वीरबहादुर बलायर: चाक्सिबारी बैठकदेखि सुदूरपश्चिमको प्रथम सभापतिसम्म
2021/12/05, 4:32
 
dd

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा संंस्थापन पक्षका तर्फबाट सभापतिमा पाँच जना आकांक्षी थिए । पाँचै जनाले उम्मेदवारी घोषणा पनि गरिसकेका थिए । त्यतिबेलासम्म सभापतिको दौडमा थिएनन, वीरबहादुर बलायर । यद्यपि उनी धनगढीमै थिए । र, सबैका घोषणालाई नेपथ्यमा बसेर हेरिरहेका थिए । परिस्थिति यस्तो बन्यो कि, उम्मेदवारी घोषणा गर्नेहरु सबैलाई पाखा लगाएर संस्थापन पक्षले आफ्नो सभापतिको उम्मेदवार घोषणा गरिदियो, बलायरलाई ।

संस्थापनका दुई नेता रमेश लेखक र एनपी साँउद जिल्लामा कहिल्यै एक भएनन, कहिल्यै संगै हिडेनन । तर बलायरलाई भने दुबै नेता साझा उम्मेदवार बनाउन बाध्य भए । उनीहरु एक ठाउँमा आउने परिस्थिति भने बालुवाटारको निर्देशनबाट संभव भएको थियो ।

सभापतिको दौडमा रहेका नर नारायण शाहलाई महामन्त्री बनाउने निर्णय हुँदा अन्य उम्मेदवार र सभापतिका आकांक्षी भीडमा हराईसकेका थिए । शाहलाई साथमा नलिई बलायर नेतृत्वको प्यानल चुनाव जित्न नसकिने मनशायले शाहलाई महामन्त्रीमा उठाउने निर्णय गरियो । ५७ वर्षीय बलायर विद्यार्थीकालमा युवाहरुमाझ निकै चर्चित थिए । वीपी कोईरालाबाट प्रभावित भएर विद्यार्थीकालदेखि नै नेविसंघको राजीतिमा लागेका बलायर २०४९ सालमा त्रिभुवन विश्व विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर निर्वाचनमा पराजित थिए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए ।

लडाकु स्वभावका बलायर २०४६ सालमा लौहपुरुष गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जन आन्दोलनको घोषणा हुँदै गर्दा त्यो घोषणा सभाको सुरक्षा संयोजक थिए । पार्टीका नेताहरुको सुरक्षा र जनआन्दोलनमा युवाहरुलाई परिचालनमा बलायरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताईन्छ । उनी विराटनगरमा आयोजित नेविसंघको महाधिवेशनमा अध्यक्षको दावेदार थिए । तर अध्यक्ष बनाईए, गोविन्द भट्टराई । प्रजातन्त्र पुनर्स्थापना र लोकतन्त्रका लागि अविचलित भएर लडेका बलायरले पहिलो पटक २०६४ सालमा संबिधान सभाको उम्मेदवार बन्ने मौका पाए । तर पराजीत भए । २०७० सालको संबिधान सभाको निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियो । र, उनले चुनाव जिते । त्यसपछि उनले पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्बाधार मन्त्री तथा यातायात मन्त्रीको जिम्मेवारी पाए ।

१२ औं महाधिवेशनमा नेपाली कांग्रेस डोटी सभापति भएका बलायर १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए ।सन्त नेता कृष्ण प्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर नेपाली कांग्रेस विभाजनपछि शेर बहादुर देउवाको पक्षमा उभिए । उनी त्यसयता सधै देउवा निकट रहे । देउवाको विश्वास पात्र भएकै कारण उनले सुदूर पश्चिम प्रदेश सभापतिको टिकट पाएका हुन् । शनिबार सम्पन्न निर्वाचनमा बलायरले ६८८ मत पाए भने उनका निकटमत प्रतिष्पर्धी नारायण मिश्रले २८० मत पाएका हुन् ।