाल आउँछ । महिला अधिकारको सवाल आउँछ । तब–तब नेताको बूढी भन्छन् । फलानाले आफ्नो बूढीलाई अगाडि ल्यायो भन्छन् । अरे बाबा, मैले हालसम्म कुन अवस्थामा छु, कुन पोजिसनमा छु, जिम्मेवारी दिए तिमीहरू निर्वाह गर्न सक्छौं कि नाइँ भनेर सोध्छन् । बडो दुःख लाग्छ ।’  महिलाहरूले राजनीतिमा आउन पुरुषभन्दा धेरै गुणा संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउँछिन् । 

उनी आफ्नो पीडा फुकाउँछिन्, ‘वर्गीय मुक्तिसँगै महिला मुक्तिको लागि हामीले नै संघर्ष गर्नुछ । हामी महिलाले सबैभन्दा पहिले सबेरै उठेर सबै घरधन्दा सकाउनुपर्ने हुन्छ । भाँडाकुडा माझ्नैपर्छ । बालबच्चा हेर्नैपर्छ । दिनहुँ आउने पाहुनाको लागि दैनिक २–३ चरणमा चिया पकाउनुपर्ने पहिलो जिम्मेवारी रहन्छ । तबसम्म पुरुषहरू मोबाइल फोनमै झुण्डिएका हुन्छन्, पत्रपत्रिका अध्ययन गर्छन् । छलफलमै हुन्छन् तर हामीलाई त्यसको लागि कहाँ समय हुन्छ ? अध्ययनको लागि समय नै हुँदैन । पार्टीको ३५ प्रतिशत महिला कोटाको व्यवस्था पनि वहियात लाग्छ कतिबेला । अवसर लिने बेला आफ्नो खल्तीबाट दिए जस्तो गर्छन् । जुनकारण पटक्कै उत्साह छैन ।’

ती जनवादी गीतमार्फत क्रान्तिको बिगुल फुक्ने 'प्रतीक्षा'

जनयुद्धकालीन प्रखर गायिका एवं एक लडाकू उर्मिला चौधरीको पीडा पनि कम पीडादयी छैन । आफूमा क्षमता हुँदाहुँदै उनी पनि सरु थारुझै छायाँमा परेको अनुभूति व्यक्त गर्छिन् ।  जनयुद्धताका जिल्ला जनसांस्कृतिक संघ कैलालीकी संयोजक समेत रहेकी उर्मिलाले युद्धको मोर्चामा गाएको गीत एकाएक गुनगुनाउन पुगिन् ।

रुइटी हुई मोर डाई घटुवा पानी बनुवा करटी
मै जाइटु जनयुद्धमे लालसेनामे भर्ती हुई
रुइटी हुई मोर डाई हो....
डोनियक् टीना बसाइल हुई
सिलाक लुग्गा झुराइल हुई ।।

उनी कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका नेता लाजुराम चौधरीकी पत्नी हुन् । उनको परिचय पनि उनको क्षमता र हैसियतभन्दा फलानाकी पत्नी भन्ने बनेको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा २०३९ मंसिर २२ गते जन्मिएकी उर्मिला चौधरी ‘प्रतीक्षा’ १६ वर्षकै उमेरमा २०५७ साउन ११ गते माओवादीले सञ्चालन गरेको जनयुद्धको क्रममा भूमिगत भइन् ।

माओवादी नेत्री पम्फा भुसालसँग उर्मिला चौधरीमाओवादी नेत्री पम्फा भुसालसँग उर्मिला चौधरी

विद्यार्थी मोर्चामा आवद्ध उनी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी कैलालीकी सदस्य थिइन् । पछि उनी जिल्ला जनसांस्कृतिक संघ कैलालीकी संयोजक भइन् । उनी र उनको टीम हरेक मोर्चामा जनवादी गीतहरू गुनगुनाउन पुग्थ्यो । महिला हिंसा, घरेलु हिंसा, विभेद तथा सबैखाले विकृतिविरुद्ध बस्तीबस्तीमा गीतमार्फत जनजागरण अभियान सञ्चालन गरेको उनी सुनाउँछिन् । विगत स्मरण गर्दै गुनगुनाइन् –

