काँग्रेसलाई एकढिक्का बनाउने अभिभारा पूरा गर्छु: सभापति बलायर
2021/12/05, 4:21
 
dd

नेपाली काँग्रेस सुदूरपश्चिमका प्रथम निर्वाचित सभापति बिरबहादुर बलायरले पार्टीलाई एकढिक्का बनाएर लैजाने अभिभारा पूरा गर्ने बताएका छन् । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका बलायरले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

‘नेतृत्व चयनका लागि हुने निर्वाचन पार्टीको आन्तरिक लोकतन्त्र हो । यसमा हामी कसैले पनि अन्यथा लिनु हुँदैन्,’ बलायरले भने, ‘पार्टी पंक्तिलाई मिलाएर एकढिक्का बनाएर लैजाने कुरामा म प्रतिबद्ध छु । आपसमा वादविवाद गर्नूको कुनै अर्थ हुँदैन । कार्यकर्ताबीच सहिष्णुता हुनुपर्छ ।’  उनले नजिकै आउन लागेको अद्यावधिक निर्वाचनलाई पार्टीले महत्वका साथ लिएकाले सुदूरपश्चिममा पनि तिव्रताका साथ तयारीमा लाग्ने जनाए ।

अहिले फरक धारमा देखिएका नेताहरुलाई समेत मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘काम गर्न चाहाने साथीहरुलाई पार्टीभित्र अवसर दिने हो । आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो । अब सबै मिलेर अगामी चुनावमा जान्छौँ ।’ आइतबार सम्पन्न मतपरिणाम अनुसार प्रतिद्धन्द्धी नारायणदत्त मिश्रलाई फराकिलो मत अन्तरले पराजित गर्दै बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापतिका रुपमा निर्वाचित भएका हुन् । बलायरले छ सय ८८ मत ल्याउँदा प्रतिद्वन्द्वी  मिश्रले दुई सय ८० मत प्राप्त गरे ।

२०७० सालको संविधानसभा निर्वाचनमा डोटीबाट सांसदमा विजयी भएका बलायर शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए । २०६४ सालको संविधानसभामा भने उनी पराजित भएका थिए । पार्टीको १२ औँ महाधिवेशबाट डोटी जिल्ला सभापति बनेका बलायर १३ औँ महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

विगतमा नेता कृष्णप्रसाद भट्टराइसँग नजिक भएर काम गरेका बलायर पार्टी विभाजनका बेला भने अहिलेका सभापति शेरबहादुर देउवाको पक्षमा उभिएका थिए । देउवाकै प्यानलबाट चुनाव लडेर बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।