प्रदेश सभापतिका उम्मेदवार  नारायणदत्त मिश्रले भने–मतदातालाई धन्यवाद, विजयोन्मुखलाई बधाई
2021/12/05, 10:43
 
dd

 नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम अधिवेशनमा प्रदेश सभापतिका उम्मेदवार नारायणदत्त मिश्रले मतदातालाई धन्यवाद दिएका छन्। पछिल्लो मत परिणामअनुसार वीरवहादुर बलायरको प्यानल जित नजिक पुगेपछि मिश्रले मतदातालाई धन्यवाद दिदै विजयोन्मुख नेतालाई बधाई दिएका हुन्।

‘नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका मतदातालाई हार्दिक धन्यवाद र विजयोन्मुख साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। पछिल्लो मत परिणाम अनुसार देउवा पक्षका वीरबहादुर बलायरको जित निश्चित देखिएको छ।

गन्न बाँकी मत जोड्दा समेत पौडेल पक्षका नारायणदत्त मिश्र पछाडि भएपछि बलायरको जित सुनिश्चित भएको हो। सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक छ। ८ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३२४ पुगेको मतगणनास्थलबाट पत्रकार प्रकाश बमले जानकारी दिए। अब १९७ मत मात्रै गणना गर्न बाँकी छ।

बलायरको ५५३ मत र इतर पक्षका मिश्रको २२९ मत रहेको छ। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।