जंगल धाउने चेलीहरू हिमाल चढ्न आँट गर
चुलोचौका अब होइन, संघर्षमय आँट गर
आधा संसार, यो धर्ती हाम्रै हो, चिन्ता नगर ।।

तर अचेल ती जनवादी गीतमार्फत विद्रोहको बिगुल फुक्ने उर्मिला कता–कता सामाजिक संरचनामा रुमल्लिएको अनुभूति गर्छिन् । महिलालाई हेर्ने दृष्टिकोण नै फरक रहेको उनी बताउँछिन् ।  उनले भनिन्, ‘हाम्रा एजेण्डाहरू अधुरै रहे । कहाँ गए थारुवान राज्य र महिला अधिकारका एजेण्डाहरू ? पार्टी धेरैपटक सरकारमा गयो तर आफ्नो एजेण्डा लागू गर्न सकिएन । हुँदाहुँदै विद्यमान सामाजिक संरचनाले अझै पनि महिलालाई अधिकार दिनुपर्छ भन्ने मान्यतामा गएको देखिन्न ।’

उनले आफ्नै थारु भाषामा लैंगिक विभेदविरुद्ध रचिएको जनवादी गीत सुनाइन् –

छावाभर किताब लेके स्कूलम् खुरुखुरु
डुठाकुठा भाँरा लेके छाई कुवाम् धुरुधुरु
सुनिदेउ चेलीन्के बेथा, कहाटु मै दुखिन्के कथा
काँटा लगाइल रहठ हमार स्कूल जैना डगरिम्
आँखी मिस्टी गोबर काहरे जाइ परठ बगरिम्
छावाभर धनके अंशियार, दुखी छाई डोलिम रुइटी पराइ घर सवार

भूमिगत जीवनकालमै २०५८ साउन १६ गते धनगढीको फूलबारीमा लाजुराम चौधरीसँग जनवादी विवाह गरेकी उर्मिला त्यसताका एरिया इन्चार्ज, जिल्ला सचिवालय सदस्य थिइन् । हाल उनी जिल्ला समन्वय समिति सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन् ।

आफूहरूको एजेण्डा अधूरै रहेको बताउने उनी माओवादी पार्टी पनि अन्य दलजस्तै पुँजीवादउन्मुख भएको बताउँछिन् । जुनकारण गरीब निमुखा जनता र महिलाको अवस्था दयनीय बन्दै गएको तर्क गर्छिन् उनी ।

तर ती जनयुद्धताका एजेण्डा, सहयोद्धा शहीदका चित्कार र क्रान्तिका बिगुल फुक्ने कालजयी गीतहरूले आफूलाई रातदिन झस्काउने गरेको उर्मिला बताउँछिन् ।

डाई पुछलिन छावा कहाँ कहिके, पुकार छोरके रुइलिन
गाउँमे गुहार मग्टी नेंग्लिन, गाउँके मनै ठीक हो कहलिन
बिचारी बुहइल डाई, कहे लग्लीन महिन के पाली
डाई रुइलिन डुवार पकरके, जन्नी रुइलिन् बिस्तारा घुमके
लर्का रुइलै बहरिम लोटके, हमार बाबा कहाँ गैल कहिके
न रोउ बुडी डुवार पकरके, आर्शिवाद डेउ हम्रिन हाँसके
टीका लगाउ मोर बुडी, जाउँ नतिया लरे कहिके
सलाम बा बुडि टुहिन मोर, बताडेहो साँघरियान हे
लरे गैगिल कहिके नतिया मोर ।।

यो खबर लोकान्तरमा लखन चौधरीले लेखेका छन् ।