एनपी साउदलाई थाहै नदिई महामन्त्री उमेदवार भन्दै प्रचार !
‘मैले उमेदवारी घोषणा गरेकै छैन’
2021/12/06, 5:08
 
dd

नेपाली कांग्रेसका नेता एनपी साउदको महामन्त्रीमा उमेदवारी भन्दै पोष्टर सार्वजनिक भएको छ । ‘सवल संगठन, सक्षम नेतृत्त्व, समुन्नत राष्ट्र मेरो अविभारा’ भन्दै आकर्षक नारा राखिएको पोष्टरमा केन्द्रीय महामन्त्री पदमा अत्याधिक बहुमतले विजयी गराउन आह्वान गरिएको छ । तर, त्यस्तो प्रचारबारे नेता एनपी साउद भने बेखबर छन् ।
 
“मैले अहिलेसम्म कुनै पदमा उमेदवारी घोषणा गरेको छैन, कसले हल्ला चलायो त्यो पनि मलाई थाहा छैन,” महामन्त्रीमा उमेदवारीबारे जिज्ञासा राख्दा साउदले भने, “मैले पदाधिकारी लड्ने तयारी गरेको छु । तर, अहिलेसम्म घोषणा गरेको छैन ।” उनले आफ्नो पोष्टर सार्वजनिक भएको विषयमा पनि आफू जानकार नभएको बताए । “मैले कुन पदमा उठ्ने भनेर सल्लाह नै गरेको छैन । त्यसै घोषणा गरेर पनि भएन,” साउदले भने, “साथिहरुसँग छलफल गरेपछि उमेदवारी घोषणा गर्ने हो ।”
 
२०४८ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका साउद १० पार्टी फुटेका बेला प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य भएयता निरन्तर केन्द्रीय सदस्यमा छन् ।  विद्यार्थीमाझ लोकप्रिय छवि बनाएका साउद देशभर संगठनमा पहुँच राख्छन् । तर, उनले सभापति देउवाको छायामा पर्दा उनकै सहयोगीको भूमिकामा मात्र आफूलाई राख्दै आएका हुन् । “एनपीजी २०४८ सालको नेवि संघ सभापति हो, देशव्यापी रुपमा संगठन सशक्त बनाएर चलाएको नेता पनि हो,” साउद निकट देवराज चालिसेले भने, “तर उहाँ शेरबहादुरजीकै जिल्लामा पर्नु नै उहाँका लागि राजनीतिक यात्रामा साधक र बाधक दुबै बनिरहेको छ ।” 

चालिसेले एनपी साउद केही समय अघि नै महामन्त्री हुँदै सभापति दाबी गर्ने अवस्था निर्माण हुने भए पनि डडेलधुराका शेरबहादुर देउवा कांग्रेको नेतृत्वमा हुँदा उनकै अनुकूल बन्न एनपी छायामा परेको बताए ।